के भन्न खोजेको हजुरले ? « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

के भन्न खोजेको हजुरले ?

प्रकाशित मिति :  ६ माघ २०७३, बिहीबार ०७:४५


  • कौशल चेम्जोङ

पुराना सोचका मान्छे, लोभीपापी र अवसरवादीको झुण्ड लिएर एक जना पुराना नेता नयाँ शक्तिको नाममा सौ चुहे खाके बिल्ली चली हजको नाटक मञ्चन गरिरहेका छन् । एकताका प्रचण्डलाई देवत्वको श्रेणीमा चढाउँदा पनि मालेमावादको नेतृत्व लिन नसकेका उनी अवतारवादी नेताका रूपमा नयाँ शक्तिको ढ्वाङ फुकिरहेका छन् । उनी अर्थात् बाबुराम भट्टराई (बाराभ) । थाहा छैन, बाराभको मुस्ताङ ट्राभल्सको अभ्यासले काममा सुस्तता ल्याएको थियो कि तीव्रता ? थाहा छैन एक छाक बास बसेर खाई दिँदैमा क–कसको जीवनस्तरमा सुधार आयो वा ऋणको भार बोकी छरछिमेकीको खिसिट्युरीको पात्र बन्यो ? अथवा मुसाहरूले त्राण पाए कि, सिस्नो वा टाँकीले ? प्रश्न तेस्र्याउन त धेरै सकिन्छ । तैपनि, हामीले आस मारेनौं ।

अहिले बाराभ अन्य राजनीतिक शक्तिलाई पुरानो र आपूmलाई नयाँ शक्तिको रूपमा जनतामाझ चिनाउने अभियानमा छन् । अरूले आर्थिक र सामाजिक रूपान्तरणको कामलाई उल्टो दिशातर्फ धकेलेको बताउँदै छन् । के त्यस्तै हो त ?

यतिखेर बाबुराम जनताको निराशासँग खेलेर नयाँ शक्तिलाई उभ्याउने ताकमा छन् । यो अवसर छोपाइले उनको पुरानो चरित्रलाई नयाँ कलेवर दिएको छ भन्दा फरक पर्दैन, ध्वंशपछि निर्माण थाल्न कति साह्रो र गाह्रो हुन्छ भन्ने कुरा बाबुराम जत्तिको उचाइ भएका नेताले भर्खरै बुझेजस्तो छ । जति अग्लो भए पनि सानोको मनोभाव बुुझ्न र घुलमेल हुन निहुरिएर सानै बन्नुपर्छ । डा. माने जबसम्म हामी डाक्टर मात्रै बुझ्ने अथवा डाका नबुझ्ने परम्पराबाट ग्रसित हुन्छांै त्यतिञ्जेलसम्म बाबुरामजस्ता डा. हरूले कहिले लाल बनेर त कहिले काल बनेर हाम्रो दिमाग भुटिरहनेछन् । नपत्याए त्रिविको प्लेजरिज्मका नायक डा. तीर्थ खनियाँलाई पढे पुग्छ, डा. राजेश गौतमहरूलाई बुझे पुग्छ । सबैलाई थाहा छ, राजनीतिक परिवर्तन बराबर राजा ज्ञानेन्द्र—जनता, प्रचण्ड र जनताका छोरा, बाबुरामहरू— कार्यकारी शासक, त्याग बलिदानको अर्थ मर्नेहरू सहिद अनि घाइतेहरू जिउँदा लास, युद्ध—लुट, क्रान्ति—भ्रान्ति भयो ।

परिणाम माओवादी टुक्रा–टुक्रा भए र अहिले सर्वसाधारणले अलिकति भए पनि बम र बारुदको धुवाँबाट त्राण पाएका छन् । यस्तो बेला एमाले नेता खड्गप्रसाद शर्मा अर्थात् केपी ओलीप्रति नेपाली जनताले अलिकति आस लगाए त के बिराए ? बाराभहरूलाई किन छट्पटी ? प्रस्ट छ, बाराभहरू प्रभूको इशारामा नाच्ने कोसिसमा छन् । समाज विकासक्रममा उत्पन्न अन्तरविरोधलाई वस्तुगत ढंगले हल गर्दै राजनेता जन्मन्छन् भन्ने सोच राख्ने बाराभले आपूmबाहेक अरूलाई राजनेता वा भुइँफुट्टा के ठान्या हुन् ? राजनेता ठान्या भए त उनले टेकेको मालेमावादको माटो नधस्किनुपर्ने हो ? भुइँफुट्टा नहुँदा हुन् त उनका पछि लामै लस्कर लाग्दो हो ?

अमेरिकी समाजमा व्याप्त दासप्रथा उन्मूलन गरी अग्रगमनतिर लैजाने अब्राहम लिंकनको प्रशंसक बाराभले हाम्रै चन्द्रसमशेरको इतिहास राम्ररी केलाइदिए हुन्थ्यो । हिमाल, पहाड र तराई जोड्ने महेन्द्रनीतिको प्रशंसा गरे पनि हुन्थ्यो । पशुपतिमा थुप्रिएको निष्क्रिय पुँजीलाई उपयोग गर्ने नयाँ नीतितिर ध्यान दिए हुन्थ्यो । चन्द्र नहरहरू बनाइ दिए हुन्थ्यो, फर्पिङको बिजुलीलाई ब्युँताइदिए हुन्थ्यो । यस्तो काम गर्नबाट बाराभलाई प्रम हुँदा कसले रोकेको थियो ? व्यापार घाटा मात्रै व्यहोर्नुपर्ने साफ्टा ल्याउन कसले उकासेको थियो ? भनिन्छ, प्रश्न आफैंमा उत्तर हुन् ।

राजनेता वा तानाशाह संकटका बेला जन्मन्छन् भन्ने दर्शनको ज्ञान भएका बाबुरामको मनशाय कतै अहिलेको अवस्थालाई चरम संकटमा पु¥याएर त्यस्तै सपना त देखेका छैनन् ? तर, उनी दुवै हुन सक्दैनन् भन्ने कुरा घामजस्तै छर्लंग छ । अहिले बाराभको सिद्धान्त अलिकति लोकतान्त्रिक, अलिकति वामपन्थी, अलिकति हामपन्थी, अलिकति राजतन्त्रवादी, कहिलेकाहीँ राष्ट्रवादी, कहिलेकाहीँ अन्तर्राष्ट्रियवादीजस्तो देखिन्छ । तर, सारमा हेर्दा नयाँ अवसर र आत्मसमर्पणवादको नमुना हो । रूप पनि होइन, कथन मात्रै नयाँ शक्तिको रूपमा छ ? औपनिवेशिक चरित्रका मालिकले हरूवालाई, जो गाँजा खान पाउने लोभमा मात्र हलीको काम गर्न स्वीकार गर्छ, नभए काम छाडेर जान घुर्की लगाउँछ । एक चिलिमके स्वाद क्या जाने केपीजी भनेर उनले भन्दा हाम्ले छक्कै पर्नु पो के छ र ? तर, धोतीको जुम्रा टुप्पीमा पुग्दा सक्सकाउँदो भने रै’च । त्यसैले चिलाइ मा¥या मात्रै हो । जसरी हिटलरले यहुदी र आप्रवासीको कारण देखाउँदै जर्मनमा नाजीवाद ल्याए अनि देशलाई तहसनहस बनाए, त्यसैगरी बाबुराम नयाँ शक्ति ल्याउन खोज्दैछन्, त्यो सोच हो आत्मसमर्पणवादको । आत्मसमर्पणवादभित्र सिक्किमीकरण, भुटानीकरण अनि फिजीकरणको मनशाय लुकेको छ । त्यसैले त बाराभ सोध्छन्, ‘ओलीज्मसँग भारतीय हस्तक्षेप रोक्ने समाधान के छ ?’

जहानियाँ राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध नेपाली जनताले गरेको संघर्षका कारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पाइला टेकेका छौं । प्रत्येक राजनीतिक परिवर्तनमा दिल्लीलाई साक्षी राख्ने परम्पराबाट अभिशप्त भएका बाराभहरूलाई नेपालीको संविधान नेपाली आफैंले बनाउने काम अभिशप्तजस्तै लाग्यो भने के नै अनौठो भयो र ? त्यसैले पनि बाराभहरूको बैचेनी भनौं कि छट्पटी यो वा त्यो रूपमा छचल्किएको छ । मीठो सपना बाँडेर रगतको होली खेल्ने सीपमा प्रचण्ड र बाराभभन्दा उम्दा खेलाडी नेपालमा जन्मनै सकेका छैनन् भन्ने कुरामा त मेरो पनि विमति छैन । के बाराभले भनेको ओलीज्मको विकल्प आत्मसमर्पणवाद हो ? भारतीय हस्तक्षेप रोक्ने उपाय भनेको लम्पसारवाद हो ? हामीलाई त्यस्तो लाग्दैन । हस्तक्षेप रोक्ने उपाय भनेको आर्थिक र सामाजिक परिवर्तनका लागि राजनीतिक स्थिरता हो, त्यसका लागि संविधान कार्यान्वयन नै उपयुक्त बाटो हो । जहाँ ९० प्रतिशत नेपालीको भावना मुखरित भएर आउँछ । सबैलाई थाहा छ, निर्माणको निम्ति जनशक्ति, स्रोत र समय धेरै लाग्छ तर ध्वंशका लागि थोरै भए पुग्छ । बाराभहरू तिनै थोरै शक्तिका प्रतिनिधि हुन् । जसले नेपाली जनताको शान्ति र अमनचैनलाई १० वर्षसम्म लुटेका थिए र आज पनि यो वा त्यो बहानामा लुट्ने ताकमा देखिएन्छन् ।

यद्यपि एमालेहरूमा जवजको कुरा उठछन् तर कुनै व्यक्तिको वादका कुरा उठ्ने गरेका छैनन् भन्ने कुरा बाराभले कसरी बुझिदिने ? तर, यति हुँदाहुँदै पनि उनले भारत र चीन दुबैसँग गतिशील आर्थिक पुलका रूपमा विकास गरेर देशलाई समृद्धितिर लैजाने जुन कुरा गरेका छन् त्यो सराहनीय छ । तर, के केपी ओली प्रम हुँदाका बखत चालिएका कदम त्यसैतर्फ लक्षित थिएनन् र ? १९ वर्षदेखि जनता प्रतिनिधिविहीन छन् । यस्तो अवस्थामा देशलाई संक्रमणबाट उकास्ने एउटै बाटो चुनाव हो । बाराभलगायत नेता र केपी ओली प्रम हुँदा कसका योजना मधेसमैत्री थिए र छन् हँ ?


प्रतिक्रिया दिनुहोस !