१५ जना थपिएर राष्ट्रपतिमाथि लाग्छ त महाअभियोग ?

१५ जना थपिएर राष्ट्रपतिमाथि लाग्छ त महाअभियोग ?

प्रसंग पुरानो भयो– सत्ताच्युत भएपछि बालकोटको बार्दलीमा उभिएर केपी ओलीले पार्टीमा माधव नेपालका लागि कुनै ठाउँ छैन भन्नुभएको । नयाँ तथ्य त के छ भने अहिले माधवविरुद्ध केपीभन्दा उग्र उहाँका केही केन्द्रीय सदस्य देखा परेका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको ललितपुर, च्यासलस्थित भवनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपीले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई स्पष्टिकरण सोधिएको प्रसंग उठाउनासाथ उहाँका केही केन्द्रीय सदस्य जुरुक–जुरुक उठेर बोल्न थाले । यसमध्ये भक्तपुरका महेश बस्नेतले केपी ओली स्वयंलाई माधव समूहले सडकमा पु¥याउने षड्यन्त्र हुँदै गरेको बताए ।

बैठकमा माधव नेपालविरुद्ध सबैभन्दा पहिला बोल्नेमा थिए, राष्ट्रियसभामा प्रमुख सचेतक खिमलाल भट्टराई । उनले भने, ‘किन चाहियो २४ घण्टा ? यिनलाई तुरुन्तै फाल्नुपर्छ…!’ अनि, समानुपातिक सांसद निरु पाल उठिन् र भनिन्, ‘यिनीहरुलाई एक सेकेण्ड पनि एमालेमा राख्नुहुँदैन । अहिल्यै बर्खास्तको निर्णय गरियोस् !’ यसपछि राष्ट्रियसभा सदस्य रहेका सप्तरीका सुमन प्याकुरेलले भने, ‘पार्टी निर्णय नमान्नेहरु स्वतः एमाले नहुने भनिएको हैन ? किन उनीहरुलाई एमाले भन्दै स्पष्टिकरण सोध्नुप¥यो ?’ काठमाडौं– ३ का सांसद तथा जिल्ला अध्यक्ष पनि रहेका कृष्ण राई बोल्न थाले, ‘स्पष्टिकरण भनेको त स्पष्ट नभएको कुरामा पो सोध्ने हो ! माधवले किन यसो गर्नुभयो भन्ने कुरा स्पष्टै छ । स्पष्ट भएको कुरामा निर्णय पनि स्पष्टसँगै गर्नुपर्छ !’

कृष्णको कुरा सुनेपछि काठमाडौं ३ बाटै प्रदेशसभामा जितेर मन्त्री भएका रामेश्वर फुयाँल बोल्न थाले । ‘एमाले विधिमा चल्ने पार्टी हो, त्यसैले जे निर्णय गरे पनि विधिसम्मत गरौँ’, उनले भने, ‘हाम्रो पार्टीको विधानमा कसैमाथि कारवाही गर्नुपर्ने भएमा पहिला सम्बन्धित कमरेडलाई स्पष्टिकरणको मौका दिने कुरा उल्लेख छ ।’

यसपछि महेश बस्नेतको पालो आयो । उनको दाबी थियो, ‘सर्वोच्च अदालतमार्फत माधव नेपालले पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको सूचना मसँग छ । अनि, अहिलेको संसदमा दुई तिहाई जुटाएर राष्ट्रपतिलाई महाभियोग लगाउने षड्यन्त्र पनि अगाडि बढिरहेको छ । त्यसैले माधव नेपालहरुलाई एमालेमा एक सेकेण्ड पनि ढिम्किन दिनुहुँदैन । यिनीहरु भष्मासुर हुन् !’

केपीको खतरा

यसमध्ये महेशको दाबीमा कसरी दम छ भने, अहिले पनि सर्वोच्च अदालतमा माधव समूहले दिएको एउटा पुरक रिट विचाराधीन छ । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारवाही कार्यान्वयन हुननसक्ने सर्वोच्चको आदेशको कारक थियो, कारवाही गर्ने कमिटी नै वैधानिक नहुनु । अर्थात्, सर्वोच्चले फागुन २३ मा दिएको फैसलाअनुसार एमाले ०७५ जेठ २ को अवस्थामा पुग्नुपर्नेमा त्यसपछि गठित ‘महाधिवेशन आयोजक कमिटी’ का नाममा कर्णालीका सांसदमाथि कारवाही भएको थियो । जुन कमिटीलाई सर्वोच्चले वैधानिक मानेन । त्यसपछि दायर भएको पुरक रिटमा ०७५ जेठ २ को केन्द्रीय कमिटी कायम गर्न माग गरिएको छ ।

यदि मागबमोजिम सर्वोच्चको आदेश आयो भने त्यसबेलाको केन्द्रीय कमिटीमा माधव नेपालको पक्षमा केपीभन्दा १५ जना केन्द्रीय सदस्यको मात्रै कमि छ । हिजो जसरी सत्ताको रापतापमा केपीले पार्टीभित्र आफ्नो वर्चस्व कायम गर्नुभयो, आज उहाँ त्यो अवस्थामा हुनुहुन्न । बरु, माधव नेपाल समूह अहिले हिजोको केपीको ठाउँमा छ । मन्त्री, संसदीय समिति, विभिन्न संवैधानिक, राजनीतिक नियुक्ति र विभिन्न अवसरहरुको आकर्षण अहिले माधव पक्षमा सरेको छ । यस्तो स्थितिमा केन्द्रीय कमिटीमा १५–२० जनालाई आफूतिर ल्याउनु माधवका निम्ति खासै ठूलो कुरा हुँदैन । त्यसैले केन्द्रीय कमिटीको बहुमतको निर्णयका आधारमा केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव समूह निर्वाचन आयोग जाने र आयोगले बहुमतको निर्णयकै नाममा त्यसलाई अनुमोदन गर्ने खतरा महेश बस्नेतले बैठकमा औँल्याएका हुन् ।

योसँगै उनले अर्को ‘खतरा’ पनि सुनाए, राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने ! हुन पनि अहिलेको संसदमा १ सय ८० जना सांसद भए त्यसो गर्न सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ । बाँकी सात थान सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेशको भनाइ थियो । र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा केपी ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत हुनुहुन्छ ।

माइक क्वार्रक्वार्र

बालुवाटारको वातानुकुलित (एसी) हलमा बैठक बस्ने बानीमा पर्नुभएका केपी ओली सोमबार च्यासल बैठकस्थलको ‘बिजोग’ बाट विरक्त हुनुभयो । उहाँ बोल्दाबोल्दै तीनचोटि माइकले धोका दियो । क्वार्रक्वार्र गर्दै आवाज नै नआउने भएपछि केही केन्द्रीय सदस्यले स्पिकर ठोकठाक गर्न थाले । आवाज आएपछि केपीले ‘अघि मैले भन्दै थिएँ नि…’ भनेर फेरि कुरा शुरु गर्नुपर्ने अवस्था भयो । तर, अलिकति बोल्यो, फेरि माइक क्वार्रक्वार्र हुँदै साइँसुइँ नै हराउने अवस्था भएपछि उहाँले दिक्क मान्नुभयो । त्यहाँ बालुवाटारमा झैं खुट्टामा प्लाष्टिकले छोप्ने व्यवस्था पनि थिएन ।

भोलि–भोलि भन्दै

१० औँ भनिएको उक्त बैठकमा बोलाइएका केन्द्रीय सदस्यलाई कुनै एजेण्डा दिइएको थिएन । अधिकांशले एकता कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि त्यो बैठक रोक्न चाहेका थिए । अरुलाई सधैं कुराउने केपीले शायद जीवनमै पहिलोचोटी अरुलाई कुर्दै आधा घण्टा त्यत्तिकै मञ्चमा बिताउनुभयो । उपमहासचिव विष्णु पौडेल अलिक ढिलो पुग्नुभयो । विष्णु पुगेपछि सुवास नेम्वाङसँग कानेखुशी गर्न थाल्नुभयो । शायद, विष्णुले बैठक रोक्ने कुरा भन्नुभएको थियो ।

विष्णुसँग भएको सल्लाहका आधारमा सुवास बीचमा एक्लै बसिरहनुभएका अध्यक्ष केपीसँग कुरा गर्न नजिक सर्नुभयो । विष्णुले कानेखुशी गरेर भनेको कुरापछि केपीले अस्वीकार गरेजसरी मुन्टोमात्रै हल्लाउनुभयो । अनि, सुवास पनि विरक्त मान्दै छेउ लाग्नुभयो । त्यसपछि महासचिव ईश्वर पोखरेल र विष्णु बाहिर गएर खासखुस गर्न थाल्नुभयो । यतिञ्जेल बैठक शुरु भएको थिएन । त्यो खासखुसपछि ईश्वर फर्किनुभयो । ‘आज हामी स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरु अनुमोदन गर्ने छौँ, त्यसपछि अध्यक्ष कमरेडले हामीलाई केही दिशानिर्देश गर्नुहुने छ’ भन्दै बैठक अगाडि बढाउनुभयो । जबकि बालकोटमा स्थायी समिति त्यसपछि मात्रै बस्न सम्भव भएको हो ।

केपीले भन्नुभयो, ‘आजको बैठकको तयारी पुगेन । अहिलेको परिस्थितिको बारेमा साथीहरुलाई ओरियन्टेशन होस्, त्यसैले भोलि ३ बजे फेरि बसौँ । पर्सि पनि बसौँला ।’ तर, फ्लोरबाट केन्द्रीय सदस्यहरु कराउन थाले, ‘भोलि नै नगरौँ । स्थायी कमिटी बसेर बैठकका एजेण्डाहरु पास गरियोस्, अनि पर्सि यो बैठक राखौँ ।’ तर, जति भनिए पनि केपीले मान्नुभएन । ‘हैन, हामी तयारी गरिसक्छौँ’ भन्दै उहाँले ‘भोलि–भोलि’ भन्दै पर्सि बसौँ भन्नेहरुलाई बोल्न दिनुभएन । शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने कुरा यसै क्रममा उहाँले उठाउनुभएको हो । त्यसपछि स्पष्टिकरणको भाषा तयार पार्न एउटा टोली अलग्गै बसेको थियो ।

केपी बोलिरहँदा सँगसँगै बसिरहेका सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीहरुमा उत्साह थिएन । दिक्क मानेजसरी उहाँहरु बसिरहनुभएको थियो ।

टिप्पणीहरू