कमरेडहरूको खर्च कति ?

आगामी चुनावमार्फत सबभन्दा ठूलो पार्टी बन्न आतुर एमालेको वार्षिक आम्दानी–खर्च कति होला ? १२ करोड ८८ लाख बराबरको बचत सम्पत्तिवाला सो पार्टीले गत आर्थिक वर्ष ७ करोड ५४ लाख ४१ हजार आफ्नो कोषमा दाखिला गरेको रहेछ ।

जसमध्ये खर्च भयो– ४ करोड ९९ लाख, बच्यो दुई करोड ५५ लाख । पार्टी सदस्यहरूबाट उठ्ने लेभी शुल्क र चन्दा सहयोग (व्यक्तिगत २८ लाख ७५ हजार र संस्थागत ५५ लाख) रहेछ । प्रकाशनबाट ४१ लाख ६० हजार नगद संकलन गरेको सो पार्टीले भूकम्पबाट क्षतिग्रस्त बल्खु मुख्यालयको थोत्रा फर्निचर बेचेर १९ लाख ६५ हजार आम्दानी गरेको रहेछ ।

प्रशिक्षणमा एमालेले यसबीच ३० लाख ८७ हजार खर्च गरेको थियो भने अतिथि सत्कारमा २ लाख । कार्यालय सञ्चालनतर्फ सबभन्दा बढी खर्च छ जसको हिसाव हुन आउँछ ३ करोड ७६ लाख ४४ हजार, जसमा सांसदबाहेक १८४ सदस्यीय केन्द्रीय समितिमा रहेका अधिकांशले पाउने मासिक खर्च, कर्मचारीको तलब र जनवर्गीय संगठनहरूलाई दिइने अनुदान पनि पर्न आउँछ । त्यो पार्टीले १८२ जना सांसदबाट मासिक १३ हजारको दरले लेबी उठाउने गरेको छ ।
 

टिप्पणीहरू