आजको बैठकमा अध्यक्ष ओली पूरै मौन,माधवको प्रभावबारे रिपोर्टिङ

आजको बैठकमा अध्यक्ष ओली पूरै मौन,माधवको प्रभावबारे रिपोर्टिङ

हिजोदेखि शुरु भएको एमाले केन्द्रीय समितिको १० औं बैठकको आज दोस्रो दिन ठोस निर्णय भएको छैन । बैठक भोलिसम्मका लागि लम्ब्याइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली हिजोको मुडभन्दा नरम ढंगले प्रस्तुत हुनुभएको सहभागी नेताहरूले बताएका छन् । आजको बैठकमा अध्यक्ष ओलीले एक शब्द पनि खर्चनुभएन ।

बैठक प्रारम्भ गर्दै महासचिव ईश्वर पोखरेलले आजको बैठकमा अध्यक्षज्यूको उपस्थिति भइसकेको भनेर एजेण्डा अघि बढाउनुभएको थियो । बैठकमा प्रस्तुत ९ वटा एजेण्डामध्ये हिजो १ देखि ३ नम्बरको एजेण्डामा छलफल सकिएकाले आज बुँदा नम्बर ४ बाट शुरु भएको थियो ।

अर्को पक्षका २२ जनामाथि कारबाहीको लागि सोधिएको स्पष्टिकरणको समय नसकिएकाले पनि त्यो मुडमा प्रस्तुत हुनुभएको अड्कल लगाउनेहरू एकथरि छन् । अर्काथरिले यसअघिको कार्यदलमा रहेका दोस्रो पुुस्ताका नेताहरूबीच भित्रभित्रै छलफल भएकाले पनि अवस्था हिजोभन्दा आज मत्थर भएको आँकलन गरेका हुन् ।

बैठक चल्दाचल्दै उपमहासचिव विष्णु पौडेल हलबाट निस्कनुलाई त्यसैको संकेतको रुपमा लिइएको छ । यता,वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद र केन्द्रीय समितिका सदस्यहरूको संयुक्त बैठक बोलाइएको भन्दै च्यासलमा भएको बैठकका सहभागीहरूले चर्चा गरेका थिए ।

१० बुँदे सहमतिमा दुबै पक्षको तिक्तता माझिने र समाधान गर्ने ढंगले विषयवस्तु लेख्न खोजिएकाले समेत भोलि बोलाइएको नेपालपक्षीय बैठकमा प्रसंग उठ्ने सुईंको पाएको कारणले च्यासलमा बसेको एमाले बैठक आज मत्थर देखिएको बताइन्छ । पार्टी विभाजन भएको अवस्थामा जनतामाझ जाँदा चित्तबुझ्दो स्पष्टिकरण लिएर जानुपर्ने आवाज भोलिको भेलामा केही सदस्यले उठाउने विश्वास अध्यक्ष केपी शर्मा ओली पक्षले लिएको देखिन्छ ।

पार्टीको सांगठानिक अवस्थाको रिपोर्टिङ गर्ने क्रममा प्रदेश इञ्चार्जहरूले सामान्य ढंगले बढाइचढाई गरे पनि अस्वाभाविक नरहेको एक जना स्थायी समिति सदस्यको बुझाई छ । पार्टीमा देखिएको पछिल्लो मतभेदमा अर्को पक्षमा लागेका प्रदेशदेखि स्थानीय तहको महत्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारीको बारेमा बताइएको थियो । त्यसैगरी संगठन बिस्तार भएको सन्दर्भ पनि त्यसैगरी जानकारी गराइएको थियो ।

सांगठनिक रिपोर्टिङको क्रममा सहभागीहरूले हालै भएको १० बुँदे सहमतिको सन्दर्भ,व्यवहारिक कठिनाईबारे धारणा राखेका थिए । नेता नेपालको कुन कुन क्षेत्रमा के कस्तो प्रभाव रहेको छ भन्ने सम्बन्धमा पनि इञ्चार्जहरूले तथ्याङ्क प्रस्तुत गरेका थिए ।

बैठकमा भनिएको शब्द उद्धृत गर्दै स्रोत भन्छ,‘तराईका जिल्लामा माधव कमरेडको पक्षमा धेरै नेता तथा कार्यकर्ता देखिएका छन् । जे जस्तो भए पनि पार्टीमा देखिएको मतभेद र विभाजन भएको अवस्थामा मुलुकभर पार्टी विस्तारमा नराम्रो प्रभाव पर्नेछ ।’

टिप्पणीहरू