​शीतल निवासलाई निर्मल निवासबाट सोधनी के लिएर आउने होला ?

‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’
शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे । त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको थियो तर त्यो सोधनी औपचारिकता त थियो नै राष्ट्रपतिकी कान्छी सुपुत्रीको वैवाहिक समारोहमा आफू सामेल हुने जानकारीसमेत त्यसैमा लुकेको थियो ।

५० वर्षअघि सोही भवनमा कोमल राज्यलक्ष्मीलाई भिœयाएका ज्ञानेन्द्रले अस्ति सोमबार सरासर आएर नवदम्पत्तिलाई शुभकामना दिए । राष्ट्रपतिले आइदिएकोमा धन्यवाद प्रकट गरिन् । लोकेन्द्रबहादुर चन्द, प्यारजङ थापा, कमल थापाका दाजुभाइ र पशुपति समशेर बसेकै टेबुलमा कालो चिया खाएर निस्किए । यसबीच पत्रकार देवप्रकाश त्रिपाठीलाई तानेर कानेखुशी गरे ।

दुलाहा–दुलहीलाई फेरि गएर भेटे र २० मीनेटमै फर्किए । त्यसो त केही समय बस्ने कुरा नै  थियो तर थोरै समय बसे, हाँसीखुशी नै बसे । यसबीच, सेनापति राजेन्द्र क्षेत्रीले परैबाट सलाम ठोके । टेबलमा सामुन्ने रहेका राप्रपा नेता पशुपति समशेरसँग केही बेर अंग्रेजीमा गफिए ।

यसो गर्दा कसैलाई तपाईं संबोधन गरिरहनु पनि परेन । कसैले सरकार आज आकर्षणको केन्द्र बनिबक्स्यो भनेर चाकडीको भाषा बोल्दै हाँस्दै भने– म हैन, तिमीहरूको कारण यसो भएको हो । 

टिप्पणीहरू