गोरखापत्रका अध्यक्ष राजीनामा बुझाएर घरतिर

गोरखापत्रका अध्यक्ष राजीनामा बुझाएर घरतिर

नेपालकै जेठो सञ्चारसंस्था गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । २०७५ असोजमा चार वर्षका लागि नियुक्त हुनुभएका भण्डारीले सरकार परिवर्तनसँगै गोरखापत्र छोड्नुभएको हो ।

अध्यक्ष भण्डारीसंगै सल्लाहकार सम्पादक गोपाल खनालले पनि राजीनामा दिनुभएको छ । दुवै जनाले सञ्चार मन्त्रालयका सचिव हरि बस्यालमार्फत सञ्चारमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो । आफ्नो १५ महिना कार्यकाल बाँकी छँदै गोरखापत्र छोड्ने निर्णयमा पुग्नुभएका भण्डारीले सरकारी सुविधाका रुपमा पाएको गाडी,ल्यापटप र मोबाइल बुझाएर घर फर्किनुभएको हो ।

“डा. युवराज खतिवडाले गोरखापत्र छोड्न चर्को दबाब दिएपछि आफू राजीनामा पत्र बोकेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको उहाँले बताउनुभयो ।”

कार्यकाल बाँकी छँदै किन राजीनामा दिनुभएको भन्ने जनआस्थाको प्रश्नमा भण्डारीले नयाँ सरकारसँगै नयाँ प्राथमिकता आउने भएकाले बाटो खुला गरेको बताउनुभयो । गोरखापत्रको व्यवस्थापकीय सुधारका लागि अप्ठेरो अवस्थाका बीच आफ्नो झण्डै ३ वर्षे कार्यकाल सफल भएको उहाँले बताउनुभयो । कार्यकालको सफलता सुनाउँदै भन्नुभयो, ‘म आउनुअघि फोहोरको डङ्गुर थियो,त्यसलाई सफा गरेर यहाँसम्म ल्याइपुर्याएको छु । व्यवस्थापकीय सुधारका दृष्टिले त क्रान्ति नै भएको छ ।’

भण्डारीले काम नगर्ने प्रवृत्तिमा सुधार गरेर गोरखापत्रलाई अनुशासित संगठन बनाउन आफूले सक्दो भूमिका खेलेको पनि बताउनुभयो । ‘पत्रिका बिहान ५ बजे जनतामा पुर्याउनु पर्नेमा ६:०५ सम्म प्रेसमै हुन्थ्यो,त्यस्तो अवस्थाबाट अहिले १ बजे नै वितरण सक्ने र ५ बजे जनताको घरमा पुग्ने गरी सुधार गरिएको छ’, उहाँले भन्नुभयो ।

गोरखापत्रको व्यवस्थापकीय सुधारका लागि टिकाराम राई, कुमार भट्टराई र गोपाल खनालसहितको टिमवर्कले प्रभावकारी भूमिका खेलेको भन्दै उहाँले तीनै जनालाई धन्यवाद दिनुभयो ।

“कार्यकाल बाँकी छँदै किन राजीनामा दिनुभएको भन्ने जनआस्थाको प्रश्नमा भण्डारीले नयाँ सरकारसँगै नयाँ प्राथमिकता आउने भएकाले बाटो खुला गरेको बताउनुभयो ।”

गोरखापत्र पहिलोपल्ट राजधानी बाहिरबाट छाप्ने कामको शुरुआत आफ्नो कार्यकालमा भएको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो । त्यस्तै,विराटनगर र कोहलपुरबाट संस्करण पृष्ठ निकाल्ने, कोहलपुरको प्राइभेट प्रेसमा सस्तोमा पत्रिका छाप्ने र बिहान पाँचै बजे पत्रिका वितरण भैसक्ने अवस्थामा पुग्नुलाई उहाँले आफ्नो कार्यकालको सफलताका रुपमा अर्थ्याउनुभ्यो ।

कर्मचारीलाई उपदान दिने व्यवस्था भएपनि बजेट नछुट्याएका कारण ७४/ ७५ करोड ऋणमा भएको संस्थालाई आफूले ३५ करोडमा झारेको उहाँको भनाइ छ । गोरखापत्रलाई अन्य राष्ट्रिय दैनिकको स्तरमा विकास गर्न राज्यको योगदान बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

राजीनामा दिन युवराज खतिवडाको दवाब

भण्डारीले सरकार परिवर्तनका कारण गोरखापत्र छोडेको बताए पनि मुख्य कारण भने अर्कै रहेको जानकारहरु बताउँछन् । तत्कालीन सरकारबाट पाइलैपिच्छे असहयोग भएपछि भण्डारी पहिले नै गोरखापत्र छोड्ने मनस्थितिमा रहेको निकटहरु सुनाउने गर्थे ।

भण्डारीले पनि टिकाराम र कुमारलाई हटाएर आफूलाई अपांग बनाउने प्रयास गरिएको गुनासो गर्नुभयो । तत्कालीन सञ्चारमन्त्री डा. युवराज खतिवडाले गोरखापत्र छोड्न चर्को दबाब दिएपछि आफू राजीनामा पत्र बोकेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको उहाँले बताउनुभयो । गोरखापत्र छोड्ने निर्णय सुनाउँदा ओलीले नै रोकेको उहाँको दाबी छ ।

त्यतिबेलाको सन्दर्भ जोड्दै भन्नुभयो, ‘गोरखापत्रलाई कान्तिपुर जस्तो कसरी बनाउन सकिन्छ भनेर उहाँ (ओली)ले सोध्नुभएको हो । मैले बनाउन त सकिन्छ,तर पोखरीमा हात खुट्टा बाँधेर हालिन्छ कि खोलेर भनेर प्रश्न गरें । उहाँले त्यस्तो हैन,यो पत्रिकालाई बनाउनुपर्यो,तपाईं लाग्नुस् भनेपछि मैले जिम्मेवारी लिएर काम शुरु गरेको हो ।’

टिप्पणीहरू