निरन्तरको वर्षाले चन्द्रनहरमा क्षति, पाँच सयबढी घर डुबानमा

निरन्तरको वर्षाले चन्द्रनहरमा क्षति, पाँच सयबढी घर डुबानमा

लगातारको वर्षाले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहरमा क्षति पुगेको छ । वर्षापछि आएको बाढीले चन्द्रनहरका विभिन्न ठाउँमा क्षति पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभएको छ ।

जनआस्थासँग कुराकानी गर्दै उहाँले नहरका केही ठाउँबाट पानी लिक भएर बस्तीमा पसेको बताउनुभयो । हाल सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय तथा तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर गरी पाँच सय भन्दाबढी डुबानमा परेका छन् ।

अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले चन्द्रनहरमा क्षती पुर्याएको बताउनुभएका आचार्यले झण्डै ५० मिटर नहर समेत भत्केको जानकारी दिनुभयो । ‘अहिले दिउँसो वर्षामा कमी आएकाले बस्ती डुबानमा परे पनि मानवीय क्षतिको अवस्था छैन,’ उहाँले भन्नुभयो ।

डुवानमा परेका बस्तीबाट पानी फाल्ने काम भइरहेको छ । त्यसैगरी त्यहाँको स्थानीय निकायको समन्वयमा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम समेत भइरहेको छ ।

निरन्तरको वर्षापछि सप्तकोशी, त्रियुगा, महुली, खाँडौ, बलानलगायत नदीमा जलस्तर बढेको छ । जिल्ला प्रशासनले नदी तटीय क्षेत्रका वासिन्दालाई थप सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

टिप्पणीहरू