गाउँ–गाउँमा प्रेमका गड्बडी « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

गाउँ–गाउँमा प्रेमका गड्बडी

प्रकाशित मिति :  २९ पुष २०७३, शुक्रबार ०८:२०


अहिले यस्तो हुन्छ भन्ने थाहा पाए उहिल्यै अर्कैसँग माया–प्रेम गाँस्थें । यस्तो अवस्था सिर्जना हँुदैनथ्यो । उनी यति राम्री थिइन् कि वर्णन गर्न कुनै त्यस्तो शब्द छैन । एक घण्टा मात्र पनि टाढा हुनुपर्दा एक जुग नभेटेजस्तो हुन्थ्यो । सायद आज यस्तो व्यहोर्न रहेछ । रोएर केही पनि नहुने । अहिले सुजाताको नाम सुन्न चाहन्नँ ।

त्यतिखेर गाउँमा केटाकेटीले मायाप्रेम गाँस्ने हुरी नै आएको थियो । चलचित्र हेर्न तीन घण्टाको बाटो हिँड्नुपथ्र्यो । मोली गाविसमा अधिकांश घर खरले छाए पनि सुजाता र सुमनको घर भने जस्तापाताले छाएका छन् । मोली–३ राईहरूको थलो हो । राई गाउँका अरू केटाकेटी धुस्रेफुस्रे भएर हिँड्दा उनीहरू सुकिलामुकिला भएरै हिँड्ने गर्थे । अरूको घरमा ढिँडो र टिम्बुर हालेको सिस्नुको बास्ना आउँदा उनीहरूको चुलोमा चामल र मासुको खान्की पाक्थ्यो ।

गाउँमा अर्मपर्म नगरी जीवन धान्न मुस्किल पर्छ । एक्ले अर्काेलाई सहयोग नगरे भोलि एक्लै होइन्छ । यो नियम मोली गाउँका बासिन्दाले राम्ररी बुझेका मात्रै छैनन्, आपसी सहयोग गर्न पनि जानेका छन् । अरू बेला वनपाखातिर घाँस–दाउरामा व्यस्त रहने ती गाउँले चैत लाग्नेबित्तिकै बारीमा मल बोक्न थाल्छन् । असार लागेपछि बिलन्दुमा धान रोप्न र खेतबारीमा कोदो रोप्न शुरु गरिहाल्छन् ।

 कसरी हो कुन्नि उनीहरूको भेट दैवले राजकुमारको कोदोबारीमा जुराइदियो । असार दोस्रो साता शुरु भइसकेको थियो । झरीको याम बारीमा घुम ओढेर कोदो रोप्न मजा आइरहेको थियो । असारको सिरेटो मुुटु चिसाउने खालको भए पनि त्यो दिन उनीहरू दुवैको मुटुलाई त्यो सिरेटोले छुँदै छोएन । झमक्कै रात परिसकेको थियो । राजकुमारका सबै खेतालासहित सुजाता अघि–अघि लागिन् सुमन पछि लुरुलुरु एकाग्र भएर हिँडेका देखिन्थे । उनलाई त्यो कोदोरोपाइँ अझै नसकिएको भए हुन्थ्योजस्तो लागिरहेको थियो । कोदोबारीमा दुई जनालाई रातभर कोदो रोप्ने ठेक्का पाए पनि हुन्थ्योजस्तो लागिरहेको थियो । तर, सोचेजस्तो कहाँ हुन्छ र ? यसरी दुई जना बसेर बेलुकी कोदो रोप्न थाल्दा समाजले के भन्छ ?
 सुजातालाई पनि सुमनलार्ई जस्तै कहाँ राजकुमारको कोदोबारीमा बेलुकीभरि कोदो रोप्न मन नलागेको हो र ! उनलाई पनि सुमनसँगै मायाप्रेमका मीठा–मीठा कुरा गरेर बस्न मन त थियो तर समाजको नीति–नियमले भोलि साह्रो पाथ्र्याे । दिमागमा यस्तै खालका मनोभाव सिर्जना हुँदै अघिपछि हिँडेका उनीहरू कोदोबारीका साहु राजकुमारको घरमा टुप्लुक्कै पुगे । सबै जनाले जिउबाट ओढेका घुम निकालेर घरबाहिरको भित्तामा ठोकिएका किल्लामा झुण्ड्याए । उनीहरूले पनि भुण्ड्याए । उनीहरूको पहिलो भेट यही थियो ।

 समय कहाँ एकनाशको हुँदोरहेछ, राजकुमारको कोदोबारीले दुवै जनाको नजर हेराहेरसम्म पु¥याएको थियो । तर, पछि कताबाट हो सुजाताकै बारीमा सुमन कोदो रोप्न पुगेछन् । ढुंगा खोज्दा देउता मिलेझंै उनीहरू दुवैले साँच्चिकै देउता भेट्टाए । गाउँमा तलतिर–मास्तिर घर भए पनि बोलचाल कमै हुन्छ । खासै केटाकेटीको हिमचिम हुँदैन । तर, चैत र असारमा भने मनग्गे हुन्छ । यही सिजन मायाप्रेमको हो भन्दा फरक नपर्ला । उनीहरूको हकमा पनि यहि लागू हुन पुग्यो ।

 असारमा रोपेको कोदोले मोलीका अरू घरपरिवारमा महिना दिन धान्न धौधौ पथ्र्याे तर उनीहरूको वर्षभरि खान पुग्ने । उनीहरू मकै, कोदो र धान न किन्थे, न बेच्थे । आफूलाई सजिलै पु¥याउँथे ।

 त्यो दिन राजकुमारको कोदोबारीमा जस्तो झरी परेको थिएन न त टण्टलापुर घामै लागेको थियो । मौसम धुम्मिएको थियो । वनपाखातिर कोइलीले को हो, को हो भनिरहेको थियो । यता, सुजाता र सुमनलाई पनि आफ्नो परिचय पाउने तलतल जागिरहेको थियो । तर, कोदो रोप्ने व्यस्तताले मौकै आएन । जसोतसो दिउँसोसम्म कोदो रोपे । त्यसपछाडि नै हो बल्ल उनीहरूले परिचय साटेको । दिउँसो एक घण्टा खाजा खाने (विश्राम लिने) समय छुट्याइएको थियो । यही बेला आमाले सुजातालाई बोलाएर सुमनसँग खाजा लिएर आउन अह्राइन् ।

 कोदोबारीबाट सुजाताको घर पुग्न १० मिनेट लाग्छ । राजकुमारका कोदोबारीमा अघिपछि भएका उनीहरू अहिले सँगै गफ गरेर हिँडिरहेका छन् । यस्तैमा पहिला सुमनले सोधे– तिम्रो नाम के नि ? सुजाता । अनि तिम्रो ? मेरो सुमन । दुवै जना एकछिन मुसुमुसु हाँसे । दुवैका नाम अगाडि ‘सु’ आएको हुनाले । एकछिन रोकिँदै सुमनले भने, ‘कस्तो राम्रो नाम ठ्याक्कै एउटै पो परेछ ।’ सुजाताले उत्तर दिँदै भनिन्, ‘अँ ! हुन्छ नि †’ यस्तै गफ गर्दागर्दै घरमा पुगे । खाजा खाएर विश्राममा खुलेर कुरा गरे ।  

 अध्ययनमा सुजाता सुमनभन्दा एक श्रेणी माथि थिए । उनकी दिदी चन्द काठमाडौंको स्वयम्भूमा बसेर पढ्थिन् भने सुमनका दाजु इशान दुबईमा रोजगारी गर्न गएका थिए । उनी प्रवेशिका परीक्षा (एसएलसी)को तयारीमा थिइन् भने सुमन भर्खर नौ कक्षामा पढ्थे । तर, माया–प्रेमलाई न उमेरले छेक्छ न त पढाइले । कालान्तरमा छुट्टिनै नसक्ने चखेवाको जोडी बने । चलचित्र हेर्न तीन घण्टाको बाटो लगाएर सदरमुकाम ओखलढुंगा पुगे । पहिलोपटक निखिल उप्रेतीले खेलेको फिल्म ‘पिँजडा’ हेरेर फर्किए । त्यसपछि त झन् एकक्षण नभेट्दा हजार वर्ष छुट्टिन पुगेजस्ता हुन्थे ।

 अचानक सुजाता प्रवेशिका परीक्षा तयारीका लागि काठमाडौं जाने भइन् । उनमा उमंग छाएको थियो । तर, सुमन छट्पटिएका थिए । कतै उनले काठमाडौं गएर बिर्सने त होइन ? त्यतिखेर अहिलेजस्तो छ्याछ्याप्ती मोबाइल फोनको सुविधा थिएन । फोन गर्न राजकुमारकै घरमा पुग्नुपथ्र्यो कि त मगरगाउँ मेघेको पसलमा । सुजाता गएको दिन नै सुमनले दिदीको फोन नम्बर कापीमा सारेका थिए । भोलिपल्टै मेघेको पसलबाट फोन गरे । सुजाताकी दिदी शुरुमा त अलमल्ल परिन् केटा मान्छेको स्वर सुनेर । सुजातालाई कुनै अचम्म लागेको थिएन किनकि काठमाडौं आउनुअघि दिदीको फोन नम्बर सुमनलाई दिएकी थिइन् । आधी घण्टापछि सुजाताले एक महिना पछाडि आउने वाचा गरे पनि दुई महिनापछि पुगिन् । त्यसबीच सुमनले घरी–घरी फोन गर्थे तर सुजाताले कहिल्यै गरिनन् ।

 कारण, उनी काठमाडौंमा पढ्दा पढ्दै अर्कैसँग नजिक हुन पुगिन् । केटा मोली गाविस–९ नम्बर वडाका सुवास राई थिए । उनी दाइ पदमसँग काठमाडौंमा बस्थे । दुई महिनापछि सुजातासँगै मोली फर्किए । काठमाडौंबाट आएर एकरात सुजाताको घरमा बिताए । तर, सुजाताले सुमनलाई न बोलाइन्, नत भेट्नै गइन् । अब, उनी सुमनविना बाँच्न सक्ने भइसकेकी थिइन् । र, अहिले पनि बाँचिरहेकी छन् ।

 काठमाडौंबाट सुजाता फर्किएको भोलिपल्ट सुमनले एक जना केटासँग आएको थाहा पाए । धरधरी रोए † तर, भेट्न गएनन् । उसले आखिर मेरो माया लत्याइदिएपछि भेट्नु किन ? परीक्षामा सुजाता गणित विषयमा चिप्लिइन् भने सुवास अंग्रेजीमा । त्यसपछि दुवैले बिहे गरे । सुमनलाई उनीहरूको बिहेअगावै यो चाला थाहा पाएकाले मायामा कुनै काँडा भएनन् । गाउँबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेर काठमाडौंको पेप्सीकोलामा दाइसँग होटल सञ्चालन गरी बसेका छन् । अब पढाइभन्दा व्यवसायमा होमिने सोच बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !