किन लाग्दैन झण्डे र डन्डेलाई कानुन ? « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

किन लाग्दैन झण्डे र डन्डेलाई कानुन ?

प्रकाशित मिति :  २९ पुष २०७३, शुक्रबार ०८:१६


  • संकेत कोइराला

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरूले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा सुरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिन सक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यसैबीच, अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउन प्रस्ताव गरे । प्रस्ताव एकमतले पारित भयो । यो निर्णयबाट सबैभन्दा दुर्योधन दंगजस्तो देखिन्थे । सबै बिदावारी भएपछि कर्णलाई अँगालो हाल्दै एकान्तमा लगेर भने, ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन ।

वास्तवमा उहाँहरू पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौं । म त तिमै्र भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौं ।’ दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्, ‘अब म पाण्डवलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर सबै पाण्डवलाई म आफ्नो शिविरमा ल्याई थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाडस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेजस्तो देखिए पनि शंकाको लाभ लिन चुक्दैनथे । सहयोगीका नाममा एकले अर्कालाई राम्रैसँग ठग्थे । यिनीहरूको सम्बन्ध नङ–मासुजस्तो त थियो तर नङ काटिँदा मासु कुनै प्रतिवाद गर्दैनथ्यो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई पनि प्रारब्धले दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो श्रृंखला हो, जसका पात्रले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन् । राज्यभोगको साइत अन्ततः श्राप र आँशुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ । युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् । राज्यभोग गर्नुपर्ने पाण्डव एक÷एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कूटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण आफ्नो दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डव यति व्यथित भए कि जीवनको उत्तराद्र्ध उनीहरूका लागि अनन्त सुरुङ यात्रा सावित भयो । युद्धका वीरहरू किंकर्तव्यविमूढ बने ।

महाभारतका पात्रलाई जस्तै एमाओवादी नेतामा उत्कर्षको वैराग्य छाएको छ । बाबुराम अर्को गुठी खोलेर आपूm कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म पनि गर्न चाहँदैनन् । नारायणकाजीलाई पार्टी नखाउँ दिनभरिको शिकार, खाउँ कान्छाबाउको अनुहारजस्तै भएको छ । एकथरी माओवादी काठमाडौंको सम्भ्रान्त परिवारमा रूपान्तरण भइसकेका छन् । उनीहरू आफ्नो माओवादी विगतलाई ‘नराम्रो सपना’ भन्ने अवस्थामा पुगेका छन् । अर्काथरी अरबका डोरीलाउरे र बाँकी रहेकाहरू युरोप–अमेरिकामा ‘तोरीलाउरे’ बन्ने धुनमा छन् । यी खाले बुज्रुकहरू उल्टो माओवादी पीडितको कागज बनाएर विदेशी बन्ने क्रममा अदालती बयान दिइरहेका छन् ।

विशुद्ध माओवादी त माओवादी लिष्टबाटै हराइसकेका छन् । पहिला पहिला कम्युनिष्ट र कांग्रेस अलग दल हुन्थे । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो । अहिले त एमालेभित्र कांग्रेस–माओवादी, माओवादीभित्र कांग्रेस–एमाले, यी सबै दलभित्र लोकमानसिंह कार्कीका चेलाचपेटाको बिगबिगी छ । लोकमान त झारले छोपिएको पिपल जस्तै हुन् । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पिपलरूपी लोकमान लहलह भएर उदाउने छन् । फेरि जयजयकार शुरु हुनेछ । राजा ज्ञानेन्द्रको सत्ता पल्टिँदा सवैभन्दा घृणा गरिने पात्र कमल थापा समकालीन राजनीतिमा म्यारिजको मालजस्तो भइसकेका छन् । उही समयका मानिस हातमा घडी फेरेर समय आफ्नो कब्जामा रहेको भ्रम दशकौंदेखि छर्न सफल छन् ।

केपी ओलीले चराको चुचोजस्तो रेल र चुलोचुलोमा ग्यास ल्याउने सपना देखाउँदा उनका कार्यकर्ताले राजनेताको पखेटा लगाएर फेसबुक भरेको देखेको माओवादी नेतृत्व उपत्यका उज्यालो बनाएको जश लिने होडबाजीमा आकाश–जमिन पछि परेकोे छ । तिललाई पहाडमा अनुवाद गर्न सक्ने कम्युनिष्ट मनोविज्ञानबाट माओवादी स्वयं चुकेको बुझ्न कठिन छैन । यदि, कांग्रेस र एमाले केन्द्रविन्दुमा रहेर यो काम भएको थियो भने त्यसको स्वामित्व ग्रहण गर्न हुने होडवाजी आपैंm अन्दाज गर्न सकिन्छ । असफल कृषि प्राविधिकको इतिहास बोकेका जनार्दन शर्मा र नेपाल सरकारको सहसचिव पास गरेर पनि संस्था नछोडेका कुलमान घिसिङको रसायनले कांग्रेस–एमालेका दिग्गज डाक्टरधारीको व्यक्तित्वमा धावा बोलेको छ । संसारका मानिसले बुझ्ने समान भाषा हो– हाँसो । अन्धकार नासिएपछि सम्भवतः यही भाषा सर्वसाधारणको अनुहारमा भेटिएको छ । हाम्रो भूधरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औंलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सवैथोक आपैंm मिलेर जान्छ । यहाँ कांग्रेस, एमाले, माओवादी जित्ने– देश हार्ने प्रतिस्पर्धाले घर ग¥यो ।

नेताको मलद्वारलाई हरिद्वार मान्ने दास जन्माउने होडबाजीमा नेता लागे । सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरूकै चक्रव्यूहबाट निस्कन सक्दैनन् । यसैको परिणाम अहिले प्रचण्डका लागि माओवादीको नायकत्व जागिर सकुशल राख्ने एउटा कडी मात्र भएको छ । शहरी नूनको प्रभावले माओवादीजस्तो कि गर, मरको हुकुमी दर्शनमा हुर्किएका असली कार्यकर्ता विभिन्न आवरणमा अलप भएका छन् । बरु अवसरवादी चैते वर्णशंकर सन्तानको आवादीमा माओवादी जमिन सिञ्चित छ । माओवादका प्रणेता माओ त्सेतुङले जनताबाट सियो पनि लिनुहुँदैन भनेर सिकाए तर उनैका अनुयायी हाम्रा माओवादीले देशको ढुकुटीमा संगठित आक्रमणलाई संस्थागत तुल्याए । कांग्रेस–एमालेले सच्याउनु साटो नजिरका रूपमा यही प्रवृत्ति आत्मसात् गरेका छन् ।

जति सत्य बुझ्यो उति जीवन सरल हुन्छ । विश्वमा शान्ति र विकास बलले नभई समझदारीले आएको छ । रूखपछि बनेको भन्दैमा पीर्कामा रिस पोख्ने दुस्साहस किमार्थ गर्नुहुन्न । राजनीतिमा त झन् यो आत्मघाती सिद्ध हुन्छ । कम्बोडियामा कम्युनिष्टको यस्तो दबदबा थियो, जहाँ चश्मा लाएका मानिसलाई बुद्धिजीवी ठानेर मारियो । हिटलरको सन्कीपनले ५ करोड मानिस चेम्बरमा स्वाहा भए । यसको ठीक विपरीत अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेवापत प्रसिद्ध भए ।

देशको अखण्डता जोगाउने नाममा लाखौं अमेरिकीले ज्यान दिए । यतिबेला देश टुक्रन नदिने अभियानको अभियन्ता एमाओवादी बन्यो भने त्यस्ता जनशक्ति उसले स्वतः पाउँछ । बटुको जत्रो देशमा नाङ्लो आकारको चलखेल गर्नुको अर्थ छैन । अहिलेको संघीयता बोकाको मुखमा कुभिण्डो कोच्याएको अवस्था हो । न यो कसैको माग हो, न आवश्यकता । देश त सलादजस्तो सवैको अस्तित्व देखिने किसिमको हुनुपर्छ । अनि सुपजस्तै सवै परिकार मिसिएर आएको सुस्वादिलो हुनुपर्छ । राजनीतिलाई सधैं तातो तावामा उफारेर भुंग्रोमा पार्ने काइदाका रूपमा बुझ्नु मनासिव होइन । नीतिहरूको राजा राजनीति मानिन्छ भने दानहरूमा महान दान मतदान हो । चाणक्य भन्छन्– ‘जसको गुण आपूmलाई थाहा छैन, त्यस्ता मानिसको सेवा बुद्धिमानले गर्नु हुँदैन । किनभने यसो गर्नु बाँझो खेत जोत्नुजस्तै हो । यसबाट फल निस्कँदैन ।’

नेपाल एउटा विश्वको त्यस्तो नमुना देश हो, जहाँ पुलिसले अपराधी समात्दा, पत्रकारले कुनै एउटा राम्रो समाचार लेख्दा, न्यायाधीशले राम्रो पैmसला गर्दा, कुनै नेताले विकासवादी भाषण ठोक्दा, कर्मचारीले तोकेको काम गर्दा त्यो हिट समाचार बन्छ । यसको अर्थ के हो भने हरेक मानिसहरू आफ्नो स्वधर्मभन्दा अलग पेशामा पारंगत छन् । सफल राजनेता आपूm साधारण जीवन बाँचेर जनतालाई असाधारण जीवनशैलीमा पु¥याउन अहोरात्र खट्छन् । तर, हामी कहाँ राजनीति कहिल्यै अवकाश लिन नपर्ने जागिर भएको छ । एउटा माकुराले आत्महत्या गरेछ । मर्नुअघि सुसाइड नोटमा लेखिएको थियो, ‘जाल बुन्नमा मैले नेपालका नेताको मुकाविला गर्न सकिनँ ।’ संविधानलाई विश्वको उत्कृष्ट भन्ने तिनै नेताका लागि एक वर्ष नपुग्दै त्यो दस्तावेज भीरको चिन्डो भएको छ ।

कृषिप्रधान देश जहाँको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । झण्डै सात हजारको संख्यामा रहेका धान मिल खुम्चिएर तीन सयमा झरेको छ । ती मिलमा पनि कुटानी होइन, सीमापारीबाट ल्याएको चामल भर्ने काम मात्र हुन्छ । बर्सेनि २५ अर्बको चामल ट्रकले नओसारे देशमा भोकमरी लाग्छ । गफमा बाहेक आत्मनिर्भर नरहेका नेपालीले धोक्ने बिजुलीपानीको कच्चा पदार्थको भरसमेत दक्षिणमै पर्नु परेको छ । योभन्दा चरम दुर्भाग्य के हुन्छ ?

हजुरबाका पालामा शुरु भएको विकासे योजना नातिका पालामा सकिँदैन । काम गर्ने एउटा सरकारी निकाय छ भने त्यसलाई काम गर्न नदिन अरू दर्जन सरकारी संयन्त्र नै तैनाथ छन् । नेता र कर्मचारी राष्ट्रिय पोशाक उस्तै लगाउँछन् तर परिणाममा तिनीहरू सधैं एक नदीको दुई किनार भएर बाँचेका छन् । एकथरी छन् नीति, नियम र अख्तियारको हाउगुजी देखाएर कामबाट पन्छिन्छन् । अर्काथरी छन् अख्तियारलाई मावली, ससुरालीको साइनो लगाएर धमिलो खोलामा जाल हान्न तम्सन्छन् । तेस्रो खालका त झन् यस्ता छन् ,जो नेताको चिना टिपन आफ्नो हातमा रहेको अभिमानमा फुलेका छन् । यस अवस्थामा राजहाँस बन्नुपर्ने राजनीतिबाज दलालको घेरामा बाँधिएका छन् ।

त्यसबेला युधिष्ठिरलाई स्वर्ग जान आउन कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग आउजाउ गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले पनि रामैसँग उठायो । युधिष्ठिर जतिपल्ट स्वर्ग उक्लिन्थे, कुकुर पछि लागि हाल्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन, तर कुकुरको कानमा टाँसिएको किर्नो पनि संयोगले युधिष्ठिरसरह नै स्वर्ग जान्थ्यो । हुन पनि हो, कुकुरको कान जाँच गर्ने कुरा पनि आएन । आखिर सत्ता, शक्ति उहिले न अहिले त्यसको मूलभूत सार उही नै हो । तर, यो रवाफ धेरै समय टिकेन । विधिको विधान महाभारत युद्ध सकिएपछि पाण्डव र कौरवका सन्तानको अन्त्य हुँदै गयो ।

राजा ज्ञानेन्द्रको जिउमा टाँसिएका सबै किर्नो अहिले प्रचण्ड, शेरबहादुर, केपी ओली दरबारमा सरेका छन् । किर्नो त आखिर किर्नो हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसँग उसको संगतै हुँदैन । सत्यचाहिँ के हो भने यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने भएको भए निश्चित छ– अहिलेका अधिकांश नेता खसी बेच्ने हुन्थे । शंकै छ– एउटा खसी पनि मोल मिलाएर दिने हुती तिनीहरूमा हुन्थ्यो या हुँदैनथ्यो । बाँदरले हाँगा लच्काउने मात्र हो, रूख भाँच्ने होइन । यो तागत ऊसँग हुँदैन । समाज बिग्रन नागरिकबीचको सम्बन्ध पो बिग्रनु पर्छ त ! थोरै त्यो सम्बन्ध नेताले तामो तुलसो छोएर गाँसिदिएको हो र ? नेता नामको पेपर टाइगरलाई साँच्चैको बाघ ठानेर तर्सनु आफ्नै मूर्खतासिवाय केही होइन । जो खुशी रहन चाहन्छ, उसलाई कसैले पनि दुखी बनाउन सक्दैन । जो दुःखी रहन चाहन्छ, ऊ सुखमा पनि दुःख खोजिरहन्छ ।

गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण संसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो । समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरूको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिपेर घुयँत्रो हान्छन् । रूखको हाँगाबाट झरेपछि पातको औचित्य हराएर जान्छ । अर्को सत्य के हो भने संसारका सवै परीक्षामा सफल भएको मानिस अर्थपरीक्षामा चिप्लिन्छ । सम्भवतः हाम्रो समस्या पनि यही हो । झण्डे र डण्डेलाई कानुनी दायरामा ल्याएपछि मात्र देश सुमार्गमा अघि बढ्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !