सात महिनापछि प्रचण्ड बिस्तृत छलफलनिम्ति बालुवाटारमा

सात महिनापछि प्रचण्ड बिस्तृत छलफलनिम्ति बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । गठवन्धन सरकारको साझा कार्यक्रम र मन्त्रिपरिषद बिस्तारबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास जानुभएको हो।

यसअघि अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उहाँको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको थियो । उक्त भेटवार्तामा नेपाल समूह पनि सरकारमा सहभागी हुन् सकारात्मक बनेपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको बुझिएको छ ।

आजै सत्ता गठवन्धनको अर्को दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि वरिष्ठ नेता नेपालसँग भेटवार्ता गर्नुभएको छ । दुई नेताबीचको भेटघाटको औपचारिक जानकारी बाहिर नआए पनि सरकारमा सहभागी हुनेबारे छलफल भएको बताइएको छ । पार्टीको आन्तरिक किचलोका कारण दुवै नेताले सरकारमा जाने निर्णय गर्न सकेका छैनन् ।

माधव नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएका प्रचण्ड र यादव बालुवाटार भने सँगै जानुभएको थियो । प्रचण्ड पुस ५ यता आज पहिलो पटक बालुवाटार जानुभएको हो । केपी ओली प्रधानमन्त्री हुँदा दैनिक जसो बालुवाटार जाने गर्नुभएका उहाँ पहिलो पटकको प्रतिनिधिसभा विघटनपछि जानुभएको थिएन ।

टिप्पणीहरू