बेइजिङमा अर्का वरिष्ठ अधिकारी तत्काल निश्कासित

बेइजिङमा अर्का वरिष्ठ अधिकारी तत्काल निश्कासित

चीनमा सभ्य समाज र सुशासनको प्रभावकारिता बृध्दि गर्न राष्ट्रपति सि चिनफिङ नेतृत्वको सरकारले गरेको पहलस्वरुप सरकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चअधिकारीहरुमाथिको निगरानी क्रमशः बढिरहेको छ । पार्टी र सरकारको उच्च तहको आडमा हुने गरेका भ्रष्टाचार र गलत कार्यलाई निमिट्यान्न पार्ने उद्देश्यले थालिएको अभियानमा धेरै जना तानिन थालेका हुन् ।

यो साताको प्रारम्भमा छिङ्घाई प्रान्तका एक जना भूतपूर्व उपगभर्नर र उच्च अदालतका प्रशासकलाई पदको दुरुपयोग गरेर करोडौं जम्मा गरेको र गलत कार्य गरेको अभियोगमा अदालतमा पेश गरिएको छ । हिजो मात्र राजधानी बेइजिङमा सरकार नियन्त्रित (अन्तरीक्ष) एरोस्पेस इन्भेष्टमेण्ट होल्डिङ कम्पनी लिमिटेडका पूर्वपार्टी सचिव तथा अध्यक्ष चाङ थाओलाई पनि विभिन्न अभियोगमा समातिएको छ ।

उनलाई यसअघि नै पार्टी कमिटीको जिम्मेवारीबाट निलम्बन गरिसकिएको छ । राजधानीको छाओयाङ जिल्लास्थित एउटा अनुसन्धान निकायले उनलाई पक्राउ गर्न आदेश दिएको बताइएको छ । थाओले मादक पदार्थ सेवन गरेपछि दुईजना विद्वानलाई जानाजान घाइते बनाएको समाचार व्यापक भएपछि उनीमाथि कारबाही प्रक्रिया शुरु भएको थियो ।

अनुशासनहीन काम गरेवापत उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानबमोजिम तत्काल निश्कासन गरिएको छ । पार्टी र सरकारी ओहोदामा रहेकामाथि पछिल्ला वर्षदेखि चीनमा कडा अनुशासन र प्रशासकीय जिम्मेवारीको अनुगमन प्रक्रिया शुरु गरिएको छ ।

५७ वर्षीय चाङमाथि हुने थप छानबिन र अदालतबाट हुने आदेशलाई निकै उत्सुकताका साथ हेरिएको छ ।

टिप्पणीहरू