पृथ्वीसुब्बाको मात्रै हो र यो पीडा ?

पृथ्वीसुब्बाको मात्रै हो र यो पीडा ?

एमाले नेतृत्वको अन्तरद्वन्द्वले सबैभन्दा ठूलो मर्कामा पारेका नेताहरूमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा स्थायी समिति सदस्य पृथ्वी सुब्बा (पिएस) गुरुङ हुनुहुन्छ । उहाँले नेतृत्व गरिरहनुभएको प्रदेश सरकार बेफ्वाँक नेपाली काँग्रेसको हातमा गएको छ । यता अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पनि सत्ताबाट बाहिरिएको छ ।

यी सबै घटनाक्रमको चुरो,विवाद र किचलोको मुख्य स्रोत पार्टी अध्यक्ष केपी शर्मा ओली र अरु नेताको सम्मानजनक सहकार्यको किचलो नै हो भनी बालकोट निकट कमरेडहरूलाई अघिल्लो सोमबारदेखि राम्रैसङ्ग महसुस हुन थालेको देखिन्छ । तर पनि ओलीको सामुन्ने त्यो कुरालाई प्रकट गर्न सकेको देखिँदैन । एक्लो पिएसले भने यदाकदा अध्यक्ष ओलीसमक्ष आफ्ना कुरा खुलेर राख्नुभएको स्रोतले बताएको छ ।

अघिल्लो सोमबार दिउँसो सर्वोच्च अदालतको फैसलापछि साँझ बालुवाटारमा स्थायी समितिको बैठक बोलाइएको थियो । बिना एजेण्डा र तयारी बोलाइएको उक्त बैठकमा नेताहरू सबै तैँ चुप,मै चुपमा हुनुहुन्थ्यो । तर सबै नेताहरूको सामुन्ने गुरुङले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीलाई सांकेतिक रुपमा ‘अब सबैले नसच्चिएसम्म पार्टी अघि बढ्न नसक्ने’ बताउनुभयो भनिन्छ ।

“अहिलेको परिस्थितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल,बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको सरकार उच्च जोखिममा परेका छन् ।”

आफू निकटस्थहरूसँगको छलफलमा गुरुङको विश्लेषण अरुको तुलनामा फरक र यथार्थपरक देखिन्छ । उहाँले हालैको पार्टी विवाद निरुपण कार्यदलले तयार पारेको १० बुँदे सहमति पालना गर्न शीर्ष नेतृत्व दुबै जना खुलेर इच्छुक नभएको तर बाध्यताले लतारिनुभएको विश्लेषण गर्नुभएको हो । त्यसैले गुरुङका अनुसार ढिलो वा चाँडो सहमतिमा नआई सुखै छैन ।

गत बुधवार प्रधानमन्त्री निवासबाट निस्केर बालकोट घरको बार्दलीमा त्यसरी आइ लभ यु ओली बा भन्नेहरुसामु कुर्लनु उचित नभएको बताउनेहरूमध्ये गुरुङ पनि एक हुनुहुन्छ । उहाँको विश्लेषणमा एउटा पक्षले मात्र गल्ति र कमजोरी गरेको ठहर गर्ने दृष्टिबाट पार्टीको समस्या समाधान हुुँदैन । किनभने तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा पार्टीमा कुनै छलफल वा निर्णय गरिएको थिएन । त्यो ओली एक्लैको निर्णय हो ।

त्यो पक्षलाई विश्लेषण गर्दै वरिष्ठ नेता नेपालतिर चोर औंला ठड्याउँदा अध्यक्ष ओलीतिर अरुले औंला ठड्याएका छैनन् भनेर सोच्नु नै सर्वथा भूल हुने बताइन्छ । त्यस सम्बन्धमा पनि अध्यक्षसँग भलै एक्लै कुराकानीमा नै किन नहोस्, ‘गल्ती तपाईंबाट समेत भएको छ’ भन्ने हालसम्म पीएस मात्रै देखिनुभएको बालकोट निकटस्थहरू नै बताउँछन् ।

‘तुलोमा जोख्ने हो भने दुबै बराबर हुनुुहुन्छ । उहाँहरूले मिलेर गएको भए, पार्टीमा छलफल गरेको भए यो अवस्था आउँदैनथ्यो । यो अवस्था आउनुमा दुबै पक्ष बराबर दोषी छ ।’

खरो मिजासका गुरुङ पछिल्लो महिनादेखि पार्टी विवाद मिलाउने र एकीकृत पार्टीलाई अक्षुण्ण राख्ने भन्दै काठमाडौंमा निरन्तर खट्नुभएको छ । महिनौंको परिश्रमबाट उहाँले नेताहरूको विश्लेषण गर्दै लोकल भाषामा भन्नुभएको छ, ‘तुलोमा जोख्ने हो भने दुबै बराबर हुनुुहुन्छ । उहाँहरूले मिलेर गएको भए, पार्टीमा छलफल गरेको भए यो अवस्था आउँदैनथ्यो । यो अवस्था आउनुमा दुबै पक्ष बराबर दोषी छ ।’

गुरुङलाई नजिकबाट चिन्दै आएका लमजुङका एमाले नेताहरू समेत बहुमतप्राप्त कम्युनिष्ट सरकारको नेतृत्व गरिरहनुभएका पार्टी अध्यक्ष र वरिष्ठ नेताको इगोका कारण पार्टीमा पछिल्लो अवस्था उत्पन्न भएको बताउँछन् । अहिलेको अवस्थामा सर्वसाधारण जनता र एमाले कार्यकर्ताको कुनै भूमिका नभएको उनीहरूले दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटन,एमाले नेतृत्वको सरकार सत्ताविहीन, गण्डकी प्रदेशको सरकारच्यूतको साझा कारण नेतृत्वको अहंम र इगो भएको बताइन्छ । कतिपय अनौपचारिक कुराकानीमा उहाँ स्वयमले आफ्नो कारणले नभएर नेताहरूबीचको जुँगाको लडाईंले बेफ्वाँकमा मुख्यमन्त्री छाड्नुपरेको बताउँदै आउनुभएको छ ।

अहिलेको परिस्थितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल,बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको सरकार उच्च जोखिममा परेका छन् । तर यसबीच माओवादी केन्द्रले आफू नेतृत्वको कर्णाली र सुदूर पश्चिम सरकारलाई निरन्तरता दिन सफल भएको छ भने आशै नगरेको काँग्रेसले समेत गण्डकी प्रदेशमा सरकार बनाएको छ ।

दुई तिहाई निकट बहुमत सरकारको नेतृत्व गरेर बाहिरिनुभएका अध्यक्ष ओली र उहाँ निकटस्थ नेता गणलाई पछिल्लो तीन वर्षमा सरकार भनेको बालुवाटार र सिंहदरबार मात्र हो भन्ने भान परेको बताइन्छ । प्रदेश र अन्यत्रको सम्बन्धमा उहाँहरूको सोचाई परम्परागतभन्दा माथि उठ्न नसकेको परिणाम गण्डकीपछि लुम्बिनी,बाग्मती र १ नम्बर प्रदेशमा देखिनसक्ने आँकलन गर्न थालिएको छ ।

टिप्पणीहरू