छद्मभेषीहरू आफैँ पत्तासाफ हुन्छन् « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

छद्मभेषीहरू आफैँ पत्तासाफ हुन्छन्

प्रकाशित मिति :  ५ श्रावण २०७८, मंगलवार २०:००


– जानुका धमला

नेपालीमा उखान छ बाँदरले आफ्नो घर बनाउँदैन र अर्काको घर पनि भत्काइदिन्छ । नेपालमै यस्तो प्रवृत्ति देखियो । एकीकृत माओवादी पार्टी छाडेर एमाले बन्न गए रामबहादुर थापाहरू । नेकपा माओवादी केन्द्र अवैधानिक भएकाले खारेजीको माग गर्दै टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह निर्वाचन आयोगमा कराउन गए ।

टोपबहादुरले माओवादी पार्टीमाथि विषवमन नै गरे । माओवादीले २०६९ फागुनमा छैटौं महाधिवेशन र २०७० असोजमा राष्ट्रिय सम्मेलन गरेको हो । त्यहाँबाट सचिवमा निर्वाचित भई पेरिसडाँडा र सिंहदरबारमा राज गरुञ्जेल तिनीहरूलाई गजबको चैन थियो । आज एमालेमा पनि असुरक्षित भएपछि, असंवैधानिक मन्त्री पद खुस्केर चर्चाहीन भएपछि कसैलाई खुशी पार्न र फोस्रो चर्चा पाउन यस्तो तिकडम गर्नै पर्दैनथ्यो । पिसाबको न्यानोले धेरैबेर तातो दिँदैन, सुक्दै गएपछि त्यो डुङडुङ गन्हाउन थाल्छ र जिउ चिसो हुन्छ ।

“युद्धका हजारौ सपना बेचेर थुपारेका आलिशान महलमा कुकुरसँग खेली बस्ने हैसियतबाहेक वैचारिक टाट पल्टेकाहरूसँग अरु केही बाँकी छैन ।”

माओवादी पार्टी नेतृत्वसँग सयाैँ विमति मेरो पनि छ । तर म मैले दुःख गरेर बनाएको घर नै ध्वस्त बनाउने पक्षमा छैन । आफ्नो घर त भत्कायौ–भत्कायौ, अब अरुको घर लिपपोत गरेर फाइदा के छ ? नक्कली लिपपोतले केही समयका लागि त सुन्दरता देला तर दीर्घकालीन हुँदैन । बालुवामा पाइला टेकेपछि भासिन्छ ! भासियो भनेर पिर किन लिनु ! पत्थरमाथि टेक्ने कोसिस गर, कहिल्यै भासिनुपर्दैन ।

साथीहरूको बेचैन तिकडम अश्लील र परपीडक छ तर उनीहरूले बुझ्न नसकेको कुरा के छ भने यसबाट माओवादीलाई घाटा हुँदैन, हिजो युद्धको बेलादेखि नै गद्दारी गर्दै आएकाहरूविरुद्ध थप इखसहित एकीकृत हुन सकियो भने सन्देश राम्रो नै देला तर माओवादी पार्टीमा दलालहरूको रजगज चलेका बेला फेरि यो कुरा पनि सम्भव छ र ? युद्धका हजारौ सपना बेचेर थुपारेका आलिशान महलमा कुकुरसँग खेली बस्ने हैसियतबाहेक वैचारिक टाट पल्टेकाहरूसँग अरु केही बाँकी छैन ।

एमाले–माओवादी एकता हुँदा दुवै पार्र्टीले आफ्ना सिद्धान्त र लक्ष्य छाडेर होइन महाधिवेशनसम्मका लागि स्थगन गरेर, महाधिवेशनबाट एउटै सिद्धान्तको विकास गर्ने उद्देश्य राखेर तत्कालका लागि नाम नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) र सैद्धान्तिक, वैचारिक कार्यक्रमका रुपमा जनताको जनवाद तोकेका थिए । एकताको बखतका सहमति कार्यान्वयन नभएपछि, पार्र्टी सञ्चालन विधि–पद्धतिमा तत्कालीन अध्यक्ष खड्गप्रसाद ओलीबाट निरंकुश शैली अपनाइएपछि पार्र्टीभित्र ओलीप्रवृत्तिका पक्ष/विपक्षमा संघर्ष भएका बेला ओलीका प्रतिगामी कदमविरुद्ध राष्ट्रिय स्तरको सर्वदलीय/सर्वपक्षीय संघर्ष चलेको थियो ।

फागुन २३ को अदालतको निर्णयको प्राविधिक कारण देखाई पार्टी विभाजन गरिएपश्चात् एमाले र माओवादी–केन्द्र साविक अवस्थामा सञ्चालन भएका हुन् । सबै आ–आफ्नो पूर्वपार्र्टीमा फर्कंदा रामबहादुर थापासहित (माओवादी–केन्द्र) का केही नेता–कार्यकर्ता एकाएक आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर मन्त्रीको प्रलोभनमा परी एमालेमा गएका थिए । अहिले आफ्नै जरा बिनाकाहरू आफैंले स्थापना गरेको, आफैँ नेतृत्वमा रहेर काम गरेको मातृपार्टीमाथि विषवमन गर्दैछन् । यो अवस्थामा आफ्नो अक्षम्य गल्ती एवं राष्ट्र र पार्टीमाथिको गद्दारीप्रति प्रायश्चित गरेर बस्नुको विकल्प रामबहादुर जनमा छैन । आफ्नो ज्यान पाल्ने धन्दामा लागेर, ६० लाख युवाले विदेशमा पसिना बेचेर पठाएको रेमिट्यान्सले पालिएका भ्रष्टहरू पैसा, पदको प्रलोभनको भरमा अड्डा, अदालत धाउँदैमा माओवादी–केन्द्र विघटन हुँदैन ।

रामबहादुर थापाले चुनवाङको केन्द्रीय समिति बैठकमै भनेका थिए– के म लिन प्याओ नै हो त अध्यक्ष प्रचण्डलाई मार्न खोज्ने ? त्यो प्रश्न त्यही बेलामा भद्दा मजाक लागेको थियो, अहिले आएर उनी आफैँले प्रमाणित गरिदिए उनी लिन प्याओभन्दा पनि खतरनाक राजनीति खेलाडी रहेछन् ।

युद्धकालमै अवसरवादी चिन्तन देखिएका टोपबहादुर, मणि थापा प्रभु साहहरूको यो वा त्यो बहानामा खराब प्रवृत्तिलाई समाधानभन्दा पनि ढाकछोप गर्ने काम भयो । त्यही अवसरखोरहरूले हो अहिले आफ्नो घर भत्काउन लागेका । क्रान्तिलाई शान्ति लागेपछि नै हो वर्ग उत्थान भएको, वर्गले खोज्ने नै अवसर हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई अवैधानिक बनाएर अध्यक्ष कमरेड प्रचण्डलाई पार्टीविहीन बनाउने षड्यन्त्र र अवसरवादी, अराजनीतिक, नैतिकहीन, गद्दारहरूको योजना निर्वाचन आयोगले चकनाचुर बनाइदिएको छ । स्वेच्छाचारी बाको पनि पतनको यात्रा अन्तिम चरणमा पुग्यो । अब बादल कम्पनीको पनि पतनको यात्रा अवश्यंभावी छ ।


प्रतिक्रिया दिनुहोस !