एमालेको बैठक निरन्तर,अर्को पक्ष बाहिरै

एमालेको बैठक निरन्तर,अर्को पक्ष बाहिरै

एमाले संस्थापन पक्षले हिजोको केन्द्रीय समिति बैठकलाई आज दिउँसो पनि निरन्तरता दिने भएको छ । स्रोतका अनुसार मुख्य एजेण्डा केही नभए पनि केन्द्रीय समितिको बैठक अरु केही दिन नेताहरुमाथि कार्वाही केन्द्रित गरेर लम्बिने छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिएका २२ जना सांसदलाई २४ घण्टे स्पस्टिकरण सोधिएको छ । सम्भवतः पत्र आज बुझाइने भएकाले भोलिसम्म जवाफी म्याद रहनेछ । त्यसैको लागि हिजो साँझ बालकोटमा स्थायी समितिको बैठक बसेको छ ।

स्पष्टिकरण सोधिने पत्रको भाषा र व्यहोरामा कुनै कसर बाँकी नराख्नको लागि हिजो निकै ठूलो कानुनी छलफलसमेत भएको बुझिएको छ । पार्टीको कारबाहीपछि २२ भाइ कानुनी उपचारको निम्ति अदालत जाँदा कुनै उपाय ननिस्क्योस् भन्ने उद्देश्यले हिजो साँझको बैठक र निरन्तर केन्द्रीय समितिको बैठक बोलाइएको बताइन्छ ।

“यसबीच निर्वाचन आयोगमा जीवन राईको नाममा कलम चुनाव चिन्ह भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भइसकेको छ ।”

उता वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि हिजो साँझ स्पष्टिकरणको बारेमा सामूहिक छलफल गरेको छ । २२ भाइले दिने स्पष्टिकरणमा एकरुपता ल्याउनको लागि बैठकको आयोजना गरिएको दाबी छ । स्रोत भन्छ, ‘स्पष्टिकरणको पत्र बुझे पनि उहाँहरूले जवाफ दिनुहुने छैन ।’

विश्वासको मत दिएको पक्षले स्पष्टिकरण नबुझाएपछि बुधबार बस्ने एमाले केन्द्रीय समितिको बैठकले २२ जनालाई पार्टीबाट निश्कासनको निर्णय गर्नेछ । स्पष्टिकरण नबुझाएको अवस्थामा वरिष्ठ नेता नेपाललाई पार्टीबाट निश्कासन र अन्य २१ जनालाई गल्ती महशुस गर्दै आएमा पार्टीमा प्रवेश गराउन सकिने आशयको संयुक्त निर्णय जारी गर्ने तयारी पनि छ ।

यसको संकेत हिजो बसेको एमाले बैठकमा अध्यक्ष ओलीले दिइसक्नुभएको छ । उहाँले माधव नेपालबाहेकको पार्टी एकता हुनसक्ने धारणा व्यक्त गर्नुले उक्त योजनाको पुष्टि भएको हो । त्यसैगरी एमालेभित्रको पछिल्लो अवस्थालाई ओलीले माछाबजारको संज्ञा दिनुभएको छ । सम्भवतः आफैँसँग निकट रहेका ८ जना सांसदले पार्टी आदेशको अवज्ञा गरेर प्रधानमन्त्री देउवाको समर्थनमा मतदान गरेपछि उहाँलाई सबैभन्दा ठूलो धक्का लागेको अनुमान गर्न सकिन्छ ।

“मेघा पार्टी प्यालेस,कलँकीमा बसेको उक्त समूहको भेलामा उपाध्यक्ष भीमबहादुर रावलले केपी ओलीलाई कम्युनिस्ट आन्दोलनको भगुवा र भँडुवाको सँज्ञा दिँदै तत्काल नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुको विकल्प नभएको प्रस्ताव गर्नुभएको थियो ।”

यसअघि ९३ जना सांसद आफ्नो पक्षमा रहेको अवस्थालाई चुनौती दिँदै हिजोका दिनमा मन्त्रीसमेत बनाइएका सांसदले साथ छाडेपछि अध्यक्ष ओली थप संकटमा पर्नुभएको हो । आफू बिरोधी २३ जना पार्टीमा यथावत रहेको,झलनाथसमेत आउने संभावना नरहेको,कार्यदलका सदस्यहरु बाहिरै रहेको अवस्था ज्युँको त्युँ छ ।

यसबीच अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबाट भए गरेका परस्पर कमि कमजोरीलाई सच्याउँदै पार्टी एक हुनसक्ने आशमा रहेको पार्टीको ठूलो पंक्तिले निराशा व्यक्त गरेको छ । दुबै खेमाका दोस्रो पुस्ताका नेताहरूले गरेको पहल समेत बालुवामा पानी बराबर हुने खतरा छ ।

नेपाल पक्षले एमालेबाट हुनसक्ने हदसम्मको कारबाहीलाई मनन गर्दै वैकल्पिक शक्ति निर्माणमा जुट्ने तयारी अहिलेसम्म गरेको देखिँदैन । जबकि केही महिनाअघि मेघा पार्टी प्यालेसमा बसेको उक्त समूहको भेलामा उपाध्यक्ष भीमबहादुर रावलले तत्काल नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुको विकल्प नभएको प्रस्ताव गर्नुभएको थियो ।

यसबीच निर्वाचन आयोगमा जीवन राईको नाममा कलम चुनाव चिन्ह भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भइसकेको छ । राजनीतिक वृत्तमा उक्त पार्टीलाई एमालेको असन्तुष्ट पक्षले योजनावद्ध रुपमा दर्ता गरेको पार्टी भन्न थालिएको छ । गत जेठ महिनामा भएको संविधानसभाको बागमती प्रदेशस्तरीय उपचुनावमा विजयी हुनुभएका डा. खिमलाल देवकोटाको चुनाव चिन्ह पनि त्यहि कलम थियो ।

तर, त्यतिबेलासम्म उक्त दल दर्ता भइसकेको थिएन । नेपालले प्रस्ताव गर्नुभएका देवकोटालाई नेपाली काँग्रेस,माओवादी र जसपाको एउटा खेमाले समर्थन गरेर विजयी बनाएपछि कलम चिन्ह र नेकपा (एकीकृत) सँग जोडेर त्यतिबेलै नेता नेपालको चर्चा गरिएको थियो । अहिले एमालेभित्रको सन्दर्भ त्यहिअनुरुप अघि बढेको भन्न थालिएको छ ।

टिप्पणीहरू