जापान पठाउने नाममा ४० लाख ठगी,नक्कली टानाकायो बनेका ४ जना समातिए

जापान पठाउने नाममा ४० लाख ठगी,नक्कली टानाकायो बनेका ४ जना समातिए

जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । समातिनेमा काठमाडौं नयाँबजार बस्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरी घर भएकी ३७ वर्षीया शुभद्रा परियार,इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भएकी ३३ वर्षीया पूजा राई छन् ।

त्यसैगरी काठमाडौं कपन बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९, राम्चे घर भएका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी बासँवारीकी २१ वर्षीया दिपिका केसी पनि पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा जापानी नागरिक ‘टानाकायोका’ को नामबाट फेसबुक आईडी बनाएर उनीहरुले आफूलाई जापानको अध्यागमनमा कार्यरत जापानी भनेका थिए । पीडितहरुलाई नक्कली टानाकायोकाहरुले जापान जान वर्किङ भिसा प्रक्रियाको लागि पेश्की रकम आवश्यक पर्ने भन्दै काठमाडौंका विभिन्न बैंकमा रहेका खातामा रकम जम्मा गर्न लगाएका थिए ।

तर, रकम जम्मा गरेपछि उनीहरु बेपत्ता भएकाले आफूहरु ठगिएको भन्दै पीडितहरुले प्रहरीमा उजुरी गरेका हुन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले चारै जनालाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि टेकूको हिरासतमा पठाएको छ ।

टिप्पणीहरू