मन्त्रीको ढिलो आउने मन « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

मन्त्रीको ढिलो आउने मन

प्रकाशित मिति :  २९ पुष २०७३, शुक्रबार ०७:४९


शुक्रबार त्रिपुरेश्वरमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको अधिवेशन थियो । सोचें रेडियोकर्मीको कार्यक्रम समयमै शुरु होला, त्यही भएर बेलैमा पुग्न कोसिस गरें । बिहान साढे ८ बजे शुरु हुने भनिएको कार्यक्रम, पुग्दा पौने ९ बजिसकेको थियो । हल करिब–करिब सुनसान थियो । प्रमुख अतिथि सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चौतारीका केही पदाधिकारीबीच चिया तान्दै थिए । अरु आयोजक प्रमुख अतिथिलाई कुरेर एक÷डेढ घण्टा ढिलो कार्यक्रम शुरु गर्थे तर अकोराबले प्रमुख अतिथिलाई एक घण्टा कुराउन सफल भयो ।

मन्त्री मञ्चमा उक्लिए, ढिलो कार्यक्रम शुरु गरेको भन्दै आयोजकमाथि खनिए । प्रत्येक कार्यक्रममा तोकिएकै समयमा पुग्ने, अनि अर्को कार्यक्रममा ढिलो पुग्ने स्वसंकल्प सुनाए । तर त्यो संकल्प कहिल्यै अर्को कार्यक्रमसम्म टिकेको रहेछ ।

‘आज पनि मैले डेढ घण्टा कुर्नुपर्ने रहेछ, धन्न ओमको दाँतले १५ मिनेट ढिलो गरिदियो ।’ मन्त्री पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माको दाँतको उपचारको प्रसंगले ढिलो भएको बताउँदै थिए ।

मन्त्री कार्की विषय केन्द्रित भएर बोल्न भन्दा पनि अध्ययनशील र बौद्धिक कुरा गर्छन् । देश र विश्वका प्रसंग उद्धरण गर्छन् ।

लेख्न जान्नेहरूले स्वस्थानी लेखिदिएकाले सबका सब नारी माघ लाग्नेबित्तिकै नङ काटेर, सालीनदी नुहाउन जान्छन् । सालीनदी नुहाउन जाऊ भनेर सरकारले सहुलियत दिएको छैन, रेडियोले सूचना बजाएका पनि छैनन् । बाणी र लिपिको प्रभाव न हो ! मन्त्रीले अन्तरजातीय विवाहको कुरा गरे । कसैले अन्तरजातीय विवाहको समर्थन गर्छन्, कसैले जोेडदार विरोध । कसैले चाहिँ सार्वजनिक कार्यक्रममा जोडदार समर्थन र घरमा जोडदार विरोध गर्छन् । सायद पछिल्लो पंक्ति नेता र अभियन्ताप्रति लक्ष्यित थियो । नेता र अभियन्ताको द्वैध चरित्र उजागर । यो सुन्दा ढिलोगरी कार्यक्रममा पुगी आतिथ्यता ग्रहण गरेकी सञ्चारिकाकी अध्यक्ष निर्मला शर्माको अनुहार मलिन भयो । मन्त्रीले गोरखापत्रले एक महिनासम्म सुत्केरी स्याहार सामग्री प्रकाशन गर्न सक्ने बताए, निर्मलाको मुहारमा एकाएक कान्ति फर्कियो, उज्यालियो ।

मन्त्रीले नेपाली सञ्चार क्षेत्रको समस्या समाधानका लागि गर्ने कामको कुनै योजना सुनाएनन् ।

जित्ने–हार्ने दुबै आउनुहोस्, मन्त्रालयमा बसेर छलफल गरौंला । खुला ठाउँमा बहस गर्न नहुने के कुरा छन् कुन्नि मन्त्रीज्यूसँग !

मन्त्रीले पूर्वमन्त्रीको प्रसंग पनि निकाले– मभन्दा अघिकाले केही नराम्रो गर्नुभएको रहेनछ, राम्रो पनि गर्न भ्याउनुभएको रहेनछ ।
कार्कीले अहिलेसम्म आफूले पनि केही गर्न नसकेको गुनासो पोखे । अनि कर्मचारीले केही गर्न नदिएको गनगन गरिहाले ।

भाषण सकियो । आयोजकले मन्त्रीलाई रेडियो उपहार दिने उद्घोष गरे मभन्दा अगाडि रहेका एक जना प्रतिनिधिको आवाज ठूलो भयो । रेडियोचाहिँ इण्डियन नै होस् है, त्यही सुहाउँछ । यसअघिको मन्त्रीका केही अभिव्यक्ति इण्डियाका प्रान्तीय मन्त्रीले बोलेजस्तो आइरहेका थिए । त्यही भएर हो कि ? सायद ती प्रतिनिधि विपक्षी दलको कार्यकर्ता परेर हो कि वा सरकार जसले बनायो रेडियो पनि उसैको हुनुपर्छ भन्ने लागेको हो कि ?

मन्त्रीले रेडियोकर्मीको मात्रै राजनीति गर्न आग्रह गरिरहेका थिए । उद्घाटन सत्रको कसलाई के मतलव थियो र त्यहाँ, धेरै अघिदेखि चुनाव लागिसकेको थियो । के छ माहोल ? पंक्तिकारको प्रश्न खस्न नपाउँदै एक प्रतिनिधिले भने– यो वर्ष एलायन्स परिवर्तन ग¥यौं, यसले नेतृत्व पनि फेर्छ ।

वामपन्थी गठबन्धनलाई निरन्तरता दिन केले रोक्यो र ?

बाहिर सडकमा हाम्रैविरुद्ध ¥याली र विरोध गर्ने अनि यहाँचाहिँ हामीले नै उनीहरूलाई काँध थापेर माला लगाइदिनुपर्ने ?

जवाफले वाक्क आउलाजस्तो भयो । हो, कहीँ पनि पेशाकर्मी, व्यवसायी, व्यापारीको निर्वाचन भएकै छैन । यहाँ मात्रै कसरी रेडियोकर्मीको चुनाव हुन्थ्यो ! कांग्रेस, एमाले र माओवादीको त हो नि निर्वाचन हुने । खास रेडियोकर्मीको निर्वाचन त्यो हुँदै हैन । कुनै पनि रेडियोकर्मीलाई महिनौंदेखि भोट माग्न र नेताको दौराको फेर समाएर पछि लाग्न फुर्सद हुँदैहुँदैन । यदि, त्यति धेरै फुर्सद निकाल्न सक्छ भने त्यो रेडियोकर्मी रहिरहन सक्दै सक्दैन ।

अर्कोपटक फेरि जिज्ञाशा राखें, यो पटक उनले अंकको हिसाब सुनाए, एमालेसँग ११५ भोट छ, नयाँ शक्तिको ६ भोट । जम्मा १२१ भयो । २८७ मा १२१ भोट हुनेले कसरी  जित्छ ?

सायद अहिले कांग्रेस–माओवादी गठबन्धन ११ जनाले मत नहालेकाले हारेको भन्दै होलान् । अध्यक्षमा सुवाष खतिवडाले २४२ मत ल्याएर जिते, प्रतिद्वन्द्वी किशोरजंग थापाले २३२ ल्याए । अनुपस्थित ११ जना आएर किशोरको पक्षमा भोट हालेको भए नतिजा उल्टिने रहेछ ।
नतिजा आएको केही घण्टामा पराजित उम्मेदवार ओमप्रसाद घायलको स्टाटस देखियो, ‘एमालेसँग चुनाव जित्न सकिन्छ तर सबैभन्दा खतरा त यहाँ कांग्रेसभित्रका एमालेसँग हुनुपर्दोरहेछ । किनकि सामुदायिक रेडियो प्रसारक संघको हिजोको महाधिवेशनमा आफ्नो बर्चस्व हुँदाहुँदै प्रदेश नम्बर ४ को अध्यक्षमा म दुई मतले हारेको छु । यो निर्वाचनले अरू होशियार बनाएको छ । विजयी हुने सबै सहयात्रीप्रति बधाई ।’
हारबाट थप घायल भएकालाई अरू के भनौं, चुनाव भनेकै देखिएको नहुने– नदेखिएको हुने त हो !

उम्मेदवारै नभएका मात्रिका पौडेलको चाहिँ अकोराबको नतिजा लक्ष्यित स्टाटस यस्तो थियो, ‘१० वर्षसम्म कांग्रेस, माओवादी, मोर्चा मिलेर सबैखाले चुनावमा एमालेलाई परास्त गर्ने विमलेन्द्र निधिको अभियानलाई पहिलो धक्का लागेकै हो ?’

हुन त कुन पत्रकार कुन पार्टीको कार्यकर्ता भनेर चिन्न कुनै निर्वाचन नै आउनु पर्दैन । सामान्य राजनीतिक घटनाले नै अनुहार उघारिदिएको हुन्छ । निर्वाचन नै आएपछि त सबका सब निर्वस्त्र !

– दर्शन शर्मा


प्रतिक्रिया दिनुहोस !