कमरेडहरुवीच भएका खास खास कुरा

कमरेडहरुवीच भएका खास खास कुरा

लामो समयदेखि जारी नेकपा एमालेको विवाद हिजोदेखि थप गिजोलिएको छ । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष र विपक्षमा विभाजित एमाले विवाद यसअघि ओली र नेपाल पक्षका रुपमा देखिंदै आएकोमा हिजोदेखि नयाँ मोडमा पुगेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको संस्थापन पक्षकै ८ जना सांसदले लाइन लागेर देउवालाई भोट हालेपछि विवाद नयाँ रुपमा प्रकट भएको देखियो ।

अध्यक्ष केपी ओली र उहाँका खास भनिएका केही नेताहरुको अनिच्छाका बाबजुद दुवैतर्फका केही नेता पार्टी एकताको कसरतमै थिए । त्यहि बेला विश्वासको मतसम्बन्धी प्रस्ताव आएपछि नेपाल समूहका केही नेता धर्मसंकटमा परे । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा पेश गरिएको दाबी पत्रमा सही गरेका र अदालतमा परमादेश मागेका भीम रावल, सुरेन्द्र पाण्डे,घनश्याम भुसाललगायतका नेताहरु नै सरकारलाई विश्वासको मत नदिने निश्कर्षमा पुगेपछि नेपाल समूह दुई धारमा विभाजित भएको छ ।

अन्तिम सम्मको हिसाब गर्दा भीम रावल ओलीको तर्फबाट देउवालाई हुन्न भन्ने र घनश्याम भुसालचाहिँ हुन्छ भन्ने गलफत्तीमा पुगेपछि रावल मुर्मुरिएर पद त्याग्ने तहमा पुगे भने भुसालले बरु तटस्थ बस्नेमा अरुलाई सहमत गराए ।

‘संसद जोगिने सर्वोच्चको आदेशले मात्र हो कि संसदबाट पनि जोगिनुपर्ने हो ?’, ‘यदि प्रधानमन्त्री देउवाले विश्वासको मत नपाएको भए संसद विघटनमा जान्थ्यो । त्यस्तो अवस्थामा हामीमाथि नैतिक प्रश्न उठ्दैन र ? हिजो के भनेर अदालत गएको हो,त्यो हेर्नु पर्दैन ?’

यता,ओली खेमामा पनि नसोचेको पहिरो गएको छ । ओलीका खास विश्वासपात्र भनिएका ८ जना सांसद लाइन लागेर देउवालाई भोट दिन उभिए । ओली क्याबिनेटमा मन्त्री भैसकेका सांसद प्रेम आले र धनबहादुर बुढाले ओलीको निर्णयलाई साथ दिएनन् । आले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने जेठ ७ को क्याबिनेट बैठकमा थिए । लामो समय ओली क्याबिनेटमा पर्यटन राज्यमन्त्री रहेका बुढा पनि हिजो विश्वासको मतको पक्षमा उभिए । संसद विघटन गलत भयो भनेर कतै नबोलेका उनीहरुसहितका ८ सांसदले क्याम्प फेरेर संसद विघटनको बाटो छेक्न महत्वपूर्ण भूमिका खेल्दा अदालतमा हस्ताक्षर बुझाएका नेपाततर्फका ९ भाइ भने तटस्थ बसे ।

देउवालाई विश्वासको मत दिन हुँदैन भन्नेमा मिसिएका थिए, राष्ट्रपति कार्यालयलाई लेखिएको पत्र र अदालतको रिटमा हस्ताक्षर नगरेका योगेश भट्टराई र गोकर्ण बिष्ट पनि । अदालतको रिटमा धारा ७६ (५)को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलीय ह्वीप नलाग्ने जिकीर गरका रावल,पाण्डे र भुसाल देउवालाई समर्थन गर्दा पार्टी निर्णय विपरित हुने भन्दै तटस्थताको नीतिमा पुगेका हुन् । नेपाल समूहकै माधव नेपाल लगायतका अन्य नेताहरु भने संसद जोगाउनैका लागि भए पनि देउवालाई विश्वासको मत दिनुपर्ने अडानमा देखिए । अदालतको रिटमा समेत देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको र तत्कालीन विपक्षी गठवन्धनमा भएको सहमति विपरित विश्वासको मतको विपक्षमा उभिनु अनैतिक हुने उनीहरुको तर्क थियो ।

‘जो मान्छे एउटा मिशन बनाएर लागेका छन्, त्यसमा नैतिकता वा अनैतिकता, घात-अन्तर्घातको कुरा कहाँबाट आयो ?’, दस्तखत लिएर दौडिने अरु नेताहरुलाई नैतिकताको प्रश्न लाग्छ कि लाग्दैन ?’ 

नैतिकताको प्रश्न कसलाई ?

एमालेको आन्तरिक एकता कायम गर्न गठित पूर्वकार्यदलको सदस्यसमेत रहेका रावल,पाण्डे र भुसाल सर्वोच्चको आदेशबाट संसद जोगिएकाले आफूहरुको भूमिका सकिएको निश्कर्षमा पुगेका छन् । त्यसैले अबको प्राथमिकता पार्टी एकता जोगाउने तर्फ हुनुपर्ने उनीहरुको तर्क छ । तर,नेपाल समूहकै अन्य नेताहरु भने संसद जोगाउने जिम्मेवारी सांसदहरुको पनि हुने बताउँछन् ।

‘संसद जोगिने सर्वोच्चको आदेशले मात्र हो कि संसदबाट पनि जोगिनुपर्ने हो ?’, एक नेता भन्छन्, ‘यदि प्रधानमन्त्री देउवाले विश्वासको मत नपाएको भए संसद विघटनमा जान्थ्यो । त्यस्तो अवस्थामा हामीमाथि नैतिक प्रश्न उठ्दैन र ? हिजो के भनेर अदालत गएको हो,त्यो हेर्नु पर्दैन ?’

रावलले अध्यक्ष ओलीको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न प्रस्ताव गर्नुभएको थियो ।

सर्वोच्चको फैसलापछि संसद जोगियो,अब हामीले विश्वासको मत दिनु पर्दैन भन्नु गलत हुने उनको भनाइ छ । उक्त तर्कले आफूहरुको अहिलेसम्मको सबै प्रयास ओलीलाई सरकारबाट हटाउनका लागि मात्रै थियो भन्ने अर्थ लाग्नेतर्फ सचेत हुन उनले नेताहरुलाई आग्रह गरे ।

‘महन्थ ठाकुरहरुले अन्तिम समयमा मत दिने निर्णय नगरेको भए फेरि तेस्रोपटक संसद विघटनमा जान्थ्यो । जबकि हामी प्रतिनिधिसभा जोगाउनैका लागि भनेर पार्टीमा यत्रो संघर्ष गरिरहेका छौँ । हाम्रै टोलीले मत नहालेका कारण संसद विघटनमा जाँदा हामीमाथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’, उनले प्रश्न गरे, ‘त्यतिबेला यत्रो लडाई गरेर अदालतमा बुझाएको दस्तखतको अर्थ रहन्थ्यो ? त्यसैले उहाँहरुको उद्देश्य के रहेछ भन्ने प्रश्न उठेन र ?’

एउटा भेटेरान एमाले नेता वा कार्यकर्ता भएर सोच्दा देउवालाई विश्वासको मत नदिने निर्णय ठीकै लागे पनि देश,संविधान र लोकतन्त्र रक्षाको सवालमा दायाँबायाँ हेर्न नहुने उनको सुझाव छ । सँसद जोगाउन हस्ताक्षर आफू गर्ने अनि अरुले मत दिएर संसद जोगियो,मैले दिनै परेन भन्नु अनैतिक हुने भन्दै उनले असन्तुष्टि जनाए ।

माधव नेपाल समूहमा स्वयं नेता नेपाल,मुकुन्द न्यौपाने,विरोध खतिवडा,रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ,मेटमणी चौधरी,कृष्णलाल महर्जन,नीरादेवी जैरु,पुष्पा कर्ण,सरला यादव,राजेन्द्र पाण्डे,गङ्गालाल तुलाधर,अरुण नेपाललगायतका नेताहरु शुरुदेखि नै एउटै अडानमा छन् । बरु पद गुमाउन तयार हुने तर,आफ्नो अडान नछोड्ने तीमध्ये प्रतिनिधिसभाका नेताहरु विश्वासको मतको सवालमा पनि एकै ठाउँमा उभिए । अहिले तिनै नेताहरुमाथि नैतिकताको प्रश्न उठाइएको छ । ‘जो मान्छे एउटा मिशन बनाएर लागेका छन्, त्यसमा नैतिकता वा अनैतिकता, घात-अन्तर्घातको कुरा कहाँबाट आयो ?’,एक नेता भन्छन् ।

२० जना सांसदको सामूहिक राजीनामाको ड्राफ्ट पनि रावलले नै तयार गर्नुभएको बताइन्छ । त्यतिबेलाको एउटा बैठकमा उहाँले आफ्नो ल्यापटप खोलेर राजीनामाको ड्राफ्ट पढेर सुनाउनु भएको हो ।

त्यसो त,हस्ताक्षर लिएर शीतल निवास र सर्वोच्च अदालत जाने, विपक्षी गठवन्धनको बैठकमा पुग्ने नेताहरुले नै विश्वासको मत दिनेहरुलाई नैतिकताको पाठ पढाउनु आफैंमा नैतिकताको खडेरी हो भन्नेहरु पनि छन् । निर्णायक घडीमा अरुलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि छँदैछ । भन्छन्, ‘विश्वासको मत दिएकाहरुले भोलि सोहीअनुसारको परिणाम भोग्लान् ठीकै छ । एमालेमै रहलान् अथवा नयाँ पार्टी बनाउलान्,त्यो पनि पछिकै कुरा भयो । तर आज त उनीहरु आफ़्नो अडानमा प्रष्ट देखिए नि ! दस्तखत लिएर दौडिने अरु नेताहरुलाई नैतिकताको प्रश्न लाग्छ कि लाग्दैन ?’

रावलको धोका

नेपाल समूहमा हार्डलाइनर भनेर चिनिने भीम रावल पछिल्लो समय यू टर्न हुनुभएको छ । केपी प्रवृत्तिविरुध्द उग्र देखिनुभएका रावल पछिल्लो पटक एक्लै बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएपछि ‘यु टर्न’ हुनुभएको उहाँका अभिव्यक्ति र गतिविधिलाई नजिकबाट नियालेका नेताहरु बताउँछन् ।

जानकार स्रोतका अनुसार हिजो बेलुकीसम्म पनि वरिष्ठ नेता नेपालसँग निकट भनिएका केही नेतालाई रावलले अध्यक्ष ओलीको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न प्रस्ताव गर्नुभएको थियो । सबै जसोलाई उहाँले ‘ल है’ भनी सम्झाउँदै पनि आउनुभयो । तर उहाँको प्रस्तावमा अरु सहमत नहुने देखेपछि रावलले तात्तिँदै सांसद पदबाट राजीनामा दिएको निकटस्थहरु बताउँछन् । यद्यपि रावलको राजीनामालाई ‘नयाँ फण्डा’ भन्नेहरु पनि छन् । राजीनामा स्वीकृत भैनसकेकाले उहाँ अन्तिमसम्म त्यसैमा अडिग हुनुहुन्छ या ब्याक आउनु हुन्छ भन्ने कुराले बाँकी धेरै कुराको निर्क्योल गर्ने बताइन्छ ।

नेपाल समूहका अधिकांश नेताहरुको गुनासो के छ भने – रावलले धोका दिनुभयो । जनाइएअनुसार चैत्र ४ र ५ गतेको समानान्तर भेलाको कन्सेप्ट रावलकै थियो । कलंकीको मेघा पार्टी प्यालेसमा नेपालपक्षीय नेताहरुको भेला हुँदा अलग पार्टी घोषणा गरेर जानुको विकल्प नभएको बताउने उहाँ नै हुनुहुन्थ्यो । वडा तहसम्मै समानान्तर कमिटी बनाएर मात्र केन्द्रीय कमिटी बनाउने कि माथिबाट बनाएर तलसम्म जाने भन्नेमा माधव नेपालको प्रस्ताव प्रष्ट नआएको भनेर रावल र घनश्याम भुसालले नै त्यसको ब्याख्या गर्नुभएको थियो ।

त्यतिबेला माधव नेपालले ओली प्रवृतिविरुद्ध लडेकाले अहिले छुट्टै पार्टी बनाए एमालेमा हकदावी रहँदैन भन्दा रावलले नमानेको बताउनेहरु पनि छन् । २० जना सांसदको सामूहिक राजीनामाको ड्राफ्ट पनि रावलले नै तयार गर्नुभएको बताइन्छ । त्यतिबेलाको एउटा बैठकमा उहाँले आफ्नो ल्यापटप खोलेर राजीनामाको ड्राफ्ट पढेर सुनाउनु भएको हो ।

‘सांसदहरुको सामूहिक राजीनामाको ड्राफ्ट बनाउने भीम रावल नै हो । चैत ४ र ५ को भेलाबाट निस्केर बालुवाटारको संसदीय दलको बैठकमा जानुपर्छ भन्ने सांसदहरुलाई सिंहदरबारबाट फर्काउने पनि उहाँ नै हो । बरु हिजोदेखि नै एकै अडानमा रहनेहरु आज पनि त्यहि ठाउँमा छन् । बढी क्रान्तिकारीहरु पो थाकेको देखियो त’,ती नेता भन्छन् ।

टिप्पणीहरू