देश कट्टर मुस्लिम,नोटमा गणेश भगवान

देश कट्टर मुस्लिम,नोटमा गणेश भगवान

विश्वको कूल मुस्लिम धर्मावलम्बीमध्ये १३ प्रतिशतभन्दा बढी रहेको इण्डोनेशिया विश्वको तेस्रो ठूलो मुस्लिम बाहुल्य मुुलुक हो । धर्मको हिसाबले मुस्लिम भए पनि इण्डोनेशियाले आफ्ना मुद्रालगायतका कतिपय महत्वपूर्ण राज्यको परिचयमा हिन्दू भगवानको चित्र अंकित गरेको पाइन्छ ।

हुन तः इण्डोनेशियामा हिन्दू धर्मावलम्बीको ग्रन्थ रामायणमा वर्णित धेरै वटा ठाउँ छन्,जुन निकै प्रसिद्ध छन् । बाली त्यस्तैमध्येको एक हो । त्यहाँ अधिकांश हिन्दू मन्दिर र भगवानका मूर्ति छन् ।

इण्डोनेशियाको मुद्रा रुफिआमा बकायदा गणेश भगवानको चित्र अंकित छ । झण्डै ८८ प्रतिशत जनसंख्या मुस्लिम रहेको मुलुकले आफ्नो मुद्रामध्ये २० हजारको नोटमा भगवान गणेशको चित्र अंकित गर्नु हाम्रो जस्तो धर्मनिरपेक्ष मुलुकका नेताको निम्ति गतिलो पाठ भएको बताइन्छ ।इण्डोनेशियाली द्वीपसमूहमा पहिलो शताब्दीदेखि नै हिन्दूहरूको प्रभाव रहेको विश्वास गरिन्छ । संस्कृति र समकालीन समयमा हिन्दू देवीदेवता र आचरणका साथ स्थानीय अगाडि बढेको धेरै वटा अनुसन्धानबाट समेत पुष्टि भएको छ ।

सोही सन्दर्भमा कसैले त्यहाँका एक जना मुस्लिम मन्त्रीलाई अधिकांश मुस्लिम जनसंख्या भएको देशको मुद्रामा किन हिन्दू भगवानको चित्र अंकित गरिएको भनेर सोध्दा ‘हामीले हाम्रो धर्म परिवर्तन गरेका छौं,तर हाम्रा पुर्खाहरूलाई फेरेको होइन’ भन्ने जवाफ फर्काएका थिए ।

राजधानी जकार्ता स्क्वायरमा कृष्ण–अर्जुनको मूर्ति राखिएको छ भने इण्डोनेशियाली सेनाले हनुमानलाई आफ्नो प्रतिकको रूपमा मान्दै आएको छ । अर्को शहर बालीको पर्यटन लोगो पनि हिन्दू पौराणिक कथा र यसको प्रतीकात्मकताबाट प्रेरित देखिन्छ ।

त्यहाँको राष्ट्रिय ध्वजावाहक वायुसेवाको नाम गरुडा हो । जुन हिन्दू धर्मावलम्बीहरूले गरुडको नामले पुकार्छन् । त्यसैगरी यस्तै एक सय वर्षअघि स्थापित बाङडुङ इन्स्टिच्यूट अफ टेक्नोलोजीले पनि आफ्नो लोगोमा भगवान गणेशलाई नै राखेको देखिन्छ ।

टिप्पणीहरू