चितवनकी सुजिता र कञ्चनपुरकी निर्मला दुवैको हालत उस्तै

चितवनकी सुजिता र कञ्चनपुरकी निर्मला दुवैको हालत उस्तै

असार २० गते पूर्वी चितवनको सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको भिसेरा परीक्षणको रिपोर्ट आउन अझै ढिलाई हुने भएको छ ।

परीक्षणका लागि शव पठाइएको १० दिनभन्दा बढी समय बितिसक्दा पनि अझै रिपोर्ट बाहिर आएको छैन । अन्य परीक्षणबाट शवको सत्यतथ्य पत्ता लाग्न नसकेपछि आन्द्राभुँडीको परीक्षण गरिन्छ । त्यसलाई मेडिकल भाषामा भिसेरा टेष्ट भनिन्छ ।

सुजिताले असार ११ गते दिदीलाई आफू अपहरणमा परेको भन्दै फोन गरेकी थिइन् भने प्रहरीले अहिलेसम्म त्यसबारे पत्तो लगाएको छैन ।

उता हालका प्रधानमन्त्री शेर बहादुर देउवाकै क्षेत्र सुदूर पश्चिमको कञ्चनपुरमा झण्डै ३ वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले उक्त घटनाको बारेमा छानबिन गरिरहेको बताए पनि पीडित परिवारले भने न्याय पाउन सकेको देखिँदैन ।

२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारी नजिकै फेला परेको थियो ।

घटनाको दुई दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले ४१ वर्षीय दिलीपसिंह बिष्टलाई घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेको थियो ।

तर बिष्टको डीएनए परीक्षण निर्मलासँग नमिलेपछि घटना अन्यत्रै मोडिएको हो । त्यसपछि स्थानीयले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी थप छानबिनको माग गरेका थिए । सरकारले गठन गरेको विशेष छानबिन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियो ।

टिप्पणीहरू