आकाशमै अकस्मात आइलागेको अचम्म

  • राजेन्द्र स्थापित

अष्ट्रिया र चेकोस्लोभाकियाको अन्त्यपछि पनि साम्राज्य विस्तार गर्ने हिटलरको मनशाय शान्त भएन । जर्मन सेना लिथुआनिया र पोल्याण्डतर्फ बढेपछि ब्रिटेनले तटस्थताको नीति त्यागेर फ्रान्सलाई साथ दिने निर्णय लियो । इटली पनि जर्मनीको सिको गर्दै अघि बढ्यो र अल्बानियामाथि कब्जा जमायो । जर्मन सेनाले पोल्याण्डमाथि आक्रमण गरेपछि सन् १९३९ को सेप्टेम्बर १ मा विश्वयुद्ध प्रारम्भ भयो । किनभने जर्मनीले आक्रमण गरेमा पूर्ण सहयोग गर्ने आश्वासन फ्रान्स र ब्रिटेनले पोल्याण्डलाई दिइराखेका थिए । उता रुसले पनि फिनल्याण्डमाथि आक्रमण ग¥यो । जर्मनीले नर्वे र डेनमार्कमाथि नियन्त्रण जमायो । हल्याण्ड र बेल्जियम पनि जर्मनीको कब्जामा गयो । विश्वयुद्ध शुरु भएको ठीक नौ महिनापछि सन् १९४० को जुन ३ मा जर्मनीले फ्रान्समाथि आक्रमण ग¥यो । तीन हप्तापछि नै फ्रान्स पराजित बन्यो । त्यसपछि उत्साहित जर्मनीले अगस्त ८ मा ब्रिटेनमाथि आक्रमण शुरु ग¥यो । तर ब्रिटेनलाई पूर्णतः परास्त गर्न भने सकेन । त्यसपछि जर्मनीले ग्रिस र युगोस्लाभियामाथि नियन्त्रण कायम ग¥यो ।

जर्मनीले बाल्कन क्षेत्रका मुलुकलाई तहसनहस गर्दैगर्दा इटली अफ्रिकातर्फ बढ्यो । ब्रिटेनले दक्षिण अफ्रिकासित मिलेर लिबिया, सोमालिल्याण्ड र अबिसिनियालाई इटलीको पञ्जाबाट मुक्त पा¥यो । जर्मनी इटालियन सेनालाई सहयोग गर्न अफ्रिकातर्फ बढ्यो । सिरिया, इराक र इरानमाथि कब्जा जमाएर ब्रिटिश साम्राज्य ध्वस्त पार्न लागिप¥यो । जर्मन सैनिक जनरल इर्बिन रोमेल उत्तरी अफ्रिकामाथि पूर्णतः कब्जा जमाइसकेपछि मिश्रतर्फ बढे । ब्रिटिश पत्रकारहरूले ‘मरुभूमिको फ्याउरो’ नाउँ दिइएका उनी लिबियाको राजधानी त्रिपोली पुगे । इटलीलाई सहयोग पु¥याई गजालाको युद्ध (सन् १९४२ को मे २६ देखि जुन २१ सम्म) मा ब्रिटेनलाई पराजित गरे ।

ब्रिटेन र अन्य मित्रराष्ट्रको खराब दिन शुरु भयो । जर्मनीले रुस र जापानले पर्ल हार्बरमा गरेको आक्रमणपछि विश्वयुद्धमा रुस, जापान र अमेरिका पनि सम्मिलित भए । तर, पनि जर्मनी र इटलीको विजयी अभियान रोकिएको थिएन । यो अवस्थामा कमभन्दा कम वायुसेना प्रयोग गर्नु र पानीजहाजलाई भूमध्यसागरको बाटोबाट युद्ध सामग्री अफ्रिकी बन्दरगाहमा पु¥याउनुबाहेक अर्को विकल्प ब्रिटेनले देखेन । यो कार्य उसले बमवर्षक विमानका चार कर्मचारीलाई सुम्प्यो । उनीहरुले ११ हजार टनको एउटा ठूलो जर्मन जहाजलाई समुद्रमा डुबाउन सफल भए तर एकाएक जर्मन हवाईजहाजले आक्रमण ग¥यो । विमानको रक्षार्थ तम्तयार तोपबाट पनि आक्रमण भयो । ब्रिटिश हवाईजहाज गोलाबारीबाट क्षतविक्षत भयो । भूमध्यसागरमा खस्यो तर जर्मनी र इटलीको संयुक्त सेनाले विमानमा सवार चारैजना ब्रिटिश सैन्य अधिकृतलाई जीवितै उद्धार गरे ।

दुवै देश चाहन्थे युद्धबन्दी बनाइएका ब्रिटिश सैनिक अधिकृतहरुबाट महŒवपूर्ण सूचना प्राप्त होस् । त्यसैले चारैजनालाई इटलीको वायुसैन्य अड्डामा लाने आदेश भयो । इटलीको लडाकु जहाज साभोइया एसएम– ८९ का कप्तान ले. जि. अल्कारोट्टीलगायत युद्धबन्दीलाई सुरक्षित यथास्थानमा पु¥याउने जिम्मा पाएका चारजना इटलीका हवाई सैन्य अधिकृतहरु आदेशबाट खुशी भएनन्, कारण चारैजनाको बिदा स्वीकृत भइसकेको थियो । तर परिवारसँग बिदा मान्न नपाउने भएकोमा दुःखी देखिन्थे । सन् १९४२ को नोभेम्बर । दिउँसोको समय ।

साभोइया विमान लगभग तीन हजार फुटको उचाइमा भूमध्यसागरमाथि उड्दै थियो । मौसम सामान्य थियो । कहिले आकाश बादलले ढाक्थ्यो त कहिले निर्मल हुन्थ्यो । विमानमा सवार इटलीका सैनिक जवान २१–२२ वर्षका थिए । स्वभावैले उनीहरु बाहिरको प्राकृतिक दृश्यमा हराउन थाले । उता बन्दी बनेका ब्रिटिश सेना अलिकति भयभित देखिन्थे । इटली पुगेपछि आफूहरुमाथि कस्तो व्यवहार होला भन्ने पूर्ण जानकारी थियो । पहिला सोधपुछ कक्ष, त्यहाँबाट यातना कक्ष ! जीवित छोडियो भने पनि विश्वयुद्ध नसकुञ्जेल बन्दीगृहमा नारकीय जीवन व्यतित गर्नुपर्ने जस्ता शंका–आशंका मनमा खेलाउँदै थिए । त्यसो त शत्रुको कब्जामा परेपछि पनि बचेर भाग्ने अनेक उपाय सिकाइएको थियो । तर, उड्दै गरेको विमानबाट भाग्ने उपाय थाहा थिएन । तसर्थ सबै चिन्तित थिए र उपाय पनि सोच्दै थिए ।

विमान चालक र सहचालक ककपिटमा थिए । इञ्जिनियर दायाँतर्फ र रेडियो अपरेटर हेडफोन र टेलिफोनको माउथ पिस (माइक्रोफोन) लगाई बसेका थिए । पछिल्तिर ब्रिटिश युद्धबन्दी थिए । तीमध्येका एकजना बमवर्षक विमानका क्याप्टेन थिए, ६ फुट उचाइका हृष्टपुष्ट युवक । दक्षिण अमेरिकी गोरा । साथमा थिए सामुद्रिक अन्वेषक, अर्का इञ्जिनियर र चौथो तोप चलाउने सैनिक । चारजनामा एकजना मात्र अंग्रेज थिए । जो अघिल्लो दिन मात्र पत्नीसँग म्वाइँ खाएर र परिवारबाट बिदा लिएर युद्धमैदानमा खटिएका थिए । ब्रिटिश अधिकृतहरुले चारैतर्फ आँखा डुलाए । एकजनाबाहेक इटलीका अरु सैनिकसित हतियार नभएको अड्कल काटे ।

संख्यामा चार थिए भने इटलीका पाँच (बन्दीहरुको सुरक्षा र रेखदेख गर्न खटाइएका एकजना सैनिकसमेत) थिए । ब्रिटिशहरुले सोचे कि यदि बन्दुक समातेका एकजनालाई नियन्त्रणमा लिन सकिए बाँकीलाई अँठ्याउन गाह्रो पर्ने छैन । चारैजनाले इशारैइशारामा योजना बनाए । इटलीका सैनिकहरु उक्त योजनाप्रति बेखबर थिए । क्याप्टेन ओलिभर लियोले आँखा झिम्क्याउँदै इशारा गर्नेबित्तिकै तोप–सैनिकले बन्दुक समातेर बसेकामाथि आक्रमण गरे । अर्कोले रेडियो अपरेटरलाई भुइँमा पछारे । ब्रिटिश सैनिकहरुले बिनाआवाज बनाएको योजना भएकाले इटलीका सैनिकहरुले सतर्कता अपनाउनै पाएनन् । त्यतिमात्र होइन, पाइन्टको पछाडि खल्तीमा पेस्तोल भिरेका सैनिकले आफूसँग हतियार भएको समेत बिर्से । हलचल गर्नै लाग्दा पछाडि बसेका क्याप्टेनले पेस्तोल खोसे । सोही पेस्तोलले टाउकोमा यति जोडसँग प्रहार गरे कि इटलीका सैनिक बेहोस भए ।

धकेलाधकेल र मुक्कामुक्कीपछि ब्रिटिश सैनिकहरुले टाउको उठाएर हेरे । उनीहरुको उम्लिएको रगत छिनमै चिसो भयो किनभने विमानका क्याप्टेनको हातमा पेस्तोल थियो र उनी चारैजना ब्रिटिशलाई निशाना साँधेर उभिएका थिए । पाँच जनामध्ये एकजनासँग मात्र हतियार भएको ब्रिटिश सैनिकको अनुमान गलत सावित भयो । इटलीका सैनिकबाट छिनेर लिएको पेस्तोल इटलीका क्याप्टेनतर्फ थियो भने क्याप्टेनको पेस्तोल चारैजना ब्रिटिश सेनातर्फ । तर, यसैबीच विमान चालकको नजिक बसेका इञ्जिनियर ‘यो केको कोलाहल ?’ भन्दै उठे । तर, लडखडाउँदै आफ्नै क्याप्टेनमाथि लडे । दुवै पछारिए । क्याप्टेनको हातबाट पेस्तोल झ¥यो ।

ब्रिटिश सैनिकले तत्काल टिपे । विमानलाई पूर्णतः नियन्त्रणमा लिइसकेपछि चार जनामध्ये एकजनाले ककपिटभित्र घुसेर विमान चालकको भूमिका निभाए । दोस्रोले मार्गनिर्देशन गरे । तेस्रो पेस्तोल तानेर पाँचैजनालाई तर्साई बसे । तर, ब्रिटिशहरु नक्सा नपाएर धेरैबेर अल्मलिए । ब्रिटिश सेनाको हवाई अड्डा भएको माल्टा जान चाहन्थे तर विमान कुन दिशातर्फ गइरहेको छ, पत्ता लगाउन गाह्रो प¥यो । आफूहरुलाई पक्कै पनि इटली लान खोजेको अनुमान गरे । इटलीको तट देखापरेपछि सोही समुद्रको किनारैकिनार दक्षिणको सिसिली द्विप पुग्ने र त्यहाँबाट माल्टातर्फ रवाना हुने योजना बनाए ।

तर मिटरले पेट्रोल सकिन लागेको संकेत दियो । रिजर्भमा पेट्रोल हुनुपर्ने थाहा हुँदाहुँदै रिजर्भको तेल प्रयोगमा ल्याउने स्विच फेला पार्न सकेनन् । पाँचैजना इटलियन सैनिकको हात विमानको सिटको पेटीले बाँधिराखेको थियो ।

इञ्जिनियरले जब इन्धन सकिन लागेको थाहा पाए, सहयोग गर्ने वचन दिए । ब्रिटिशले हात–खुट्टा खोलिदिए । उनले रिजर्भ पेट्रोल भएको ट्यांकीको स्विच अन गरेर विमानलाई खस्नबाट बचाए । यसबीच विमान चालकले एउटा जर्मन ‘टोही’ विमान पछाडि आइपुगेको संकेत पाए । रेडियो अपरेटर र तोपसैनिकले विमानमा जडित तोप तलमाथि गरेर ‘हामी मित्र हौं’ भन्ने संकेत दिए । संकेत पाएर जर्मन विमान फक्र्यो । ब्रिटिश सैनिकहरुले सन्तोषपूर्वक लामो स्वास फेरे । एकछिनपछि इटलीको तट देखाप¥यो । विमानलाई न धेरै माथि, न धेरै तल पारेर उडाइयो । पाँच जनामध्येका एकजना इटलीका सैनिकको सहयोगमा नक्शा ठीक पारियो र विमानलाई सिसिलीतर्फ बढाइयो । माल्टा सिसिलीदेखि ६० मिल टाढा । तर, त्यसैबेला फेरि इटलीका इञ्जिनियरले रिजर्भको इन्धनले माल्टासम्म पु¥याउँछ कि पु¥याउँदैन भन्न सकिन्न भनी तर्साए । फेरि इटलीका सैनिक क्याप्टेनले सावधान पारे कि विमानलाई माल्टा लानु खतरा मोल्नु हो किनभने इटलीको झण्डा भएको विमानलाई देख्नेबित्तिकै ब्रिटिश सेनाले खसाल्न बेर हुन्न । त्यसबेला ब्रिटिशहरुका लागि माल्टा सबैभन्दा सुरक्षित स्थान थियो । अरु विकल्प थिएन ।

विमान माल्टाको खोजीमा अघि बढ्दै थियो । माल्टाको सुरक्षार्थ उडान भर्दै गरेको ब्रिटिश शाही वायुसेवा र आरएएफको लडाकु जहाजबाट बच्ने उपाय सोच्दै थिए क्याप्टेन । राडारको नजरबाट बच्न त्यत्तिकै गाह्रो । त्यसैबेला रेडियो बिग्रियो । ब्रिटिश सैनिकहरु पसिनापसिना भएको देखेपछि इटलीका क्याप्टेनले सहयोग गर्ने भए । ब्रिटिशहरुको निम्ति उनको सहयोग लिनुको विकल्प थिएन किनभने त्यसबखत त्यहाँ त्यो व्यक्तिले विमान उडाउनु जरुरी थियो, जो अनुभवी छ । त्यसैले डोरी खोलेर क्याप्टेनलाई मुक्त गरियो । ब्रिटिश क्याप्टेनले भने, ‘हामीले संकेत गरेपछि मात्र विमान तल झार्नू ।’

एकछिनपछि माल्टाको राजधानी देखाप¥यो । विमान बेतोडले भुइँतर्फ बढिरहेको थियो । ठीक त्यसैबखत ब्रिटिश लडाकु विमान इटलीको विमानलाई घेर्न आइपुगे । केही संकेत गर्न नपाउँदै दनादन गोली प्रहार भयो । संकेत दिनलाई ब्रिटिश सेनासँग कुनै वस्तु थिएन । उनीहरुले लगाइराखेको सेतो कमिज च्यातेर बाहिर हल्लाउन थाले । संकेत पाएपछि इटलीका क्याप्टेनले विमानलाई विस्तारै झारे । तर, त्यतिञ्जेलमा विमानको पखेटालगायत अन्य भागमा गोलीले प्वाल पारिसकेको थियो । तर, किन हो ब्रिटिश विमानले चालक बस्ने स्थानमा गोली हानेको थिएन । त्यता गोली हानेको भए विमान विष्फोट हुन्थ्यो र सबै यात्रु मृत्युको मुखमा पुग्थे ।

विमान सिधै समुद्रमा खस्यो । भित्रका सबैजना हामफालेर बाहिर निस्के र पौडेर किनारतर्फ अघि बढ्न थाले । ब्रिटिश विमान पनि सेतो कपडा हावामा हल्लाउँदै फक्र्यो । एकछिनपछि एउटा डुंगा तटबाट हिँड्यो । सबैको सकुशल उद्धार भयो । आफूहरुले बचाएको जहाजमा आफ्नै सैनिक अधिकृतहरु पनि भएको थाहा पाएपछि सबै दंग परे । यो खबर तुरुन्तै पठाइयो । उताबाट सबैलाई ससम्मान लण्डन ल्याउने व्यवस्था मिलाउन आदेश भयो । ब्रिटिश सैन्य अधिकृतहरु लण्डनमा अभिनन्दित भए । इटलीका सैन्य जवानलाई युद्धनीतिअन्तर्गत बन्दीको रुपमा जेल पठाइयो ।

टिप्पणीहरू