हिजोको राजीनामा भीम रावलको नयाँ ‘स्टण्ट’,कागजात फिर्ता नगरेको काँग्रेसको आरोप

हिजोको राजीनामा भीम रावलको नयाँ ‘स्टण्ट’,कागजात फिर्ता नगरेको काँग्रेसको आरोप

हिजो प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहँदा बाहिर एमाले उपाध्यक्ष भीमबहादुर रावलले सञ्चारकर्मीहरुमाझ उभिएर सांसद पदबाटै राजीनामा दिएको निवेदन पढेर सुनाउनुभयो । त्यति नै बेला उहाँलाई पछाडिबाट स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यसो नगरौं,भित्र जाऊँ भनिरहनुभएको थियो । तर रावलले झोक्किँदै छाड्नुस् भनेर पाण्डेको हात झट्कार्नुभयो ।

पहिले केपी प्रवृत्तिविरुद्ध उग्र देखिनुभएका रावल पछिल्लो पटक एक्लै बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएपछि लगभग ‘यु टर्न’ हुनुभएको उहाँका अभिव्यक्ति र गतिविधिलाई नजिकबाट नियालेका कमरेडहरुले बताउन थालेका छन् । अस्ति बेलुकीसम्म वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट भनिएका केही नेतासँग रावलको ओरिएन्टेशन अध्यक्ष ओलीको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्ने भन्ने नै थियो । सबै जसोलाई उहाँले ‘ल है’ भनी सम्झाउँदै आउनुभयो ।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत हिजो बिहान एक्कासी लिने निर्णय गरेपछि सबैजसो असमञ्जस्यमा परे । त्यो क्रममा रावल छुट्ने कुरै भएन । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने योजनामा अरु सहमत नहुने देखिएपछि हिजो रावलले तात्तिँदै राजीनामाको ‘स्टण्ट’ प्रयोग गर्नुभएको निकटस्थहरुले बताएका छन् । एक जना नेताको भनाईमा उक्त कार्य रावलको नयाँ ‘फण्डा’ हो ।

यसअघि मेघा पार्टी प्यालेस,कलँकीमा नेपालपक्षीय नेताहरुको भेला हुँदा अलग पार्टी घोषणा गरेर जानुको विकल्प नभएको बताउने उहाँ नै हुनुहुन्थ्यो । नयाँ पार्टी गठननिम्ति रावलले विधानसमेत बनाउनुभएको थियो । विधान बनाउन आफू अनुकूल मान्छेको खोजीसमेत उहाँ एक्लैले गर्नुभएको हो । त्यसैगरी पाँच दलको गठबन्धन बनाउने भन्दै तयार पारिएका काँग्रेसको भागको कागजातसमेत रावलले लगेर आफूलाई नदिएको उताका महामन्त्री पूर्णबहादुर खड्काले एकाध नेतासँग उतिबेलै बताउनुभएको थियो ।

शनिबार रातिसम्म नेपाल निकट उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरुले अध्यक्ष ओली समूहका उपमहासचिव विष्णु पौडेलहरुलाई तत्काललाई पार्टीको बैठक रोक्न र संसदको विश्वासको मत लिने प्रस्तावलाई पनि केही दिन पर धकेल्न आग्रह गरेको बुझिएको छ ।

बुधबार दिउँसो बालुवाटारबाट बालकोट सरेपछि अध्यक्ष ओली आफ्नै घरको कौसीमा बाहेक अन्य कतैपनि सार्वजनिक टिप्पणीको लागि प्रस्तुत हुनुभएको छैन । हिजो संसदको बैठकमा समेत उहाँ अनुपस्थित भएर मतदानको प्रक्रिया शुरु हुनु केही बेरअघि मात्र सदनभित्र प्रवेश गर्नुभएको थियो । कसैसँग एक शब्द नबोली नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुरुमा हात मिलाएर बधाई भन्नुभएको नजिकैका काँग्रेसीले सुनेका थिए ।

टिप्पणीहरू