यस्ता ढँटुवाबाट पार लाग्दैन

यस्ता ढँटुवाबाट पार लाग्दैन

– राजकुमार थापा, अधिवक्ता, राजनीतिकर्मी

नेपालको पहिलो महिला कानुन व्यवसायी शान्तिदेवी थापासहित श्रीमान् / श्रीमती नै वकिल पृष्ठभूमिका । जसपाले अन्याय ग¥यो भन्दै कहिले निर्वाचन आयोग त कहिले सर्वोच्चतिर धाइरहेका छन् । थापासँग छाता चुनावचिह्न भएको जनशक्ति पार्टी थियो । राजपाले छाता कब्जा गरेसँगै आयोग, महन्थ, राजेन्द्रहरूलाई विपक्षी बनाएर, सर्वाेच्चमा मुद्दा दायर गरेकामा चन्दा चौधरीले फकाइन्, पार्टी एक गर्न । पार्टी एक हुँदा केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तहसम्म १० प्रतिशत राजकुमारहरूको तर्फबाट प्रतिनिधित्व हुने शर्त थियो तर कार्यान्वयन भएन । राजपा उपाध्यक्ष र कानुनी फाँट प्रमुख रहेका थापाले जसपा बनेपछि झन् कुनै स्थानै पाएनन् । चुनाव चिह्न पाउनका लागि आफूलाई प्रयोग गरेर आज पार्टीविहीन बनाइएको यी कानुन व्यवसायीको गुनासो छ । एक कार्यकाल सर्वोच्च बारको सदस्य, एक कार्यकाल कोषाध्यक्ष पनि चलाएका थिए यिनले ।

– हरि गजुरेल

सर्वाेच्चको फैसला कस्तो लाग्यो ?

– सर्वाेच्चबाट आइसकेको फैसला मान्दिनँ भन्न त मिलेन तर यसले राष्ट्रपति र सार्वभौम सांसदको अधिकारक्षेत्र मिचेको छ । प्रधानमन्त्री नियुक्त गर्ने संसद्को सिफारिसमा राष्ट्रपतिले हो तर यहाँ त सीधै अदालतले प्रधानमन्त्री नियुक्त गरिदियो । शेरबहादुर देउवाले दाबा मात्र गर्नुभएको थियो । संसद्मा गएर बहुमत प्राप्त गर्नुपथ्र्याे तर सर्वाेच्चबाट दुई दिनभित्र नियुक्ति दिन आदेश आएको छ ।

मुलुक फेरि अस्थिरतातिर जान्छ भनिँदै छ । के देख्नुहुन्छ अबको परिदृश्य ?

– प्रधानन्यायाधीशको अधिकार राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा बढी होइन । व्याख्या गर्ने भन्दैमा संविधानवाद उल्लंघन गर्ने, राष्ट्रपति र संसद्को राजकीय सत्ता मिच्ने कुरा हामीलाई मान्य हुँदैन ।

आधिकारिकतासम्बन्धी लफडामा छ जसपा, तपाईं यही बेला सर्वाेच्च अदालत पुग्नुभएको छ । पार्टी खारेजीको माग राख्दै, मुद्दा किन हाल्नुभएको हो ?

– संविधानको धारा ६९ मा महिला ३३ प्रतिशत, जनजाति, आदिवासीलगायतको विभिन्न क्लष्टर छ । सबैलाई समेटेपछि मात्र दल दर्ता हुन्छ भनिन्छ । दल दर्तासम्बन्धी ऐन ०७३ का दफाहरू छन् । निर्वाचन आयोगले ती दफाहरू हेरेन । एमाले र माओवादी केन्द्र एक हुँदा नेकपा नाम दियो । उसैगरी राजपा र समाजवादी पार्टी एक भएर बनेको जसपाको निवेदन ०७७ वैशाख १० मा लियो । ४५ दिनभित्र अर्थात् जेठ २५ मा हामीले निर्वाचन आयोग गएर ५३ जना कार्यकारिणी समितिको नाम दियौं । त्यहाँ ३३ प्रतिशत महिला रहेनन्, जम्मा ८ जना मात्र थिए । जबकि कम्तीमा १७ जना हुनुपथ्र्याे । जनजाति, दलित, शहीदबाट त कसैको प्रतिनिधित्व नै भएन ।

असार २४ गते जसपा दर्ता भयो । जसपा आउने महाधिवेशनबाट समायोजन हुने गरी हाललाई दर्ता कायम गरिएको छ भन्यो आयोगले । अधिवक्ता पास नगरी बार काउन्सिलको जाँच दिएजस्तो भएन र यो ? अनि अर्काे पटक पास गर्ने गरी हाल तपाईंलाई अधिवक्ताको लाइसेन्स दिएको छ भनेको जस्तो भएन ? म यो वर्षको ट्याक्स अर्काे वर्ष तिर्छु, अहिले मलाई कर चुक्ता गरेको प्रमाणपत्र दे भन्न पाइन्छ ? असार ९ गते हामीसहित राष्ट्रिय युवा संघ, रामकुमार ओझासहित ६ जना भएर आयोगमा निवेदन दियौं । संवैधानिक प्रक्रिया पूरा गरेर जसपालाई आधिकारिकता दिनुहोस् भन्न गयौं तर सुनुवाइ भएन । असार २४ गते आयुक्त ईश्वरीप्रसाद पौडेलले एउटा टिप्पणी उठाएको भरमा आदेश आयो । अहिले जसपाको विवादमा झैं इजलास गठन गरेर समाधान दिनुपर्दैनथ्यो ?

जसपाको उपाध्यक्ष नपाएको कारण मुद्दा मामिलामा लाग्नुभएको हो ?

– जसपा भन्ने दलमा ५३ जनाभन्दा छैनन्, आयोगले चिन्ने ।

अधिवक्त पास नगरी बार काउन्सिलकाे जाँच दिएजस्ताे भएन र याे ? उहाँहरूले चित्त सानाे पार्नुभयाे, भएकाेलाइ पनि हटाइदिनुभयाे । ट्याक्स अर्काे वर्ष तिर्छु अहिले कर चुक्ताकाे प्रमाणपत्र दे भन्न पाइन्छ ?

आफ्नै व्यवसाय गरेर खाइहनुभएको मान्छे, जसपातिर लाग्नुपर्ने त्यस्तो बाध्यता के प¥यो ?

– संसारमा राजनीति गर्ने अधिकांश कानुन व्यवसायी छन् । जस्तो भारतको राष्ट्रपति वरिष्ठ अधिवक्ता, सर्वाेच्चले हालै प्रधानमन्त्री बनाएको शेरबहादुर देउवादेखि, महन्थ ठाकुर, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, ४२८ लाइसेन्स नम्बर रहेका राजेन्द्र महतोदेखि अमेरिकाको राष्ट्रपतिसम्म अधिवक्ता छन् । संविधान देशको मूल कानुन, दस्तावेज हो । त्यसको सबैभन्दा जानिफकार अधिवक्ता नै हुन्छ । राजनीति र संविधान सबैभन्दा राम्रोसँग बुझ्ने वकिलले नै हो । चाणक्यले भनेका छन्, तपाईं इमान्दार हो भने राजनीतिमा आउनुहोस, इमान्दार मान्छे राजनीतिमा नआउने हो भने बेइमानबाट शाषित हुन तयार हुनुहोस् ।

जनशक्ति पार्टी कुन उद्देश्यले दर्ता गर्नुभयो ? फेरि किन राजेन्द्र महतोहरूलाई बुझाउनुभयो ?

– नेपाली कांग्रेसबाट फुटेर आउनुभएका रामकुमार ओझाको अध्यक्षतामा दर्ता भएको पार्टी हो यो । ०७० सालको संविधानसभा निर्वाचनताका उहाँसँग एउटा पार्टी थियो, म शिवसेना नेपालको संस्थापक उपाध्यक्ष । शिवसेना छाडेर राष्ट्रिय जनता दल दर्ता गरेका थियौं । पछि नाम परिवर्तन गरेर जनशक्ति पार्टी बनायौं, छाता चुनाव चिह्न थियो । राजपा एकीकरण भएको बेला, उनीहरूसँग हात चुनाव चिह्न थियो, स्थानीय तहको निर्वाचन हुँदै थियो । आयोगले हाम्रो चुनाव चिह्न राजपालाई दिएपछि न्याय खोज्दै सर्वोच्च गयौं ।

चन्दा चौधरीको विशेष आग्रहमा ०७४ कात्तिक ९ गते पार्टी एकीकरण भयो । राजपाको हरेक तहमा जनशक्ति पार्टीलाई १० प्रतिशत दिने र छाता चिह्न हामीले राजपालाई दिने सहमति थियो । पार्टी एक भएर जसपा बनेपछि महन्थ ठाकुरको भागमा २६ जना, उपेन्द्र यादवको भागमा २५ जना र हामीलाई कार्यकारिणीमा २ जना माग्यौं, उहाँहरूले चित्त सानो पार्नुभयो, भएको रामकुमार ओझालाई पनि हटाइदिनुभयो ।

निर्वाचन आयोगको भूमिका कस्तो लाग्दै छ ?

– नेपालको संवैधानिक निकायमा नियुक्ति पाउन एउटा–एउटा राजनीतिक ठप्पा लाग्नैपर्ने हुन्छ । जस्तो लक्ष्मण अर्यालदेखि मनोज शर्मासम्म । उहाँहरूको योग्यतामाथि होइन, पृष्ठभूमिमाथि प्रश्न उठाएका हौं । अख्तियारमा ठुल्ठूला भ्रष्टाचारको फाइल तामेलीमा राखिन्छ । निर्वाचन आयोगमा रामप्रसाद भण्डारी जानुभएको छ, हाम्रै साथी तर एउटा एउटा दल समाएर । त्यही कारण उहाँहरूबाट स्वतन्त्र निसाफको अपेक्षा गर्न सकिएन बरु महान्यायाधिवक्ता भन्दा चर्काेसँग सरकारप्रति आबद्ध भएर फैसला सुनाउन थाल्नुभयो ।

तपाईंलेजस्तै मागदाबी गर्ने हो भने एमाले, माओवादी, कांग्रेस, राप्रपा कुनै पनि दलमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुग्दैन त ?

– त्यसकारण यो मुद्दामा हामीले मागेझैं फैसला भयो भने एउटा नजिर बन्छ । र, निर्वाचन आयोगले गरेको निर्णय अवैध ठहर्छ ।

तपाईं जसपा खारेजीको माग लिएर रामशाहपथ पुग्नुभएकै दिन राजपा दल दर्ताका लागि कान्तिपथ पनि जानुभएको छ । तपाईंहरू कसैबाट परिचालित भएको त होइन ?

– महन्थ ठाकुरको पक्षमा म भएको भए रिटै हाल्दिनथेँ । जसपाको कानुनी विभागको प्रमुख पनि ! यो त महन्थ ठाकुरको विरुद्धमा छ । कानुन व्यवसायीको हैसियतले जसपा नै गलत छ, राजपा र समाजवादी अलग–अलग रहनुपर्छ भन्छु । जति जालझेल, किर्ते, खरिद बिक्री गरे पनि ५३ जना कार्यकारिणी सदस्यमा उपेन्द्र पक्षको बहुमत छ । कागजातले चिन्ने २६ जना राजपातिर, २५ जना उपेन्द्र पक्षधर हुन्, तीमध्ये ३ जना लिएर महेन्द्रराय यादव उपेन्द्रतिर लागेका कारण उनीहरू स्पष्ट बहुमतमा छन् ।

तपाईंजस्तो बौद्धिक त जसपाबाट अन्याय भागेर अहिले अड्डा अदालत चहार्दै हुनुहुन्छ, त्यस्तो पार्टीबाट मधेसी जनताले कस्तो मुक्ति पाउलान् ?

– राजपाको ८ सय जना केन्द्रीय सदस्यलाई ढाँटेर २६ जनालाई राख्नुभयो । आफ्नै पार्टीको केन्द्रीय सदस्यलाई ढाँट्ने, हामीलाई कन्भिन्स गर्न नसक्ने नेता विशेष गरेर महन्थ ठाकुरले हिमाल, पहाड र तराईका जनतालाई कसरी कन्भिन्स गर्लान् ? उनीबाट राष्ट्रिय राजनीति सम्भव छैन, उपेन्द्र यादवसँग मेरो संगत छैन ।

टिप्पणीहरू