अनुजा बानियाँलाई बिर्साउने मान्छे

यो समाजमा इमानदार मान्छेको पनि कमी छैन भन्ने उदाहरण बने यो साता उदयपुरका सुरेश विक । साताभरि स्थानीय तथा राष्ट्रिय रेडियो, पत्रपत्रिकामा छाइरहे । बसमा छाडिएको एक लाख रकम यात्रुलाई इमानदारीसाथ फिर्ता गरेपछि स्याबासी पाइरहे । र, बसका स्टाफप्रति बनाइएको धारणामा केही परिवर्तनको महसुस गराए ।

शहर–बजारमा नगद साथमा नलिई आधुनिक प्रविधिमार्फत कारोबार हुन्छ । तर, गाउँघरमा त्यो सम्भव छैन । घरैपिच्छे वैदेशिक रोजगारमा पुगेका छोरा÷छोरीले सदरमुकाममा आइएमई गरेर पैसा पठाउँछन् । त्यो रकम आफ्नो घरसम्म साथमा बोकेर पुग्नुपर्छ ।

उदयपुरको साउने गाविस–१ दियालेका होमबहादुर मगरलाई साथमा भएको एक लाख कसरी सुरक्षित घरमा पु¥याउने भन्ने चिन्ता थियो । ६३ वर्षीया श्रीमती बालकुमारीसँगै मिलेर गाईघाटको ग्लोबल आइएमईबाट नगदसहित घर पुग्दा, पैसाको थैलो बसमा छुटेको थाहा पाए । त्यसपछि दम्पतीबीच झगडा मात्र होइन, रुवाबासी नै चल्यो ।

खोटाङको रेग्मीटारसम्म सञ्चालन हुने बसमा गाईघाटबाट चढेको मगर दम्पतीलाई यातायात सेवाको नाम, नम्बरसमेत हेक्का थिएन । आफ्नो नगद र अन्य सामानको खोजी गर्न जान्ने÷बुझ्नेलाई भिडाए ।

यता, बसका सहचालकले रेग्मीटार पुगेर सबै यात्रु झरिसकेपछि सलमा बेरेर पोको पारेको केही सामान भेट्टाए । विकले इमानदारीपूर्वक हिमाली यातायात व्यवसायी संघलाई जिम्मा लगाइदिए ।

आफू चढेको बसको जानकारीसमेत नभएका मगरदम्पती, साँझ हिमाली यातायात संघमार्फत आफ्नो हराएको नगद र सामान फिर्ता हुने जानकारी पाएपछि ढुक्क भए । सो रकम पत्रकार सम्मेलन गरी भोलिपल्ट संघका संरक्षक महेन्द्र राईले बालकुमारी मगरलाई जिम्मा दिए । साथै, पैसा फेला पारेर इमानदारीपूर्वक जानकारी दिई फिर्ता गर्ने सहचालक विकको प्रशंसा गर्दै उनलाई संघको तर्फबाट तीन हजार नगदले पुरस्कृत गरे ।

पैसा हात लागेपछि बालकुमारीले खुशीका आँसु बगाउँदै संघ र भेट्ने सहचालक विकलाई धन्यवाद दिइन् । सो नगद छोरा भीमबहादुरले कतारबाट पठाएका थिए । खोटाङ जिल्लाको च्यास्मिटार–९ घर भएका विकले दुई वर्षदेखि बसमा काम गर्दै आएका छन् ।

टिप्पणीहरू