नियुक्तियता विवाद कता–कता

नियुक्तियता विवाद कता–कता

दाङ – कुनै समय दाङ जिल्लामा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालय विवादको घेरामा रहने गथ्र्याे । अहिले त्यसको रोग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरेको छ । प्रतिष्ठानकै कारण विवादमा परेको संस्था हो उद्योग वाणिज्य संघ । संघका अध्यक्ष समेतलाई समेटेर प्रतिष्ठानले सल्लाहकारको ठूलै टिम बनाएपछि विवाद शुरु भएको हो ।

प्रतिष्ठानले संघका निर्वतमान अध्यक्ष नारायण भुषाललगायतलाई सल्लाहकारको रुपमा व्यक्तिगत हिसाबले राखेको छ । संघसंस्थालाई प्रतिनिधिमूलक रूपमा राखिएको छैन । सल्लाहकार समिति गठन गरिएको एक साताभन्दा लामो समयपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर सल्लाहकारमा नबस्ने घोषणा गरेको छ ।

दाङ जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा प्रतिष्ठान सरोकार समिति गठन गरिएको थियो । यसले प्रतिष्ठानलाई तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताललाई हस्तान्तरण गर्न भूमिका खेल्यो । केही समयपछि समिति निष्क्रिय भयो ।

राजनीतिक दलका प्रतिनिधिसमेत रहेको सरोकार समितिबाट दलका प्रतिनिधि नरहने घोषणा गरियो । करिब निष्क्रिय रहेको प्रतिष्ठान सरोकार समिति कायमै रहेको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीले विज्ञप्ति जारी गरेर सल्लाहकारमा नबस्ने घोषणा गरे । बुढाथोकीलाई संस्थागत नभई व्यक्तिगत रूपमा सल्लाहकार राखेको भन्दै अन्य पदाधिकारीले बुढाथोकीद्वयले संघको लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल आचार्यले प्रतिष्ठानलाई राम्रो बनाउन भूमिका खेल्नुपर्नेमा अध्यक्ष र महासचिवले लेटरप्याडको दुरुपयोग गरेको बताए । शुरुमा त्यसलाई विरोध नगर्ने, सातापछि विरोध गर्ने अवस्था कसरी आयो ? आचार्यले भने ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालको संयोजकत्वमा संघकै पूर्वअध्यक्ष हेमराज बञ्जाडे, धु्रवराज श्रेष्ठ, नागरिक समाजका पूर्वअध्यक्ष चन्द्रराज पन्त, पत्रकार महासंघका पूर्वअध्यक्ष सविन प्रियासनलगायतलाई सल्लाहकार राखेकी छन् ।

राजनीतिक दलका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य वंशीकुमार शर्मा, राष्ट्रिय जनमोर्चा दाङका सचिव गणेश आचार्य, नेपाल बार दाङका पूर्वसचिव निर्मल गौतम लगायत समितिमा समेटिएका छन् ।

टिप्पणीहरू