एमाले कसरी यहाँसम्म आइपुग्यो, किन मिल्दैन ?

एमाले कसरी यहाँसम्म आइपुग्यो, किन मिल्दैन ?

२०४० सालको कुरा हो । हामीलाई पार्टी एकीकरण भेला भनेर बोलाइयो । नेपाल मजदुर किसान संगठन र नेकपा मालेका संगठित सदस्यलाई एकै ठाउँमा जम्मा गरिएको थियो । दुवै पार्टीको जिल्ला तहका नेता पनि आउनुभएको थियो । मजदुर किसान संगठनको तर्फबाट कमरेड केशव बडाल, उद्धव बडाल, पुष्प बडाल, माधव खनाल र नन्दीकेश्वर नेउपानेसहितका कमरेडहरू जम्मा हुनुभयो । नेकपा मालेको तर्फबाट मदन ढुंगेल, ध्रुवजी र नागेन्द्र साहसहितका कमरेड आउनुभएको थियो । कम्युनिष्ट शैली र परम्पराअनुसार कार्यक्रम शुरु भयो ।

शहीदप्रति श्रद्धाञ्जली र अन्तर्राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा नेताहरूले नेकपा माले र नेपाल मजदुर किसान संगठनबीच महान एकता भएको जानकारी गराउँदै निजगढमा पनि एकीकरणको कार्यक्रम राखिएको बताउनुभयो । पार्टी एकताले नेपाली क्रान्तिलाई नयाँ उचाइमा पु¥याएकामा सबै कमरेडलाई बधाई तथा शुभकामना दिनुभयो । दुवै सच्चा कम्युनिष्ट पार्टीको एकताले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने उद्घोषले सबैमा खुशी छाएको थियो । पूरै कोठा तालीले गुञ्जायमान भयो । त्यही गाउँ भेलाले कमरेड नागेन्द्र साहको नेतृत्वमा निजगढ गाउँ कमिटी गठन ग¥यो ।

लामो समयदेखि अलग–अलग रहेर आपसमा बाझाबाझ गरिरहेका पार्टीहरूको एकताले निजगढमा नेकपा मालेलाई शक्तिशाली पार्टी बनायो । अब हरेक समस्यामा उसको उपस्थिति आवश्यक हुन थाल्यो । ०४३ सालसम्म आइपुग्दा निजगढमा नेकपा माले गाउँको पहिलो राजनीतिक शक्ति भएर स्थानीय निकायमा विजयी भयो । त्यसरी जनताले बनाएको पार्टी अहिले नेकपा एमालेको रूपमा छ ।

यो पार्टी बारा, पर्सासहित मध्यतराईको किसान आन्दोलन र विराटनगर, वीरगञ्ज, हेटाँैडा तथा बालाजुका मजदुर आन्दोलनको उपज हो । एमाले झापा, मोरङको किसान आन्दोलन र जुगेडीको किसान संघर्षको परिणाम पनि हो । यो पार्टी हर्रे बर्रे संघर्ष र प्युठानका क्रान्तिकारीको योगदानको परिणाम पनि हो ।

२००६ सालमा कमरेड पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि पूरै छिन्नभिन्न भयो । यसरी विभाजित कम्युनिष्ट आन्दोलनलाई ०२८ सालमा कमरेड सिपी मैनाली नेतृत्वको झापा विद्रोहले आफूतिर आकर्षित ग¥यो । नेकपाको त्यही क्रान्तिकारी धारसहितको झापा जिल्ला कमिटीलाई कमरेड माधव नेपालले मोरङ, जनकपुर र रौतहट हुँदै बाँकी नेपालसँग जोड्नुभयो । कमरेड झलनाथ खनालले इलामसहित आफ्नो सम्पर्कमा रहेका कमरेडसँग जोड्नुभयो । कमरेड अमृतकुमार बोहराले सिन्धुपाल्चोकसहित आफ्नो सम्पर्कमा रहनुभएका कमरेडहरूसँग जोडेर ०३२ सालमा नेपाल कम्युनिष्ट पार्टी कोअर्डिनेशन केन्द्र (कोके) गठन गर्नुभयो ।

०३५ सालसम्म आइपुग्दा कोअर्डिनेसन केन्द्रसँग पूर्वको रातो झण्डा समूह, पश्चिमको रातो झण्डा समूह र कमरेड पुष्पलालसँग विद्रोह गरेर आएको मुक्ति मोर्चा समूह सामेल भएर नेकपा मालेको स्थापना गरिएको थियो । मुक्तिमोर्चा समूहबाटै कमरेड मदनकुमार भण्डारी, कमरेड जीवराज आश्रित, कमरेड मोदनाथ प्रश्रित र कमरेड वामदेव गौतमसहितका नेता नेकपा मालेमा सामेल हुनुभएको हो । २०३९ सालमा कमरेड नेत्रलाल अभागीको नेतृत्वमा दाङको सन्देश समूह नेकपा मालेमा एकताबद्ध भयो । यसैवेला कमरेड ऋषि देवकोटा आजादको नेतृत्वमा रहेको नेकपा मसाल विद्रोही समूह पनि पार्टीमा गोलबन्द भएको हो ।

०४० सालमा नेपाल मजदुर किसान संगठन र नेकपा मालेबीच एकता भयो । एकताबाट कमरेड डिबी सिंह र कमरेड केशव बडालसहितका कमरेड नेकपा एमालेमा एकताबद्ध हुनुभयो । यसपछि नेकपा मालेले ०४२–०४३ सालको राष्ट्रिय पञ्चायत र स्थानीय चुनावमा हस्तक्षेप गर्ने नीति अघि सारेर आफूलाई व्यापक जनतामा स्थापित गरायो । यसले राष्ट्रिय पञ्चायत सदस्य तथा स्थानीय निकायमा समेत गरी आफ्ना ७ हजारभन्दा बढी प्रतिनिधिलाई विजयी बनाउन सफल भयो । ०४४ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च गठन गरेर पञ्चायतविरोधी आन्दोलनको अगुवाइ गरेको नेकपा मालेले वाममोर्चा बनाएर प्रजातान्त्रिक आन्दोलनमा नयाँ शक्तिको विकास गर्न सफल भएको थियो ।

०४६ सालको जनआन्दोलनमार्फत देशमा प्रजातन्त्र स्थापना गरेपछि माक्सवादी र एमालेबीच ऐतिहासिक एकता भयो । यो एकताले नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव कमरेड मनमोहन अधिकारी, कमरेड पुष्पलालकी धर्मपत्नी कमरेड सहाना प्रधान र कमरेड मदन भण्डारीले नेतृत्व गर्नुभएको नेकपा मालेका युवा क्रान्तिकारीलाई एक ठाउँमा जुटाइदियो । ०४९ सालतिर कमरेड तुल्सीलाल अमात्य र उहाँको नेतृत्वमा रहेको पार्टी पनि नेकपा एमालेमा एकताबद्ध भयो । यसरी नेकपा एमाले देशकै सबभन्दा ठूलो र शक्तिशाली पार्टी हुँदै आएको हो ।

अझ २०५१ सालको आमचुनावमा विजय प्राप्त गरेर कमरेड मनमोहन अधिकारी नेतृत्वको सरकारले थालेको सुधारका कामले पार्टीको लोकप्रियता ह्वात्तै बढेर गयो । नेकपा प्रजातान्त्रिक समूहबाट सीतानन्दन राय, जितेन्द्र देव, महेन्द्र रायसहित तराईमा छरिएर रहेका थुप्रै कम्युनिष्ट कार्यकर्ता एमालेमा जोडिन आउनुभयो । नेपाली कांग्रेस र अरू पार्टीबाट समेत एमाले प्रवेश गर्नेहरूको लहर आयो ।

नेकपा २०११ सालमा ऐतिहासिक किसान आन्दोलनको नेतृत्व गरेर आएको पार्टी हो । नेकपाको नेतृत्वमा शहीद मुखलाल महतोसहित हजारौँ सदस्यले देश र जनताको निम्ति बलिदान गरेका छन् । नेकपा एमाले झापा आन्दोलनका शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, रत्नकुमार बान्तवा र वीरेन राजवंशीजस्ता थुप्रै शहीद, नेत्रलाल पौडेल, ऋषि देवकोटा, प्रेमसिंह धामी, जीवराज आश्रित र मदन भण्डारीजस्ता महान् व्यक्तित्वले बलिदान दिएर निर्माण गरेको पार्टी हो । नेकपा एमाले ०३५–३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको संयुक्त जनआन्दोलन र ०६२्/६३ सालको जनक्रान्तिमा बलिदान गर्ने सयौं शहीदको रगतले स्थापित गरेको पार्टी हो । नेकपा एमालेलाई कसैले पनि आफ्नो निजी सत्ताको आधार र एकल लगानीको प्रतिफल ठान्नु महाभूल हुन्छ ।

एमालेले यसबीच अनेकौँ उकाली–ओराली पार गरेको छ । धेरै दुःखद घटना व्यहोर्नुपरेको छ । विभिन्न समयमा फुट र विभाजनको पीडा सहनुपरेको छ । ०४० सालको एकतालगत्तै कमरेड डिवी सिंह गलत नीतिका कारण नेकपा मालेबाट आफँै बाहिरिनुभयो । ०४७ सालको ऐतिहासिक कम्युनिष्ट एकतापछि पुष्पलाल समूहबाट आउनुभएका पाका कमरेड बलराम उपाध्यायसहित कतिपय पुराना कमरेडहरूलाई पार्टीमा टिकाउन सकिएन । ०५४ सालमा नेपालगञ्जमा आयोजित छैटाँै राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेमा ठूलो विभाजन भयो । महाकाली सन्धिका कारण राष्ट्रवादको नाममा भएको यो विभाजनले नेकपा एमालेलाई मात्र होइन, देशलाई समेत अनमोल नोक्सानी भएको छ ।

०५४ सालमा कमरेड सहाना प्रधान र कमरेड वामदेव गौतमको नेतृत्वमा पार्टी झण्डै आधा–आधी भएर विभाजित भयो । पछि आएर सबै कमरेड पुनः पार्टीमा एकीकृत हुनुभयो । ०६२/६३ को क्रान्तिको सफलतापछि तराईमा चलेको आन्दोलनले सीतानन्दन रायसहितका थुप्रै कमरेड पार्टी छाड्न पुग्नुभयो । संविधान निर्माणका बेलामा संघीयताका सवालमा मतभेद जनाउँदै कमरेड अशोक राईसहितका कमरेडहरूले एमाले परित्याग गरेर नयाँ पार्टी बनाउनुभयो । यति हुँदाहँुदै पनि नेकपा एमाले आज देशको सुदृढ संगठन र सही नीति भएको सबभन्दा प्रभावशाली पार्टीको रूपमा स्थापित छ । यसलाई सबै मिलेर अझ सुदृढ र संगठित गर्नु आवश्यक छ ।

दुर्भाग्य, नेकपा एमाले यतिबेला एकता र विभाजनको दोसाँधमा छ । एकताको निम्ति भएको १० बुँदे सहमतिमा अझै निखार आएको देखिँदैन । यसमाथि शंका र संशय कायमै छ । भनिन्छ, सही नीतिले पार्टीलाई गोलबन्द बनाउँदै लान्छ । अशल नेतृत्वले देशलाई एकजुट बनाउँदै लान्छ । गज्जबको कुरा के छ भने, ‘सही नीति र असल नेतृत्व भएको’ नेकपा एमाले आज आफैँमा भारी भएको छ । अरूको आशा र सेवामा झुलिरहेको अवस्था छ । नेताहरूले आफूलाई महान् ठान्ने र आफ्नो विगतलाई बिर्सनाले यस्तो भएको हो । जनता र देशप्रतिको कर्तव्यलाई गौण ठानेर निजी स्वार्थमा निर्लिप्त राजनीति गर्नाले यस्तो समस्या पैदा गरेको हो । अबको दिनमा राजनीतिको कोर्सलाई ठीक गरेर पुनः राष्ट्रनिर्माण र जनसेवाको साधन बनाउनुपर्छ । जनतालाई केन्द्रमा राखेर काम गर्ने आँट हुनुपर्छ । अनि मात्र सबै समस्या समाधान भएर जान्छन् । जनतामा विश्वास बढेर जान्छ । अन्यथा जति जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ हुन्छ । सबैलाई चेतना भया !!!

टिप्पणीहरू