पाप लाग्ला, विगत बिर्सिंदा

  • सुशील पन्त

उप्रान्त ‘देसका महाजनलाई गोड प्रसाह देषि उँभो आउन नदिनु, देसका महाजनहरू हाम्रो मुलुकमा आया भन्या दुनिया कंगाल गरि छाड्दाछन.’

नेपाल एकीकरणका सूत्रधार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशको माथिको अंशमा देश (भारत)का महाजनलाई पर्साको वीरगन्जदेखि माथि आउन नदिनु, ती आए भने दुनियाँ कंगाल गरी छाड्दछन् भनिएको थियो । जतिवेला नेपाल–भारतबीच औपचारिक व्यापार नै थिएन ।

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती मनाइरहँदा उनले २ सय ५० वर्षअघि जे नगर्नू भनेका थिए अहिले त्यही भएको छ । नेपालको व्यापार व्यवसायमा भारतका महाजनको हालीमुहाली छ । काठमाडौंको व्यापारको ठूलो हिस्सा भारतीयकै छ, तरकारी, फलफूलदेखि लत्ताकपडा र सुनदेखि गाडीसम्म । पृथ्वीनारायण शाहले भनेजस्तै देशका महाजनले एकप्रकारले नेपाललाई कंगाल बनाइसकेका छन् । नेपालका नदीनाला र प्राकृतिक स्रोतमाथि दोहन गरिरहेका छन् ।

अहिलेका ‘पहिचानवादी’ले आरोप लगाएजस्तो पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारका लागि बाइसे÷चौबिसे राज्यको एकीकरण गरेका थिएनन्, सिंगो नेपालको परराष्ट्र नीतिका लागि केही मार्गदर्शन पनि दिएका थिए । बदनाम कहलिएका पारस र ज्ञानेन्द्र शाहको भूमिकालाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु अन्याय हुनेछ । जतिबेला विकसित भनिएका मुलुकमै कूटनीतिक अभ्यास परिपक्व भएको थिएन, पृथ्वीनारायण शाहले परिपक्व कूटनीति अपनाएका थिए । नेपाललाई दुई ढुंगाबीच तरुलको विम्ब प्रयोग गर्दै सन्तुलित कूटनीतिक व्यवहार गर्नुपर्ने मान्यता स्थापित गरेका थिए । चीन बादशाहसित ठूलो घाहा राख्नु र दक्षिणी समुद्रको बादशाहसीत घाहा त राख्नु तर महाचतुर छ भनेका थिए । देशलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने मामिलामा पनि उत्तिकै दूरदर्शी थिए ।

दिव्योपदेशमा भनेका छन्, ‘देसका कपरा लगाउन मनाइ गरिदिनु । आफ्ना देसका कपरा बुन्न जान्नालाइ नमना देषाइ सघाउनु र बन्न लगाउनु यस्व भया नगद देस जादैन ।’ भारतले सन् १९९० सम्म पनि अन्य देशका कपडा बेच्नमा करिब प्रतिबन्ध लगाएको थियो । दिव्योपदेशमा उनले भनेका छन, ‘हाम्रा जिनिस जडिवुटी देस लैजानु र नगद पैचनु ।’ त्यही कुरा गणतन्त्रका शासकले पनि भनिरहेका छन्, जडीबुटी बेचेर डलर भिœयाउने कुरा । पृथ्वीनारायण शाहले खानी भएको ठाउँको बस्ती सारेर भए पनि खानी उत्खनन गर्नु र खेतीयोग्य ठाउँको बस्ती सारेर खेतीबाली लगाउनू भनेका थिए । तर, अहिले खेतीयोग्य जमिन सबै मासेर बस्ती बसाउने काम भयो, फलस्वरूप ढुंगा, माटो र पानीबाहेक अरू सबै कुरामा नेपाल परनिर्भर हँुदै गएको छ ।

२ सय ५० वर्षअघि पृथ्वीनारायण शाहले दिव्योपदेशमा भनेका कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन र विवादमा तान्न खोजिरहेको समयमा उनले भनेका सम्पूर्ण कुरा मननयोग्य छन् । जतिवेला अहिलेजस्तो सञ्चारमाध्यको विकास भएको थिएन, तैपनि उनले छिमेकी देशप्रति खेल्नुपर्ने कूटनीतिक भूमिकाप्रतिको धारणा बनाइसकेका थिए । मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर बनिरहेको र बहुराष्ट्रिय राज्यको वकालत भइरहेका समयमा पृथ्वीनारायण शाहको भूमिका र योगदानको चर्चा अझ सान्दर्भिक बनेको छ । उनको योगदानकोे युग–युगसम्म पनि चर्चा भइराख्नेछ ।

यतिवेला पृथ्वीनारायण शाहलाई विवादमा तान्ने कोसिस गर्दै छन्, सायद उनले नेपाल एकीकरण नगरेको भए कुन टापुमा बसेर पहिचानको राजनीति गर्ने थिए !

दिल्ली जाने नेपालका प्रधानमन्त्री भारतलाई स्वतन्त्र राष्ट्र बनाउने महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा चढाउँछन्, यो लगभग नियमित औपचारिकता हो । महात्मा गान्धीको मूर्ति लिन्छन् र आफ्नो बैठक कोठा सजाउँछन् तर आफ्नै मुलुक एकीकरण गर्नेप्रति पूर्वाग्रह राख्छन् । अमेरिका पत्ता लगाउने कोलम्बसलाई अहिले पनि अमेरिकामा सम्मानसाथ स्मरण गरिन्छ । कुनै पनि देशले आफ्नो राष्ट्रनिर्मातालाई अति नै आदर गरेको हुन्छ । पैसाको नोटमा उसैको चित्र कोरेको हुन्छ ।

कुनै पनि सभ्य मुलुकले आफ्नो इतिहास मेटाउन खोज्दैन । राजनीतिमा व्यवस्था परिवर्तन हुन्छ । निरंकुश र तानाशाही राजालाई जनताले राजगद्दीबाट मिल्काउँछन् । तर, इतिहास त रहिरहन्छ । के नेपालको इतिहासबाट पृथ्वीनारायण शाहको नाम अलग गर्न सकिन्छ ? विश्वमा राजतन्त्र उन्मूलन भएर गणतन्त्र आए पनि राष्ट्र निर्माणमा योगदान गरेका व्यक्तिको सालिक ओखलेर फालिएका छैनन् । नेपाल मात्र यस्तो मुलुक भयो जसले राष्ट्र निर्माताको योगदानको अवमूल्यन मात्र होइन, निषेध गरेको छ । यस्तो भएपछि राष्ट्रियता कसरी बलियो हुन्छ ?

२५ डिसेम्बरमा सरकारले क्रिसमसको सार्वजनिक बिदा दिँदा सामाजिक सञ्जालमा कतिपयले विरोध जनाए तर धेरैले प्रश्न गरे–सरकारले पृथ्वीजयन्तीमा बिदा दिन्छ कि दिँदैन ? गणतन्त्र स्थापनापछि पृथ्वीजयन्तीप्रति सरकारले पूर्वाग्रह राख्दै आएको छ । चरम अवसरवादी राजनीति गरिरहेको राप्रपाले औपचारिकताका लागि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । तर, सरकारमाथि दबाब सिर्जना गरेको छैन । कुनै पनि देशको मौलिक भाषा, संस्कृति, पोशाक र रीति–रिवाज हुन्छ । ‘राष्ट्रिय स्वाधीनता’ र ‘देशभक्ति’को चर्को कुरा गर्नेहरूले नेपाली मौलिक पोशाकलाई तिरस्कार गरेर आयातित पोशाकमा ठाँट्टिन रुचाउँछन् । त्यति मात्र होइन, केही युवाले स्वतःस्फूर्त टोपी दिवस मनाउँदा त्यसप्रति खिल्ली उडाउने काम गर्छन् ।

पृथ्वीनारायण शाहपछि राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रका एक से एक हिमायती बनिसके तर कसैले पनि २ सय ५० वर्षअघिका पृथ्वीनारायण शाहले जस्तो दूरदृष्टि देखाउन सकेका छैनन् । यसबीचमा बिपी कोइराला अपवाद बने, जसले ००७ साल आसपासमा भनेका कुरा ०७० सालमा पनि लागू भइरहेको छ । देशलाई निकास र विकास दिन नसक्ने, उल्टै राष्ट्रलाई कमजोर बनाउने नेताहरूले पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न सक्दैनन् । अहिलेका नेता अस्थायी हुन् तर पृथ्वीनारायण शाहपछि यो देशको शासनसत्ता सञ्चालन गर्न कति आए, तर उनीहरू स्मरणीय छैनन् । यो देशमा राष्ट्रिय स्वाधीनताको कुरा गर्नेहरूले पृथ्वीनारायण शाहबाट सिक्नुपर्छ, उनलाई सरापेर कोही क्रान्तिकारी बन्न सक्दैन ।

टिप्पणीहरू