हटाएको हटायै

सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई हटाइदियो । ऊर्जा मन्त्रालयले विद्युत्का तीन जना सञ्चालकलाई हटायो । सरकार सुशील ज्ञवालीलाई हटाउँदै छ । यस्तो लाग्छ, अब देशमा चारैतिर ‘हटाउने’ अभियान शुरु हुँदै छ । जता हेरे पनि हटाएको हटायै ।

कुलमान घिसिङले लोडसेडिङ हटाउनुभयो । अब नेपाल विद्युत् प्राधिकरणबाट उहाँलाई नै हटाउने खेल शुरु हुँदै छ । अचेल काठमाडौंको बजारमा फुटपाथ पसल हटाउने अभियान चलिरहेको छ । काठमाडौंका सडक किनाराका घरचाहिँ सडक विस्तारको नाममा हटाउने तयारी हुँदै छ । राप्रपा नेता संविधानमा उल्लेख भइसकेको धर्मनिरपेक्षता हटाउने अभियानमा छन् । त्यसमाथि अध्यक्ष कमल थापा त संविधानमा उल्लेख भएको गणतन्त्रै हटाउनुपर्छ भनिरहेका छन् ।

संसद्मा त्यही जुहारी चलिरहेको छ । प्रमुख प्रतिपक्षी संविधान संशोधन प्रस्ताव हटाऊ भन्दै छ । सत्तापक्षचाहिँ प्रमुख प्रतिपक्षीको अवरोध हटाऊ भन्दै छ । देशको चारैतिर हटाउने र हटाउने मात्रै अभियान चलिरहेको देखिन्छ । तर, यस्तो अभियानमा समेत लोकमानलाई नियुक्त गर्ने नेताहरूलाई हटाऊ भनेर कुनै अभियान नचल्नुचाहिँ अनौठै होइन र भन्या ?

टिप्पणीहरू