रियल कुन हो ?

संसद्मा प्रतिपक्षी एमालेको अवरोध देखेर उसकै कार्यकर्ता छक्क परेका छन् । खासगरी युवा संघका जुझारु युवा कार्यकर्ता झन् छक्क परेको हुनुपर्छ । संविधान संशोधन विधेयकलाई कुनै हालतमा टेबुल गर्न नदिने एमालेको तयारी थियो । त्यो विधेयकलाई जसरी भए पनि रोक्ने अडान थियो । तर, सदनमा एमाले सांसदले त्यस्तो केही गरेनन् । आ–आफ्नै सिटमा बसेर हाहा र हुहु गरे । न रोस्ट्रम घेराउ गरे, न मन्त्रीलाई रोके, न माइक खोसे । तैपनि एमाले नेता भनिरहेका छन्– हामीले त सशक्त प्रतिरोध गरेकै थियाँै तर सभामुखले वास्तै गरिनन् ।

यस विषयमा एमालेका भद्र उपनेता श्री सुवास नेम्वाङको भनाइ आयो । अवरोध भनेको तोडफोडै हो र ! कुर्सीले हान्नैपर्छ भन्ने छ र ? हामीले त भद्र प्रतिरोध पो गरेका हाँै ।

संसद्मा त एमालेको प्रतिरोध भद्र नै रहेछ । तर, अस्ति सडकमा गाडी जलाएर गरेको प्रतिरोधचाहिँ के थियो नि ! काठमाडौंमा सरकारी गाडी जलाइयो । बुटवलमा पार्कको रेलिङ भत्काइयो । त्योचाहिँ के थियो ? कतै एमालेले सदनमा भद्र, सडकमा अभद्र आन्दोलन चलाउने दोहोरो नीति लिएको पो हो कि ? त्यसो हो भने रियल एमालेचाहिँ कुन हो ? सदनवाला एमाले कि सडकवाला एमाले ?

टिप्पणीहरू