देउवालाई १ सय ६५ मत,केपी ओलीलाई आफ्नै १० जनाको घात

देउवालाई १ सय ६५ मत,केपी ओलीलाई आफ्नै १० जनाको घात

समयको खेल न हो,०७४ को चुनावबाट ६१ मत प्राप्त नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई अहिले बिश्वासको मतका निम्ति भएको मतदानमा १ सय ६५ जना सांसदको साथ मिलेको छ ।

सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको आज रातीको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नुभएको थियो । कूल २ सय ७१ जना सांसदमध्ये २ सय ४९ जना उपस्थित थिए ।

भर्खरै भएको मतदानमा प्रधानमन्त्रीलाई १ सय ६५ मत प्राप्त भएको छ । उहाँलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सबै सांसदले समर्थन गर्दै मतदान गरेका हुन् ।

त्यसैगरी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि समर्थनमा मतदान गर्नुभएको छ । जनमोर्चाले समेत देउवाका निम्ति मतदान गरेको छ ।

देउवाको विपक्षमा भने ८३ मत मात्र परेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेकै नेपाल समूहका गोकर्ण बिष्ट,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, योगेश भट्टराई,सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार,झपट रावल, राजबहादुर बुढा,डा.दिपक भट्ट, नारायण खतिवडाले भने मतदानमा भाग लिनुभएन । राप्रपाले पनि मतदानमा भाग नलिई तटस्थ बसेको थियो ।

तर ओली पक्षका भनेर चिनिएका पूर्व वनमन्त्री प्रेम आले,सांसद किसान श्रेष्ठ,गोपाल बम,डोल्पाका सांसद धनबहादुर बुढाले भने ओली क्याम्प छाडेर देउवालाई मतदान गर्नुभयो ।

देउवालाई प्राप्त विश्वासको मतपश्चात् अब प्रतिनिधिसभाले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्ने भएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि दुई पटक प्रतिनिधिसभा विघटन गरेर घोषणा गर्नुभएको निर्वाचनको मितिको औचित्य स्वतः समाप्त भएको छ ।

दोश्रो पुस्ताका १० नेताको तटस्थता (मतदानमा अनुपस्थिति ) र ओली पक्षकै १० जनाको फ्लोर क्रसले पार्टी बिभाजनको सम्भावना भने टरेको देखिन्छ ।

टिप्पणीहरू