शिलालेखमा ओलीको मेटेर हितेन्द्रको नाम

शिलालेखमा ओलीको मेटेर हितेन्द्रको नाम

निवर्तमान प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटन गर्न तयार पारिएको शिलालेखबाट उहाँको नाम मेटिएको छ ।

देशकै दोश्रो पुरानो ऐतिहासिक सुन्दरीजल जविध्युत केन्द्रको साउन १ गते ओलीद्वारा उद्घाटन गराउने तयारी थियो । सोहीअनुसार शिलालेखमा ओलीको नाम लेखिएको तर,त्यसअघि नै ओली सत्ता बहिर्गमनमा परेपछि उहाँको नाम मेटेर नेपाल विध्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नाम राखिएको बताइन्छ ।

वि.सं. १९९१ देखि संचालनमा रहेको ६४० किलोवाट क्षमताको सुन्दरीजल जलविध्युत केन्द्रको एशियाली विकास बैंक,नेपाल सरकार तथा नेपाल विध्युत प्राधिकरणको लगानीमा ९७० किलोवाटमा क्षमता बृध्दि गरिएको थियो । क्षमता बढाउने काम सम्पन्न भएलगत्तै प्रधानमन्त्री ओलीको हातबाट रिबन काटेर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

शिलापत्रमा ओलीको नाम मेटेर शाक्यको नाम लेखिए पनि अन्य व्यहोरा भने उही छ । शिलापत्रमा ‘२०७८ श्रावण १ गते शुक्रबारका दिन नेपाल विध्युत प्राधिकरणका कार्यकारी निर्देशक ई. हितेन्द्रदेव शाक्यज्यूद्वारा समुद्घाटन सम्पन्न भयो’ भनेर लेखिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री तहबाट गरिने उद्घाटनमा लेखिने भाषा राखेरै शाक्यको नाम शिलापत्रमा लेखिएको छ । त्यसो त, सरकारमा रहँदा उद्घाटनमा अत्यधिक मोह देखाएको ओलीमाथि आरोप लाग्ने गरेको थियो ।

टिप्पणीहरू