संस्थापन पक्षले ‘अन्तिम प्रयास’ भन्दै राखेको प्रस्ताव नेपालद्वारा अस्वीकार

संस्थापन पक्षले ‘अन्तिम प्रयास’ भन्दै राखेको प्रस्ताव नेपालद्वारा अस्वीकार

दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्नुअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष अन्तिम प्रयासको प्रस्ताव गरेको छ । सरकारलाई विश्वासको मत दिनेवारे नेपाल समूहसहितको उपस्थितिमा संयुक्त निर्णय गर्ने प्रस्ताव कार्यदलका सदस्यहरूमार्फत पठाइएको थियो । तर,संयुक्त भनेपनि बहुमतको आधारमा निर्णय गर्ने अध्यक्ष ओली पक्षको रणनीति बुझेपछि नेता नेपालले प्रस्ताव लिएर गएको टोलीलाई ‘नो’ भनेर फर्काइदिनुभएको थियो ।

त्यसपछि ओलीनिकट लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’ भनेर लेख्नुुभएको हो ।

आजै नेपाल पक्षको विचार समूहको स्थायी समिति बैठक राख्न खोजे पनि केही सदस्यलाई सञ्चो नभएको भनेपछि नबोलाइएको बताइएको छ । यसबीच वरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित उपचाररत अस्पतालबाट देउवा सरकारलाई विश्वासको मत दिन आफू निकट माननीयहरूलाई वक्तव्य जारी गरेर अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने खबर बाहिरिएपछि नेपाल निकट विघटित कार्यदलका सदस्यहरूले उहाँको निवासमै पुगेर असहमति जाहेर गर्नुभएको थियो । तर, प्रत्युत्तरमा उहाँले विश्वासको मत लिने अधिकार पूर्णतयाः प्रधानमन्त्रीको भएकाले आजको संसद बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेश गर्ने प्रधानमन्त्री देउवाको चाहना र निर्णयमाथि अरु कसैको पनि भूमिका नरहेको भन्नुभएको स्रोतले बताएको छ ।

टिप्पणीहरू