विचार र राजनीति नमिल्दासम्म एमाले एक हुँदैन : झलनाथ खनाल

विचार र राजनीति नमिल्दासम्म एमाले एक हुँदैन : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा उत्पन्न विवादको मुख्य जड वैचारिक मतभिन्नता भएको बताउनुभएको छ । वैचारिक-राजनीतिमा एकमत नभई सांगठानिक एकताले मात्र पार्टी एकताबध्द हुन नसक्ने पनि खनालको ठहर छ ।

स्वास्थ्य उपचारका लागि भारतको दिल्लीमा रहनुभएका खनालले आज एक वक्तव्य सार्वजनिक गर्दै पार्टीमा दक्षिणपन्थी भड्काउ देखा परेकाले समस्या आएको बताउनुभएको हो । उहाँले वैचारिक-राजनीतिक एकता नगरी पार्टी एकता हुन नसक्ने दाबीसमेत गर्नुभएको छ । पार्टीका दृष्टिकोण,कार्यदिशा,नीति, सिद्धान्त,कार्यशैली र विधि पद्धतिका सवालमा गम्भीर मतभिन्नताहरु प्रकट भएकाले विचारसहितको एकताले मात्र पार्टी एकता हुने उहाँको भनाइ छ ।

‘हाम्रो पार्टीभित्र लामो समयदेखि दक्षिणपन्थी भड्काउ प्रकट भएको छ । यसले गर्दा पार्टीका दृष्टिकोण, कार्यदिशा,नीति,सिद्धान्त,कार्यशैली र विधि पद्धतिका सवालमा समेत गम्भीर मतभिन्नताहरु प्रकट भएका छन् । यी सबै सवालमा बैचारिक र राजनीतिक एकता बिना पार्टी एकता सम्भव हुँदैन’,खनालको वक्तव्यमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री खनालले एमालेको आन्तरिक एकता कायम गर्न गठित कार्यदलको भूमिकाको भने खुलेर प्रसंसा गर्नुभएको छ । उहाँले कार्यदलको १० बुँदे प्रस्तावले पार्टीलाई विधिसम्मत ढंगले चलाउने महत्वपूर्ण आधार प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

‘सर्वोच्चको फैसला आउनुभन्दा अघिल्लो दिनको साँझ हाम्रो पार्टीको शीर्ष तहमा गठन भएको कार्यदलले एउटा १० बुँदे सहमति गरेको छ । यसले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने कुरामा महत्वपूर्ण आधार तयार गरेको छ’, उहाँको भनाइ छ, ‘यो हाम्रो पार्टीको आन्तरिक इतिहासमा एउटा महत्वपूर्ण सकारात्मक विकास नै हो ।’

उहाँले विधिगत एकताले मात्र अहिलेको विवाद हल नगर्ने भएकाले वैचारिक-राजनीतिक एकतामा बदल्न आग्रह पनि गर्नुभएको छ । ‘के विधिगत एकताले मात्र पार्टी एकता सम्भव छ ? त्यसलाई हामीले बैचारिक-राजनीतिक एकतामा रुपान्तरण गर्नुपर्छ’, खनालको भनाइ छ, ‘वैचारिक-राजनीतिक कार्यदिशाले नै कुनै पनि राजनीतिक पार्टीको जन्म, विकास, बिस्तार र संमृद्धिलाई निर्णायक प्रभाव पार्छ ।’

आफू पार्टी एकताको पक्षमा रहेको प्रष्ट पर्दै खनालले सिद्धान्त,नीति र विधिलाई एकताको आधार बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘म हाम्रो गौरवमय पार्टीको व्यापक एकताको पक्षमा छु तर त्यो एकता नीतिनिष्ट, सिद्धान्तनिष्ट र विधिनिष्ट हुनुपर्छ ।’

नेता खनालले ०३२ सालमा कोअर्डिनेशन केन्द्र गठन गरेर पार्टीलाई पुनर्गठन,1एकता र एकीकरणको दिशामा अघि बढाउन गरेको ऐतिहासिक पहलकदमी र आजसम्म पनि पार्टी निर्माण, विकास, विस्तार, एकीकरण र रुपान्तरण गर्दै आएको कुरा स्मरण पनि गर्नुभएको छ । सबैको सामूहिक प्रयत्नले पार्टी आजको अवस्थामा आइपुगेको भन्दै उहाँले व्यक्ति नभई नीतिप्रधान पार्टी बनाउनमा जोड दिनुभएको छ ।

खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई अपिल पनि गर्नुभएको छ । प्रतिनिधिसभालाई पुन: विघटनबाट जोगाउन विश्वासको मतको पक्षमा उभिनु आवश्यक भएको उहाँको भनाइ छ ।

त्यस्तै, प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै उहाँले गलत दिशामा गैरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई अदालतको निर्णयले ठिक बाटोमा ल्याएको दाबीसमेत गर्नुभएको छ । अदालतले संविधानको सही व्याख्या गरेर असंवैधानिक रुपले गरिएको प्रतिनिधिसभा विघटनलाई बदर गरेकाले संविधानको संरक्षण भएको भन्दै खनालले खुसि व्यक्त गर्नुभएको छ ।

अदालतको फैसलाले बनेको सरकार बाँकी अवधि निर्वाध रुपले चल्नुपर्ने बताउँदै खनालले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ । संसदको प्रक्रियासँगै पार्टी एकतालाई पनि संगसंगै अघि बढाउन खनालले जोड दिनुभएको छ ।

‘सर्वोच्च अदालतको फागुन २३ को फैसलाले पार्टीलाई जेठ २ गते पुर्याएको यथार्थलाई स्वीकार गरौँ । त्यहि जेठ २ को बास्तविकताको धरातलबाट पार्टीका सबै जानसंगठनका संरचनाहरुलाई अघि बढाऔ, सिंगो र पूर्ण केन्द्रीय कमिटिको बैठक विधिपूर्वक बोलाऔ, २८ असारको सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गरौँ, फैसलालाई दृढतापूर्वक कार्यान्वयन गरौँ । देउवा सरकारलाई विश्वासको मत प्रदान गरौँ, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउने कोसिस गरौँ, नभए विधिपूर्वक अन्तरपार्टी बैचारिक बहसहरु संचालन गरौँ’, खनालको वक्तव्यमा भनिएको छ ।

 

टिप्पणीहरू