क्रिम–पाउडरका नाममा पक्लक्कै

पार्टी फुट्यो, क्रिम, पाउडर र लिपिस्टिकले ! यो कुनै ठट्टा नभएर थरुहट तराई पार्टीमा भएको घटना हो । व्यवस्थापिका संसदमा समानुपातिकतर्फ जम्मा दुई सांसद रहेको यो पार्टी विभाजित भएर अहिले एक–एक सांसदका बेग्लाबेग्लै पार्टी छन् ।

सांसद तथा शाहीकालीन सहायक मन्त्री गोपाल दहितले ओभर मेकअप गरेर नहिँड्न भनेपछि विवाद चुलिएको गंगाले जनआस्थालाई बताइन् । ‘क्रिम, पाउडर र सबैथोकमा उहाँले मलाई धेरै दुःख दिनुभयो, कमेन्ट गर्नुभयो’ भनिन्, ‘मैले क्रिम लगाउने कि लिपिस्टिक लगाउने, त्यो मेरो व्यक्तिगत स्वतन्त्रता हो ।’ दहितले गरेको काम आधिकारिक हुने, तर अरुले गरेको काम र कुरा आधिकारिक नहुने भएपछि पार्टीमा समस्या आएको उनले सुनाइन् ।

विशेषतः लोकमान प्रकरणमा आफू महाभियोग पक्षधर, दहित महाभियोग लगाइनुनहुने पक्षधर हुँदा धेरै समस्या भएको भनिन् । पार्टीको बैठकमा ३० वर्ष नकटेकी गंगाले आफ्नो उमेरमा आफूले आफ्ना इच्छाअनुसार खान, लगाउन पाउनुपर्ने माग गरेकी थिइन् । पार्टी अध्यक्ष भानुराम चौधरी गंगाकै पक्षमा थिए । तर, कुनै निर्णयबिना बैठक सकियो ।

बैठकपछि दहितले केन्द्रीय सदस्यहरुलाई व्यक्तिगत रुपमा बोलाउँदै आफूलाई कारवाही गर्ने तयारीमा लागेपछि पार्टी छोडेर नयाँ पार्टी गठन गरेको बताइन् । गंगाले पुरानै नामको पछाडि ‘नेपाल’ थपेर नयाँ पार्टी गठन गरिन्, जसलाई संसद सचिवालयले बैधानिकता दिइसकेको छ । रमाइलो कुरा के छ भने, पार्टीमा दहितभन्दा गंगा पुरानी हुन् । दहित शाही शासन ढलेपछि पार्टीमा प्रवेश गरे, गंगाचाहिँ संयुक्त थारु राज्य परिषद्देखि नै आन्दोलनमा सहभागी थिइन् ।

टिप्पणीहरू