कमरेडी बैठकमा संवेदनशील कुरा

कहिले रक्षा र कहिलेचाहिँ गृहजस्ता संवेदनशील सारा निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण कागज देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले ? त्यस्तै भयो शनिबार एमाले स्थायी समिति बैठकमा ।

ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा साँझ ढल्दै गर्दा खानपिनसहित आयोजित शीर्षस्थ नेतृत्वको बैठकबीच अर्का उपाध्यक्ष भीम रावलले सबै सशंकित हुने सूचना पस्किएका हुन् । चीन र पाकिस्तानसँगको लडाइँ, बंगलादेशको जन्म र सिक्किम विलयमा ‘र’ को संलग्नतासम्बन्धी आरके यादवको ५४३ पेज लामो पुस्तक ‘मिसन र’ का केही अध्यायको फोटोकपी देखाउँदै रावलले नेपाललाई छिन्नभिन्न पार्न भारतीय खुफिया एजेन्सी त्यसरी नै सूक्ष्म ढंगले परिचालित हुन थालेको रिपोर्टिङ गरेका थिए ।

उनका अनुसार, मधेसका सशस्त्र समूहको हालै पटनामा भेला सम्पन्न भई माघ–फागुनभित्र हतियार स्वदेश भिœयाउने र वैशाख १ गतेदेखि सशस्त्र संघर्ष थाल्ने योजना छ । रावलले यो पनि भने– ‘सिके राउतले मधेसी दलसमक्ष हामीलाई पनि अलि–अलि मिल्नेगरी एजेण्डा सेटिङ गरिदिनुस् । तपाईंहरू फ्रन्ट लाइनमा बसेर हामीलाई ब्याकअपका रूपमा प्रयोग गर्नुस् भन्ने सन्देश पठाएका छन् ।’ विमलेन्द्र निधि भारतको अत्यन्त निकट रहेको र मधेसी दलप्रति पूर्ण सहानुभूतिशील देखिएको अनि यहीबेला उनको गृहमन्त्रीत्वकालमा देश विखण्डनको यसखाले योजनासमेत अघि बढ्न लागेको जानकारी दिँदै रावलले यो पनि थपे– ‘भारतले विभिन्न क्षेत्रबाट हस्तक्षेपका डिजाइन तयार गर्दै छ ।

राष्ट्रियतामाथि खतरा बढेको छ । यसबारे हामी होशियार रहनुपर्छ । पहिला पनि मधेसीका माग संबोधन गर्ने नाममा सविधान संशोधन भएकै हो । त्यतिले तिनको चित्त बुझेन । अहिले ५ नम्बर प्रदेश टुक्य्राउने प्रस्ताव दर्ता गरेका छन् । यो सकेर पूर्व र सुदूरपश्चिममा योजनाबद्ध रूपले हात हाल्नेछन् । ‘मिसन र’ का प्रसंगहरूको पुनर्पुष्टि हुनेगरी गतिविधि बाक्लिएका छन् ।’ त्यही मिटिङबाट एमाले नेता सोझै सभासद् इच्छाराज तामाङको सिटिसी मलमा आमिर खान अभिनीत ‘दंगल’ फिल्म हेर्न सपरिवार गएका थिए ।

सबै भित्र छिरे तर मूलढोकैमा पुगेर अध्यक्ष केपी ओलीचाहिँ जरुरी फोन आयो भन्दै अन्तैतिर लागे । भारतीय जनता पार्टीको थिंक ट्यांक समूहका रूपमा चिर्चित इण्डिया फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत सौर्य दोभालको निम्तो मान्न गए या संसद बैठक खोल्ने देउवा र प्रचण्डसँगको आकस्मिक मिटिङमा सामेल हुन पुगे यकिन हुन सकेन । अमेरिका र भारतबाट उच्च शिक्षा हासिल गरेका सौर्य भारतीय प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालका छोरा हुन् । उनैले दुई महिनाअघि दलाई लामाका प्रधानमन्त्री लोप्साङ साङ्गेसँग भेट हुने गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई गोवा बोलाएका थिए भने २७ सेप्टेम्बरका दिन प्रचण्डलाई दिल्लीमा अभिनन्दन गरेका थिए ।

यता, दूतावासको लञ्च र ब्रेकफास्ट खाँदै पाइला चालिरहेका अधिकांश मधेसी दलचाहिँ संशोधन प्रस्तावको सामान्य विरोध गरेझैं गर्ने र अन्त्यमा पास गर्ने योजनामा रहेको बुझिएको छ । मधेसी मोर्चाका सबैजसो नेता उपेन्द्र यादवको चाल बुझ्न नसकेर हैरान छन् । स्रोतका अनुसार उपेन्द्रको अनुपस्थितिमा अनिल झा, महेन्द्र यादव, हृदयेश त्रिपाठीहरू एकअर्कालाई सोध्ने गर्छन्, ‘होइन, उपेन्द्र कसको इशारामा कता कुद्दै छन् हँ ?’

मधेसी मोर्चाका अन्य घटकको साझा बुझाइचाहिँ युरोप र इण्डियाको जुन संघर्ष नेपाल मामिलामा छ त्यो मोर्चाभित्र पनि छ । उपेन्द्र यादवले युरोपियन युनियनको प्रतिनिधित्व गर्ने हुनाले सबै विषयमा साझा धारणा बनाएर मोर्चा अघि बढ्न नसक्ने उनीहरूको ठहर छ । नेपालको राजनीतिक संकटलाई आफूअनुकूल वातावरण सिर्जना गरेर हल गर्ने भारतीय इच्छा र नेपाललाई अनन्तसम्म अस्थिरतामा राखेर यसलाई प्रयोगशाला बनाउने पश्चिमा चाहनाको टकरावका रूपमा मोर्चाभित्रको समस्यालाई मधेसका बुद्धिजीवीले समेत व्याख्या गर्ने गरेका छन् ।

टिप्पणीहरू