माओवादीले देउवाको पक्षमा बढी सांसद जुटाउन पहल गर्ने

माओवादीले देउवाको पक्षमा बढी सांसद जुटाउन पहल गर्ने

नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । भर्खरै सम्पन्न संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा एकमतले मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रका सांसद शिवकुमार मण्डलले जानकारी दिनुभयो ।

मण्डलका अनुसार माओवादीले सरकारका पक्षमा बढीभन्दा बढी सांसदको समर्थन जुटाउन प्रयास गर्नेछ । ‘दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । यो सरकार टिकाउने भनेको संसद पनि टिकाउने कुरा हुन्छ । त्यसैले सकेसम्म बढी सांसदहरुको समर्थन जुटाउन हाम्रो प्रयास रहन्छ’, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा विघटनका विरुद्ध संघर्ष गरेका सबै राजनीतिक शक्ति विश्वासको मतको पक्षमा उभिने माओवादीको विश्वास छ । मण्डलले भन्नुभयो, ‘संसद पुनर्स्थापना हुनुपर्छ भन्ने मान्यता राखेर आन्दोलन गर्ने सबै शक्तिहरुलाई यो नैतिक दायित्व पनि हो, त्यसैले सरकारले विश्वासको मत प्राप्त गर्छ भन्नेमा हामी ढुक्क छौँ ।’

टिप्पणीहरू