झलनाथको मत पनि देउवालाई

झलनाथको मत पनि देउवालाई

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई अपिल गर्नुभएको छ । स्वास्थ्य उपचारका लागि दिल्लीमा रहनुभएका खनालले आज एक वक्तव्य जारी गर्दै प्रतिनिधिसभालाई पुन: विघटनबाट जोगाउन विश्वासको मतको पक्षमा उभिन अपिल गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै खनालले गलत दिशामा गैरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई अदालतको निर्णयले ठीक बाटोमा ल्याएको दाबीसमेत गर्नुभएको छ ।

उहाँले अदालतको फैसलालाई ऐतिहासिक भन्नुभएको छ । अदालतले संविधानको सही व्याख्या गरेर असंवैधानिक रुपले गरिएको प्रतिनिधिसभा विघटनलाई बदर गरेकाले संविधानको संरक्षण भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभएको छ ।

अदालतको फैसलाले बनेको सरकार बाँकी अवधि निर्वाध रुपले चल्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ ।

संसदको प्रक्रियासँगै पार्टी एकतालाई पनि संगसंगै अघि बढाउन खनालले जोड दिनुभएको छ ।

‘सर्वोच्च अदालतको फागुन २३ को फैसलाले पार्टीलाई जेठ २ गते पुर्याएको यथार्थलाई स्वीकार गरौँ । त्यहि जेठ २ को वास्तविकताको धरातलबाट पार्टीका सबै जनसंगठनका संरचनाहरुलाई अघि बढाऔं ,सिंगो र पूर्ण केन्द्रीय कमिटीको बैठक विधिपूर्वक बोलाऔं ,२८ असारको सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गरौँ, फैसलालाई दृढतापूर्वक कार्यान्वयन गरौँ । देउवा सरकारलाई विश्वासको मत प्रदान गरौँ, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउने कोसिस गरौँ, नभए विधिपूर्वक अन्तरपार्टी बैचारिक बहसहरु संचालन गरौँ’, खनालको अपिलमा भनिएको छ ।

टिप्पणीहरू