राप्रपाले छलफल गर्ने,नेमकिपालाई थाहै छैन

राप्रपाले छलफल गर्ने,नेमकिपालाई थाहै छैन

प्रतिनिधिसभामा एक सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने संकेत गरेको छ । सो पार्टीका सांसद राजेन्द्र लिङ्गदेनले विश्वासको मतको विपक्षमा उभिने संकेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले राप्रपासँग विश्वासको मत नमागेको पनि उहाँको भनाइ छ । ‘एक त हामीसँग विश्वासको मत माग्नुभएको छैन । अर्को कुरा के गर्ने भनेर हामीले छलफल गरिसकेका छैनौँ । तीन जना अध्यक्षज्यूहरु बसेर निर्णय गर्नुहुन्छ’, उहाँले भन्नुभयो ।

यता, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने संसदमा विश्वासको मतको प्रस्तावबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । ‘ए! विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता भयो र ? मलाई थाहा छैन’, उहाँले भन्नुभयो ।

संसदमा राप्रपा र नेमकिपाका एक-एक जना सांसद छन् । दुवै दल विश्वासको मतको पक्षमा नउभिने सम्भावना रहेको बताइन्छ ।

प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्तिको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

टिप्पणीहरू