‘घडी चोरी’ काण्डमा थप घमासान

चोरेर हो या नचोरिकनै सामाजिक सञ्जालहरुमा भाइरल बन्यो, ‘१४ लाखको घडी !’ युवा सांसद रामहरि खतिवडालाई नजिकबाट चिन्नेहरुले जतिसुकै हल्ला गरिए पनि नपत्याउने यही विषयलाई लिएर उनैले फरक–फरक टिप्पणी दिइरहँदा समाचार सुन्नेहरु पनि अन्योलमा छन् ।
घटना गत बिहीबार, लाजिम्पाटस्थित होटल ¥याडिसनमा सञ्चालित फिटनेश क्लब ¥याडको हो । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानले लकरमा राखेको १४ लाख मूल्यको रोलेक्स घडी हराएको उजुरी दरबारमार्ग प्रहरीलाई दिए । र, क्लबमा त्यसबेला रहेका सबैसँग सोधपुछ हुँदै जाँदा रामहरिले घडी प्रहरीलाई बुझाइदिए ।

यसपछि समाचार विभिन्न सामाजिक सञ्जालमा भाइरल बन्यो । रामहरिले तत्कालै प्रतिक्रिया दिए, ‘त्यहाँ जाने एकजना साथीकी श्रीमती प्रहरीमा जागिरे छन्, उनलाई भनेको ठाउँमा सरुवा गर्न नसक्दा ममाथि षड्यन्त्र भयो ।’ रामहरिले भन्न खोजेकी प्रहरी हुन्, डिएसपी गंगा पन्त । २०५६ सालमा इन्स्पेक्टरमा भर्ना भएकी । दुई वर्षअघि उक्त व्याचको डिएसपीमा बढुवा हुँदा गंगा एक नम्बरमा परेकी थिइन् । सामान्यतया प्रहरीमा एक नम्बरको अधिकृतले पोष्टिङका लागि त्यतिसाह्रो भनसुन गरिरहनुपर्दैन । रामहरिका साथीचाहिँ गंगाका श्रीमान् तथा काठमाडौं महानगरपालिकामातहतको नगररक्षक प्रहरीका डिएसपी राजु पाण्डे हुन् । उनै राजुले प्रवलको घडी आफ्नो खल्तीमा हालिदिएको आशय थियो रामहरिको । तर, राजुले यो कुरा अस्वीकार गर्दै जनआस्थालाई भने, ‘यो कुरा झुठ हो ।’

उनको भनाइ यस्तो छ– हो, त्यसबेला म पनि थिएँ । नुहाईधुवाई गरेर हिँड्न लागेको  रामहरिजी एकजना साथीसँग उभिरहनुभएको थियो । घडी हराउने प्रवल गुरुङ फुटसल खेलिसकेपछि नुहाउने ठाउँतिर जाँदै थिए । मैले प्रवललाई ‘आज किन ढिला भाइ’ भनेर सोधेँ । उनले ‘यस्तै भयो’ भने । त्यसपछि म निस्किएँ । दुई घण्टापछि दरबारमार्ग प्रहरीले मलाई फोन ग¥यो । मैले प्रबललाई सोधेँ, योे के गरेको ? तपाईं छिर्दा म निस्कँदै थिएँ । मलाई के भन्न खोज्नुभएको ?’ प्रवलले ‘त्यहाँ सबै हाइप्रोफाइलका मान्छे छन् । सबसँग मैले इन्डिभिजुअल्ली सोध्न मिलेन । अनि, पुलिसलाई खबर गरँे’ भने । मैले दबारमार्ग प्रहरीलाई ‘मेरो घरको ढलान छ, आइतबार आउँछु’ भनेँ ।

क्लबमा पटक पटक सामान हराइरहेको थियो । शुक्रबार रामहरिजीलाई यसबारे सोधेँ । उहाँले प्रहरीलाई घडी बुझाइसक्नुभएको रहेछ । उहाँ जुन लुगा लगाएर आउनुभएको थियो, त्यही लगाएर जानुभएको हो । आफ्नो खल्तीमा घडी भएपछि अथवा कुनै गह्रुंगो सामान भएपछि हेर्नुपर्छ कि पर्दैन ? दुई दिनपछि खल्तीमा मेरो घडी रहेछ भन्नुभयो । षड्यन्त्र भयो भन्नुभएछ । मैले सोधेँ । होइन भन्नुभयो । आफ्नै खल्तीमा भएको गह्रुंगो चिज मान्छेले दुई दिनपछि मात्रै थाहा पाउँछ भन्दा कसैले पत्याउँदैन ।
0
राजु भन्छन्– सरुवा गर्न सक्ने ऊ आइजिपी हो ? कि, गृहमन्त्री हो ? सौना, ज्याकुजीमा बस्दा साथीहरुबीच ठट्टा हुन्छ । तर, ठट्टै गर्दा पनि त्यस्ता कुरा भएका छैनन् । यो सब गल्ती लुकाउन बोलेको कुरा हो ।

यही विषयमा हिजो रामहरिले जनआस्थासँग भने, ‘ममाथि षड्यन्त्र भयो । मलाई र मेरो शाखा–सन्तानलाई जिउँदै मार्न खोजे ।’
रामहरिको भनाइ यस्तो छ– सुनियोजित रुपमा भयो । धेरै पहिलादेखिको षड्यन्त्र हो । एनसेल प्रकरणमा ‘धेरै नबोल है’ भनेका थिए । सुनकाण्डमा पनि त्यस्तै कुरा आएको थियो । गणेश थापाको स्रोत नखुलेको विदेशी मुद्रासम्बन्धी मामिलामा पनि त्यसै भने । लोकमानका बारेमा बोल्दा पनि ‘बल्ल जितेर आएको छस्, देख्लास्’ भन्थे ।

घडी चाहिने लगाउनलाई हो । मसँग आफ्नो घडीसँगै हातमा छ । लगाउनका लागि घडी लगेको हो भने म जाने ठाउँ त्यहीँ हो । म सांसद, टिभीसिभीमा देखिने मान्छे । त्यस्तो घडी लगाएछु भने पनि देखिहाल्छन् । बेच्नलाई लग्यो भनौँ भने १४ लाखको घडी बेच्नलाई बिल छैन । कसैलाई दिनका लागि लग्यो भनौँ भने त्यत्रो महंगो घडी उपहार दिने मेरो हैसियत होइन भन्ने सबैलाई थाहा छ । मैले घडी भेटेपछि सम्बन्धित मान्छेलाई पटक–पटक फोन गरेको छु । फोन उठेन । एसएमएस गरेँ । रिप्लाई आएन । अर्को नम्बर कतैबाट मागेर फोन गरेँ । रेस्पोन्स भएन । नजिकको साथीलाई फोन गरेर खबर छोडेँ । केही उपाय नलागेपछि प्रहरीलाई लगेर बुझाएँ । भेटेको घडी फर्काएर पनि चोर हुनुपर्ने, यो के अचम्म हो ? बरु एकचोटि गोली हानेर मलाई मारिदिए हुन्छ । तर, नभएको कुरालाई लिएर, जीवनभरि मेरा शाखासन्तान नै मर्ने काम, के गरेको हो यो ? 0

टिप्पणीहरू