छोरीले रिस पोखेरै छाडिन्- ‘ब्ल्याक डे इन दी हिस्ट्री अफ जस्टिस !’

लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले आइतबार अपराह्न साढे चार बजे अख्तियार प्रमुखका रुपमा अयोग्य ठहर गर्दै नियुक्ति बदर गरेको साढे चार घण्टापछि फेसबुकको भित्तामा भेटिएको टिप्पणी हो यो । चिकित्सा पेशामा रहेकी र अख्तियारमै विज्ञको रुपमा भर्ति गरिएकी लोकमानपुत्री आध्याले राति ९ बजेर १ मीनेट जाँदा त्यसदिनलाई ‘अदालती इतिहासको कालो दिन’ घोषणा गरिन् ।

छोरीले बाबुलाई सहानुभूति प्रकट गर्दै यस्तो टिप्पणी गर्दा साहित्यकार नरेन्द्रराज प्रसाईले पाँच मीनेटपछि लोकमानलाई ढाडस दिँदै लेखे, ‘प्रधानन्यायाधीश नै मन्त्रिपरिषद् अध्यक्ष भएर गरेको निर्णय पनि उल्टियो । इतिहासले यसबारे के लेख्ला ?’

लोकमानले टंगालस्थित सरकारी निवासबाट सोमबारदेखि नै व्यक्तिगत सामान बानेश्वर सार्न थालेका छन् । उनी भने आज बुधबार भाइ बालमानसिंहको घरमा सर्दैछन् । उनको निजी घर पनि बानेश्वरमै छ । तर, उक्त घर महिनावारी तीन लाखका दरले भाडामा लगाइएको र भाडावाललाई बीचमै निकाल्न नमिल्ने कारण भाइको घरमा सर्न लागेको बताइन्छ ।

सोमबार अख्तियारको कार्यालयीय अभिलेखमा पनि लोकमानको पदावधि उल्लेख नहुने निर्णयपछि उनले त्यही संस्थाको पूर्वप्रमुखका हैसियतले पाउने सुरक्षा कटौती भएको छ । अर्थात्, सरकारी अभिलेखमा उनी अख्तियारका ‘पूर्वप्रमुख’ पनि भनिने छैनन् । तर, उनले आफूलाई सुरक्षा चाहिने र दिने भनी वामदेव गौतम गृहमन्त्री छँदा भएको निर्णय देखाउँदै गृहलाई पत्राचार गर्न दबाब दिए । त्यस्तो दबाबपछि सोमबारै अख्तियारले गृहलाई चिठी लेखेको छ । चिठीमा ‘निजले सुरक्षा माग गरेको, तर कार्यालयीय अभिलेखबाट उनको विवरण हटाउँदा सुरक्षा दिन नसकिने’ व्यहोरा उल्लेख छ ।

गृहले उनी सेवानिबृत्त भएपछि संवैधानिक अंगका पूर्वप्रमुखसरहको सुरक्षा व्यवस्था मिलाइने निर्णय गरेको थियो । तर, आइतबार अदालतको फैसलामा उनी ‘निबृत्त’ नभई ‘अयोग्य’ ठहर भएका छन् । अख्तियारले लोकमानको मन राखिदिन ‘निजले माग गरेको’ भाषा प्रयोग गरी पत्राचार गरेको हो । तर, सोमबारै लोकमानको सरकारी निवासमा बसेर गोबद्र्धन श्रेष्ठ योजना बनाउँदै थिए, हाल कार्यरत सई उत्तम भण्डारीकै कमाण्डमा नेपाल प्रहरीका १५ कर्मचारी खटाउने । अख्तियारका डिआइजी देवेन्द्र सुवेदीले सर्वोच्चको फैसलालगत्तै उनको सुरक्षार्थ तैनाथ प्रहरी टोली फिर्ता बोलाएका थिए । तर, केही दिन (सरकारी निवास नछाडुञ्जेल) भए पनि टोलीलाई रहन दिन अनुरोध आएपछि हिजोसम्म उनीसँग सुरक्षाकर्मी थिए ।

त्यस्तै, लोकमान निकटस्थ अर्थ समूहका शाखा अधिकृत नारायण अधिकारी सरुवा भएर धनगढी कर कार्यालय पुगेका छन् । सहसचिव कृष्णहरि पुष्कर, डिएसपी दानबहादुर कार्की र इन्स्पेक्टर शिव बस्नेतहरुको सम्पत्ति छानवीन गर्ने तयारी चल्दैछ । उता, लोकमानलाई दिनदिनै पशुपतिबाट चन्दन ल्याइदिने प्रहरी शम्भु ठाकुर अहिले कलंकीको चार आना जग्गामा चार तले घर बनाइरहेका छन् ।

टिप्पणीहरू