पूर्वराष्ट्रपतिका छोरा केही उपाय नलागेपछि आमरण अनसनमा

पूर्वराष्ट्रपतिका छोरा केही उपाय नलागेपछि आमरण अनसनमा

क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा धाँधली भएको र आवश्यक छानबिन गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा गत बिहीबारदेखि धर्नामा बसेका असन्तुष्ट नेता तथा कार्यकर्ताले आजदेखि आमरण अनसन थाल्दैछन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाका असन्तुष्ट नेता तथा कार्यकर्ताहरू संस्थागत निर्णय कार्यान्वयनको माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना बसेका थिए । त्यसमा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादवसमेत सहभागी छन् ।

उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको,पार्टीको विधान,नियमावली र केन्द्रीय परिपत्र विपरित एकपक्षीय ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरेको दाबीसहित निर्णय सच्याउन माग गरेका हुन् । निरन्तर पार्टी कार्यालयमा धर्ना बसे पनि नेतृत्वले आफ्नो आवाज नसुनेपछि आजदेखि आमरण अनसनमा बस्न लागेको ज्ञापन पत्रमार्फत् जानकारी गराएका छन् ।

नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखिएको ज्ञापनपत्रमा भनिएको छ, ‘विगतमा क्रियाशील छानबिन समिति र केन्द्रीय कार्य समितिमा लिखित जानकारी दिइसकेको एवम् जिल्लाको प्रारम्भिक छानबिन समितिले सर्वसम्मत निर्णय गरी प्रतिवेदन पेश गरिसकेकाले सोउपर सुनुवाई नभएको हुँदा बाध्य भई धर्ना कार्यक्रमलाई सशक्त रुपमा प्रस्तुत गर्दै आमरण अनसनमा बस्ने निर्णय गरिएको छ ।’

आमरण अनसनमा धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव,महासमिति सदस्य रामपल्टन साह र तरुणदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक बस्ने जनाइएको छ । अनसनलाई पूर्व सांसद प्रेमकिशोरप्रसाद साह, महाधिवेशन प्रतिनिधि रामउदय यादव, रामकृष्ण मण्डल,सबैला नगरका नगर सभापति विजयशंकर साह,अर्का नगर सभापति रामसत साह, प्रदेशसभा सदस्य सञ्जयकुमार महतो र जिल्ला सदस्य साकिर राइनले समर्थन गरेका छन् ।

टिप्पणीहरू