हिन्दू धर्मका सङ्गठनहरुवीच हातेमालो

हिन्दू धर्मका सङ्गठनहरुवीच हातेमालो

धार्मिक क्षेत्रको एकता तथा गठबन्धनबारे सनातन धर्म महासंघ नेपालले तीन बुँदे धारणा प्रस्तुत गरेको छ । धार्मिक क्षेत्रको एकता वा गठबन्धन सम्बन्धमा धेरै चर्चा, बैठक,सरसल्लाह,बहस तथा कतिपय सत्संग पनि हुने गरेको बताउँदै धार्मिक क्षेत्रको एकता वा गठबन्धनको प्रयासलाई उत्साहपूर्वक समर्थन गर्न महासंघले स्पष्ट धारणा प्रस्तुत गरेको बताइएको छ ।

महासंघले एकता वा गठबन्धनका लागि पहल,स्वामित्व,सत्संगको आयोजना र औपचारिक वार्ता संस्थागत तहमा हुनुपर्ने,एकता वा गठबन्धनका लागि आ–आफ्नो संस्थाबाट विचारविमर्श र वार्तामा प्रतिनिधित्व गर्ने अधिकारसम्पन्न वार्ताकार वा वार्ताकार समूह तोक्नुपर्ने उल्लेख गरेको छ । वार्ताका लागि सनातन धर्म महासंघले आफ्नो निर्णय गरेको र एकता वा गठबन्धनका लागि महासंघका तर्फबाट संस्थापक अध्यक्ष डा.निर्मलमणि अधिकारीले पहल,समन्वय र वार्ता गर्ने निर्णय भएको बताइएको छ ।

त्यसैगरी एकता वा गठबन्धनको कार्यसूची (एजेण्डा),सिद्धान्त र नीतिबारे विचार विमर्श पहिलो प्राथमिकतामा पर्नुपर्ने,साझा कार्यसूचीको प्राथमिकतामा धार्मिक क्षेत्रका कर्तव्यहरूलाई जोड दिनुपर्ने,साझा कार्यसूची (एजेण्डा), सिध्दान्त र नीतिमा सहमति भएपछि साझा नेतृत्वको चयन,सिद्धान्त र नीतिका सवालमा पूर्ण स्पष्टतालाई प्राथमिकतामा राख्ने र नेतृत्वको सवालमा अधिकतम उदारतापूर्वकको व्यवहार प्रस्तुतिलाई दोस्रो बुँदामा राखिएको छ ।

नेपालका हिन्दू,बौध्द,किरात, बोन, जैन,शिख आदि धर्मावलम्बीहरूको साझा संस्था बनाउने उद्देश्य राखेको महासंघले उक्त धर्ममध्ये कुनै एउटा पक्षको मात्र गठबन्धनमा सीमित रहनु सनातन धर्म महासंघको उद्देश्य विपरित हुने बताएको छ ।

कुनै पनि पक्षका अनेकौँ संस्था र महासंघहरू (विश्व हिन्दू महासंघ, नेपाल बौद्ध महासंघ) पहिल्यै स्थापना भइसकेको जनाउँदै सनातन धर्म महासंघ हिन्दू,बौद्ध, किरात,बोन,जैन,शिख आदि सबैको साझा संस्था हुनुपर्ने युगीन आवश्यकता बन्दै गएको विश्लेषण गरिएको छ । सोही सन्दर्भमा ती सबै पक्षलाई साझा मञ्चमा ल्याउन पहल गर्ने धारणा महासंघले प्रस्तुत गरेको दाबी गरिएको छ ।

टिप्पणीहरू