बुबा कसैको दबाब र प्रभावमा हुनुहुन्न « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

बुबा कसैको दबाब र प्रभावमा हुनुहुन्न

प्रकाशित मिति :  २४ पुष २०७३, आईतवार ०८:२५


  • प्रकाश दाहाल, प्रचण्डपुत्र

पुष्पकमल दाहाल (प्रचण्ड) ले दोस्रोपटक प्रधानमन्त्री पद सम्हालिरहँदा छोरा प्रकाश दाहाल अघिल्लोपटकको तुलनामा बढी चर्चामा छन् । कारण हो, उनी बुबाको स्वकीय सचिव पनि आफैँ । सशस्त्र संघर्षका दौरान औपचारिक शिक्षा हासिल गर्न समस्या भएपछि बुबासँगै मोर्चामा डटेका उनी बालवयदेखि नै माओवादी पार्टीमा काम गरेका व्यक्ति हुन् । तर, अक्सर त्यसरी उनीबारे चर्चा गरिँदैन । मदिरा र महिलाः प्रकाश बढी आलोचित हुने विषय हुन् यी । जनआस्थाले उनलाई यिनै सन्दर्भमा प्रश्न गरिरहँदा उनी भने सचेतताका साथ पेश भए ।

० पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा पिए बन्ने मान्छे नपाएर हो वा के कारणले हो, बुबा प्रधानमन्त्री, छोरो स्वकीय सचिव हुने अवस्था भएको ? यो त गिरिजाले चलाएको नातावाद भन्दा पनि बढ्ता भएन र ?

– रूपमा हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर, म २०५४ सालदेखि निरन्तर माओवादी आन्दोलनमा छु । बाल्यकालदेखि सबै लगानी यही पार्टी र आन्दोलनमा छ । व्यक्तिगत सोचिएन, देश र जनताको सेवा गर्ने र क्रान्तिमै जीवन देख्ने अभियानमा लामवद्ध भएँ । यसरी हेर्दा मेरो व्यक्तिगत भूमिकालाई बुवबको सम्बन्धसँग जोडेर हेर्नु हुन्थेन । माओवादी पार्टी र आन्दोलनमा मेरो जत्तिकै भूमिका निर्वाह गरेका साथीहरू मभन्दा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ भन्ने यथार्थ पनि बिर्सन मिल्दैन । हिजो सम्पूर्ण कुरा छोडेर भूमिगत हुँदा योग्यता र सम्बन्धमा प्रश्न नउठ्ने, अहिले खुला राजनीतिमा आएपछि पारिवारिक सम्बन्धसँग जोड्ने कुरा सच्चा नियतको तर्क हो जस्तो लाग्दैन ।

१७ वर्षदेखि पार्टी अध्यक्षको सचिवालयमा छु । म जतिबेला बालुवाटारमा स्वकीय सचिवको रूपमा आएँ, त्यसभन्दा पहिला पार्टी अध्यक्षको सचिवालयमै थिएँ । बुवब प्रधानमन्त्री भएपछि अध्यक्षको सचिवालयमा काम गरिरहेका साथीहरू प्रधानमन्त्रीको सचिवालयमा आउनु भयो, यसै सन्दर्भमा म पनि आएँ । अध्यक्षको सचिवालयमा जुन भूमिकामा थिएँ, प्रधानमन्त्रीको सचिवालयमा रहँदा पनि उपयोगी ठानेर नै पार्टी निर्णयबमोजिम स्वकीय सचिवमा आएको हुँ । यसलाई बाबु–छोराको पारिवारिक सम्बन्धका आधारमा मात्रै हेर्नु न्यायोचित हुँदैन ।
० व्यक्तिगत सन्दर्भ निकालेर तपाईंको आलोचना गर्नेहरू पार्टीभित्रै र बाहिर पनि धेरै छन् । यो कुरा बुवबको व्यक्तित्व र नेतृत्वसँग पनि जोडिने गर्छ । तपाईंकै कारण बुबा पनि आलोचित हुने स्थितिमा पिए बस्नेजस्तो कुराबाट पन्छिन मन लाग्दैन ?

– व्यक्तिगत रूपमा गरिने टीका टिप्पणीतिर जान चाहन्नँ । सबै व्यक्तिमा गुण र दोष अवश्य नै हुन्छन्, त्यसबाट म पनि बिमूख छैन । तर, व्यक्तिको जीवन र घटनाक्रमलाई सधैं सुनियोजित सोंचका साथ हेरिनु हुँदैन । जसरी माओवादी आन्दोलन, पार्टी र नेतृत्वलाई हेर्ने सन्दर्भमा नेपाली समाजमा दुई फरक दृष्टिकोण र धारणा छन्, त्यसको प्रभाव ममाथिको टिप्पणीमा पनि पर्ने गरेको छ । म स्वकीय सचिवालयमा रहरले होइन, बुवब प्रधानमन्त्री भएपछि यसपटक उहाँको कार्यकाल सफल र नमूनायोग्य बनाउनुपर्छ भन्ने सोंचसहित आएको हुँ । व्यक्तिगत रूपमा गरिने टिप्पणीको पछि लागेर राष्ट्र र जनताको जिम्मेवारी भूल्दिनँ र भूल्नु पनि हुँदैन ।

० प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका अरु व्यक्तिहरू भूमिकाहीन भए, सबै काममा तपाईंको चासो र हस्तक्षेप बढी भयो भन्ने कुरा जिम्मेवार व्यक्तिबाटै हुने गरेको छ नि !

– मलाई त्यस्तो लाग्दैन । प्रधानमन्त्रीको सचिवालयमा सबैको स्पष्ट कार्यविभाजन छ । सबैले आफ्नो काम गरी रहनुभएको छ । व्यक्तिगत दक्षता र सीमा पनि होलान्, अनि कतिपय सन्दर्भमा जनताबाट आउने अपेक्षालाई उपेक्षा गर्न पनि मिल्दैन । कहिलेकाहीँ जनताका समस्या तुरुन्तै समाधान गर्ने पहल लिँदा सबै कुरा नापतौल पनि नहोला । तर, हाम्रो सचिवालयमा कसैको अवमूल्यन, कसैको भूमिकामाथि हस्तक्षेप वा कोही भूमिकाहीन बन्नुपर्ने परिस्थिति छैन ।

० संविधान संशोधन विधेयक अगाडि नबढाई स्थानीय निकायको निर्वाचन नगर्ने प्रधानमन्त्रीको अडान छ । तर, प्रतिपक्षी दल संशोधन विधेयक फिर्ता वा थाती नराखेसम्म सदन चल्न नदिनेमै छन् । प्रधानमन्त्रीचाहिँ संशोधन विधेयक असफल नै भए पनि टेबुल गर्नसम्म पाउनुपर्ने अडानमा हुनुहुन्छ । यस्तो अप्ठेरो अडान लिन प्रधानमन्त्रीलाई कहाँबाट दवाव वा कसको प्रभाव छ ?

– राजनीतिक परिस्थिति अहिले पनि चुनौतीपूर्ण छ । प्रधानमन्त्रीको निरन्तर प्रयत्न संविधानको स्वीकार्यता बढाएर निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन गर्नेमै छ । मधेशी मोर्चा र प्रतिपक्षी दलका परस्परविरोधी अडानको बीचबाट समाधान खोज्ने कुरा चुनौतीपूर्ण र कलात्मक दुवै छ । प्रधानमन्त्री साझा सहमतिको बिन्दुका आधारमा संविधान कार्यान्वयनमा प्रयत्नशील हुनुहुन्छ । उहाँ कसैको दवाव वा प्रभावमा हुनुहुन्न । तर, राष्ट्रिय सहमति र एकताका लागि सबैको भावनाको सम्बोधन गर्दै अघि बढ्न लचिलो हुनुहुन्छ । यो नै अहिलेको सन्दर्भमा राष्ट्रप्रतिको सही कदम पनि हो ।

० हालै सार्वजनिक प्रधानमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो भयो भनिँदैछ । किन त्यस्तो विवरण पेश भएको होला ? तपाईंकै नाममा पनि पोखरामा प्रकाश टावर, हजुरबुवबका नाममा नयाँ बानेश्वरको मुक्ति टावर बनेको चर्चा गरिन्छ । वास्तविकता के हो ?

– यथार्थ त्यही हो । पत्याउने वा नपत्याउने व्यक्तिगत अधिकारको कुरा हो, यसमाथि कुनै टिप्पणी गर्नु छैन । तर, चिन्ताका साथ प्रधानमन्त्रीको सम्पत्ति बिवरणमाथि आशंका गर्नेहरूले प्रचण्डको समग्र जीवन, त्याग बलिदानीको इतिहास र इतिहासका कालखण्डमा उहाँले गरेका निर्णय पढ्ने र विश्लेषण गर्ने हिम्मत गर्नैपर्छ । बुवब माओवादी पार्टीको महामन्त्री र जनयुद्धको कमाण्डर हुनुहुन्थ्यो, पार्टीले नेताहरूको सम्पत्ति पार्टीकरण गर्ने सोंच पहिल्यैदेखि राखेको थियो । ०३५ सालसम्म हाम्रो ३ बिघा जमिन थियो । तर, युद्धको आर्थिक समस्या समाधान गर्न र पार्र्टी निर्णय कार्यान्वयन गर्न बुवबले सम्पत्ति बेच्नुभयो ।

०५४ सालसम्म पुग्दा हाम्रो शिवनगरमा ६ कठ्ठा र भरतपुरमा १ कठ्ठा जमिन थियो । बुवबले २०५४ सालमै शिवनगरको जमिन छोराछोरीको नाममा र भरतपुरको जमिन आमाको नाममा अंशबण्डा गर्दिनुभएको हो । अहिले बुवबले पेश गरेको १ कठ्ठाको विवरण आमाको नाममा रहेको जमिन हो । यसबाहेक गरिएका तर्क, आशंका र प्रचारहरू माओवादी पार्टी, बुवब र हाम्रो परिवारको चरित्र हत्या गर्न र ‘पोलिटिकल ब्ल्याकमेलिङ’ गर्न अघि सारिएका नियोजित प्रचार हुन् ।

० आजकल दुई–चार पेग पिउने क्रम बन्द छ कि जारी छ ?

– नियमित पिउने बानी कहिल्यै थिएन । एकपटक निदाएको बेलाको फोटो सार्वजनिक गरेर त्यसबाट मेरो चरित्रहत्या गर्ने कोशिस गरियो । म रक्सी पिउँदिन, त्यसबाट बिल्कुल अलग छु, शंकाले लंका जलाउनेहरूका लागि त के जवाफ हुन सक्ला र ?

० सिर्जना त्रिपाठीसँग विवाह गरेर, छोरा जन्मिएपछि बीना मगरसँग सम्बन्ध राख्नुभयो, त्यो पनि लुकीछिपी । अहिले पत्नीकै रूपमा भिœयाउनुभएको छ । यस्तो किन भयो ? सिर्जनालाई कानुनी रूपमा पत्नी स्वीकार्न र छोराको जन्मदर्ता गराइदिन कहाँ समस्या आयो ?
– विगतमा मेरो तर्फबाट प्राविधिक कमजोरी भएको हो, जुन कुरा सार्वजनिक रूपमै स्वीकार गरिसकेको छु । मेरो प्रष्ट मत छ, ‘कोही पनि अन्यायमा पर्नु हुँदैन । पारिवारिक मामिलामा जे गरेर दुवै पक्षलाई सहज र न्याय हुन्छ, त्यसका लागि सधैं तयार छु ।’ समस्या आइसकेपछि त्यसको दीर्घकालीन समाधान खोजेर अघि बढ्नु नै उत्तम हुन्छ, यसलाई दाउपेच वा राजनीतिक लाभ–हानीको विषय नबनाएर उपर्युक्त निकासमा पुग्नुपर्छ भन्ने लाग्छ ।

० रेखा थापालाई तपाईंले ह्यारेस गरेर पार्टी छोड्ने स्थितिमा पु¥याएको चर्चा भयो । वास्तविकता के हो ?

– जनयुद्धको राप र तापले रेखा थापाजस्ता लाखौं नेपालीहरू माओवादी आन्दोलनमा आउनुभयो । राजनीतिमा उतारचढाव आयो, उहाँहरूले सोचेजस्तो सबै कुरा सम्भव पनि भएन होला । राजनीति बक्ररेखामै अघि बढ्छ । जहाँसम्म रेखा थापाको बहिर्गमनसँग मलाई जोडेर प्रचार गरिएको छ, यो बिल्कुलै भ्रामक र कपोलकल्पित छ । जसरी केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ममाथि आरोपित गरियो, यो पत्रकारिता नभएर पत्रकारिताका नाममा गरिएको जघन्य अपराध हो । सत्य, तथ्य र प्रमाणबिना मान्छेको चरित्र हत्या गर्नेहरू कानुनको दायरामा आउनुपर्छ ।

० प्रचण्ड रहँदासम्म पार्टीमा रहनुहोला, त्यसपछि तपाईंका विरोधीले बसिखान दिँदैन भन्छन्, आलोचकहरू । के लाग्छ ?

– प्रचण्ड भएका कारणले मात्र होइन, मेरो आफ्नै रगत, पसिना र संघर्षका बलमा माओवादी पार्टीमा छु, जसरी प्रचण्डसँग व्यक्तिगत नाता वा सम्बन्ध नभएका हजारौं योद्धाहरू छन् । जहाँसम्म मेरो भविष्यको कुरा छ, म मेरो संघर्ष र लक्ष्यमा बाँच्छु । माओवादी पार्टीमा दर्जनौं नेता हुनुहुन्छ, लाखौं कार्यकर्ता र शुभचिन्तकहरू हुनुहुन्छ । उहाँहरूसँगको सहकार्यकै आधारमा मेरो राजनीतिक जीवन अघि बढ्छ । मेरो कसैसँग नराम्रो सम्बन्ध हुनुपर्ने र हुने कारण छैन ।

० प्रकाशले भित्रभित्रै सम्पत्ति थुपारेको छ भन्छन् । खासमा कति पैसा कमाउनु भएको छ ?

– भित्रभित्रै सम्पत्ति थुपारेको थाहा पाउने साथीहरूले कहाँ, कति सम्पत्ति छ, प्रमाणसहित सार्वजनिक गरी दिनुभए आभारी हुन्छु । भ्रमको खेती गर्नेहरूको कुनै औषधि हुँदैन । तर, आफ्नो भ्रमको धन्दा कति टिक्ला भन्ने चिन्ता गर्दा उहाँहरूकै हित होला कि ?

० माओवादीहरू राजनीतिभन्दा बढी कमाउने, आफू बन्ने कुरामा केन्द्रित भएर बिग्रिए भन्ने टिप्पणीबारे के भन्नुहुन्छ ?

– माओवादी आन्दोलनमा समस्या छँदै छैन म भन्दिनँ । तर, माओवादी नेताहरूले समाजवाद र साम्यवादको आदर्श भुले, सबै कमाउ धन्दामै छन् भन्ने प्रचार सत्य होइन । जनता, वर्ग र लक्ष्यप्रति निष्ठा जीवित नभएको भए चौतर्फी हमला हुँदा पनि माओवादी आन्दोलन यो रूपमा रहन सम्भव थिएन । रुखको एउटा हाँगो सुक्दैमा सिङ्गो रुख नै सुक्यो भनेर अर्थ लगाउनु न्यायोचित हुँदैन । ‘तिललाई पहाड र पहाडलाई तिल’ बनाएर गरिएको प्रचार धेरै टिक्छ जस्तो लाग्दैन ।


प्रतिक्रिया दिनुहोस !