२० बाट झरेर १५, १२ बाट बढेर १७

२० बाट झरेर १५, १२ बाट बढेर १७

केपी ओलीको सत्ता बहिर्गमनको ‘साइड इफेक्ट’ विभाजनको संघारमा उभिएको जनता समाजवादी पार्टी (जसपा)मा समेत देखिएको छ । ओली सरकारमा जाने महन्थ ठाकुर खेमाको निर्णयलाई साथ दिएका पाँच सांसद ओलीको बहिर्गमनसँगै क्याम्प परिवर्तन गरेर उपेन्द्र यादव समूहमा पुगेपछि जसपाको आन्तरिक किचलोमा सत्ता परिवर्तनको प्रभाव परेको हो ।

यसअघि महन्थ खेमामा उभिएका चार सांसद आज उपेन्द्र यादव खेमाको संसदीय दलको बैठकमै सहभागी भएका छन् । सांसदहरु प्रमोद साह,अमृता अग्रहरि,नरमाया ढकाल र रानी मण्डल बैठकमा सहभागी भएका हुन् । बैठकमा उपस्थित नरहेकी अर्की सांसद रुही नाज पनि उपेन्द्र समूहमा आउने तयारीमा रहेको बुझिएको छ ।

जसपामा सत्ता गठवन्धनलाई लिएर चर्किएको दुई पक्षीय विवादमा सांसदहरुले कित्ता परिवर्तन गरेका थिए । यसअघि उपेन्द्र समूहमा रहेका विमल श्रीवास्तव,उमाशंकर अरगरिया,कलुदेवी विश्वकर्मा, रेनुका गुरुङ्ग र रुही नाज महन्थ खेमामा पुगेका थिए । त्यस्तै,महन्थ खेमाका महेन्द्र राय यादव उपेन्द्रतिर आए ।

पाँच सांसदले साथ छोडेसँगै पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेको महन्थ खेमा संसदीय दलमा पनि कमजोर बनेको छ । पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको उपेन्द्र खेमा भने थप बलियो देखिएको छ । अब संसदीय दलमा उपेन्द्र पक्ष १२ बाट १७ मा पुगेको छ भने महन्थ खेमा २० बाट १५ मा झरेको छ ।

जसपाका ३४ जना संसदमध्ये एक जना पप्पु कन्स्ट्रक्सनवाला हरिनारायण रौनियार निलम्बनमा छन् भने रेशम चौधरी जेलमा छन् । हाल कायम ३२ जनामध्ये समाजवादी र राजपाको एकतापूर्व दुवैतिर १६-१६ जना थिए ।

टिप्पणीहरू