मर्नलाई जाने हो र जेल ?

सिन्धुली जिल्ला कारागारमा दैनिकजसो सामान्य कैदीबन्दीहरु नाइके, चौकीदारको कुटाई खाइ अंगभंग हुनुका साथै बिरामी परेर स्थानान्तरण हुन बाध्य छन् । केही महिनाअगाडि नेपाली सेनाका एक जवान सामान्य मुद्दामा कैदमुक्त हुन लाग्दा चौकीदार डम्बर श्रेष्ठ, नाइकेहरु अन्सी राइन, यम्बर तामाङ, विदुर कार्की र गणेशले निर्घात कुटपिट गरेका थिए ।

सिडिओलाई घटनाबारे तत्काल जानकारी गराउँदा उल्लेखित व्यक्तिहरुलाई कारागार स्थानान्तरण गरी कारागारमा कसैलाई पनि यातना नदिन कारागार कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । जेलर मातृका पहाडीले पनि पीडितलाई सान्त्वना दिएका थिए । तर केही कारबाही नभएपछि पीडितले कारबाहीको माग राख्दै कारागार व्यवस्थापन विभागमा मिति ०७३ मंसिर ५ मा दर्ता नं. १७४० मा निवेदन दर्ता गराए । सोही व्यहोराको निवेदन मानवअधिकार आयोगमा मंसिर ७ मा दर्ता गराएपछि दुवैतिरबाट घटनाको यथार्थ विवरण पठाउन पत्राचार भयो तर जेलरले जानकारी नपठाई उल्टै थुनिदिने धम्की दिँदै आएका छन् ।

कारागार व्यवस्थापन विभागको तीनवटा पत्रको पनि जवाफ पठाएका छैनन् । कारागार ऐनविपरीत कर्तव्य ज्यान मुद्दाका अन्सी राइनलाई मूलनाइके बनाई चौकीदार बनाइदिने भन्दै भर्खरै शिवचन्द्र यादवबाट पहाडीको राष्ट्रिय वाणिज्य बैंकको खातामा पाँच लाख रुपैयाँ हाल्न लगाएका छन् । केही समय यस्तै भए यस कारागारमा ठूलो घटना घट्नसक्नेतर्फ सम्बन्धित प्रशासनको ध्यान पुगोस् ।

– पीडित कैदीबन्दी

टिप्पणीहरू