‘महन्थ समूह छोडें,उपेन्द्रतिर गैहालेको छैन”,रुही नाज

‘महन्थ समूह छोडें,उपेन्द्रतिर गैहालेको छैन”,रुही नाज

जनता समाजवादी पार्टी (जसपा)की सांसद रुही नाजले आफू उपेन्द्र समूहको संसदीय दलको बैठकमा सहभागी नभएको बताएकी छन् । पार्टीको विवादमा आफू तटस्थ रहेको भन्दै उनले तत्काल कुनै समूहमा नजाने प्रष्ट पारिन् ।

यसअघि महन्थ ठाकुर समूहमा लागेका पाँच जना सांसद आज उपेन्द्र समूहको संसदीय दलको बैठकमा सहभागी भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो । उक्त समाचारको खण्डन गर्दै उनले आफू दुवैतिरको बैठकमा नगएको दाबी गरिन् । ‘म इदको लागि घर आएको छु । आजको बैठकमा म सहभागी भएको भन्ने कुरा सत्य होइन । मिडियाले त्यसै लेखेका हुन् । पार्टीको विवादमा म अहिले तटस्थ छु’, जनआस्थासँग कुरा गर्दै उनले भनिन् ।

सांसद नाजले महन्थ समूह छोडेको भने संकेत गरिन् । यसअघि महन्थ समूहलाई समर्थन गरेको भएपनि अहिले कतै नलागेको प्रष्ट पारिन् । कता लाग्ने भन्नेबारे केही दिनमा निर्णय गर्ने उनको भनाइ छ । ‘म अहिले काठमाडौँमा छैन । अध्यक्षज्यूहरुसँग कुराकानी पनि भएको छैन । काठमाडौँ फर्केपछि निर्णय गर्छु’,उनले भनिन् ।

यसअघि जसपाको विवादमा उनी महन्थ ठाकुर खेमामा लागेकी थिइन् । उनीसहित ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरि,रानी मण्डल,नरमाया ढकाल भने आजको उपेन्द्र पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

सत्ता गठवन्धनलाई लिएर शुरु भएको विवाद बढ्दै जाँदा जसपा विभाजनको संघारमा छ । महन्थ खेमा केपी ओली सरकारमा सहभागी भएपछि चर्किएको दुई पक्षीय विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ । विवाद निरुपणका लागि आयोगले इजलाससमेत गठन गरेको छ ।

पार्टीको कार्यकारिणी समितिमा बहुमतमा रहेको उपेन्द्र पक्ष महन्थ खेमाका पाँच सांसद फ़र्किएसँगै संसदीय दलमा पनि बलियो अवस्थामा देखिएको छ ।

टिप्पणीहरू