ओलीले विधान अधिवेशन किन रोज्नुभयो ?

ओलीले विधान अधिवेशन किन रोज्नुभयो ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले साउनमा गर्न खोज्नु भएको विधान अधिवेशनको अन्तर्य उमेर हद रहेको बुझिएको छ । पार्टी विधानमा रहेको उमेर हदको व्यवस्था हटाउनको लागि उहाँले विधान अधिवेशन गर्न लाग्नुभएको वारे थापाथली हाइटस्थित पार्टी कार्यालयको सचिवालय कोठामा चर्चा चलेको छ ।

ओली ७० वर्ष लाग्नुभएको छ । विधानमा ७० उमेर पुगेपछि पार्टीको सक्रिय नेतृत्वमा बस्न नपाइने व्यवस्था छ । त्यसैले त्योभन्दा अगावै विधान अधिवेशन गर्न खोजिएको हो । उहाँले विधान संशोधन गरेर पार्टीलाई आफ्नो अझै खाँचो रहेको सन्देश दिन खोज्नुभएको बताइन्छ ।

यता पार्टी विवाद हल गर्न गठित कार्यदलले ७० वर्ष उमेर हद सम्बन्धमा कुरो उठाएपछि ओलीले न रहे बाँस,न बजे बाँसुरीको पाराले कार्यदललाई नै विघटन गरिदिनुभएको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल,ललितपुरमा बसेको स्थायी समिति बैठकमा ओलीले कार्यदल भंगको निर्णय सुनाउनुभएको थियो । कतिपयले कार्यदलले बनाएको सहमतिको खाका कार्यान्वयन गर्नसमेत अर्को कार्यदल बनाउने तयारी भएको बताएका छन् ।

सहमतिबमोजिम २०७५ जेठ २ मा फर्कंदा सबैजसो जिल्ला कमिटी सञ्चालनमा बाधा उत्पन्न भएको छ । घोषित रुपमा जिल्लामा दुई वटा अध्यक्ष रहेको हालको अवस्थामा व्यवहारिक कठिनाई देखिएको हो । त्यसैले कार्यदलका सदस्यहरू गएर जिल्लाको बैठकमा सहजिकरण गर्ने र निर्णय हस्तान्तरण गर्ने भन्ने कार्यदलको कन्सेप्ट रहेको छ । कतै माधवको मान्छे अध्यक्ष भनिएको छ,कतै ओलीकोलाई अध्यक्ष तोकिएकाले असहज अवस्था छ । त्यसैले कार्यदलले अध्यक्ष मण्डलको भूमिकामा समस्या समाधान गर्ने योजना बनाएको हो ।

हिजो माओवादीसँग पार्टी एकता गर्नुअघि कायम रहेका निर्वाचित अध्यक्ष र सचिवको अवस्थामा एकतापछि फरक परेको थियो । एकतापछि गठित जिल्ला कमिटीमा कहिँ पनि नेपालनिकट मान्छेलाई अध्यक्षको जिम्मेवारी दिइएको थिएन । कतिसम्म गरिएको थियो भने,बाँकेमा नेपालका मान्छेलाई दिनुपर्छ भनेर ओलीले जिल्ला कमिटीको अध्यक्ष र सचिव दुबै माओवादीलाई दिएर टण्टै साफ गर्नुभयो ।

यता,नुवाकोटमा नारायण खतिवडाको ठाउँमा बद्री मैनालीलाई अध्यक्ष बनाइयो । त्यसैले कार्यदलबाट अध्यक्ष मण्डलको रुपमा टोली गएर जिल्ला कमिटीको बैठक बोलाउँदै सौहार्द्रताका साथ अध्यक्ष घोषणा गर्ने कार्यदलमा सहमति भएको बताइन्छ ।

टिप्पणीहरू