राजमार्गको व्यथा : छिनमै खुल्छ छिनमै अवरुद्ध

राजमार्गको व्यथा : छिनमै खुल्छ छिनमै अवरुद्ध

– शंकर श्रेष्ठ, धादिङ

पृथ्वीराजमार्ग हिजोआज छिनछिनमै अवरुद्ध हुन्छ । कहिले पहिरोले झ्याप्पै छेक्छ त कहिले लेदो माटोले । पानी प¥यो कि पहिरो खस्न थालिहाल्छ । सडक हिलाम्मे बनिहाल्छ । अनि सवारी आवागमन ठप्प बन्छ । विशेषगरी धादिङमा पर्ने मलेखु–मुग्लिनखण्ड र चितवनमा पर्ने मुग्लिन नारायणगढ खण्डमा पानी पर्नेबित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको छ । कारण, सडक माथिबाट झरेको लेदो र पहिरो नै हो ।

नेपालको पहाडी क्षेत्रका अधिकांश राजमार्गमा प्रत्येक बर्खा पहिरोको समस्या दोहोरिने गरेको छ । बर्सेनि मानिसले अकालमै ज्यान गुमाउनुपरेको छ । यात्रामा निस्कँदा बाटो सम्झेरै झस्किनुपर्छ । पृथ्वीराजमार्ग मात्रै होइन, त्रिभुवन, अरनिको र सिद्धार्थ राजमार्गमा पनि यो समस्या छ ।

पृथ्वीराजमार्गमा यो वर्ष मात्रै दर्जनभन्दा बढी सवारी पहिरोले पुरिसकेको छ । धादिङको जोगिमारा, चितवनको चारकिलो र कालिखोला क्षेत्रमा हरेक वर्ष दर्जनभन्दा बढी गाडी पुरिने गरेको छ । तर, सडक माथिबाट झरेको पहिरोले हालसम्म कति सवारीमा क्षति पुग्¥यो त्यसको यकिन तथ्यांक भेटिँदैन । स्थानीयका अनुसार गएको तीन दशकमा करिब दर्जन गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन् ।

सडक माथिबाट मात्रै होइन, सडकको तल्लो भागबाट पहिरो झरेर र पानीले खोलिएर पनि थुप्रै ठाउँमा सडक नै भासिएका छन् । बेनीघाटको झिल्केडाँडा, इच्छाकामनाको फिस्लिङमा यो वर्ष पनि वर्षातको शुरुदेखि नै सडक भासिएर एकतर्फी छ । चर्किएका र पहिरिन तयार भएका स्थानको त गन्ती गरिसक्नु छैन । पहिरो र लेदोले राजमार्गका पुल र कल्भर्टमा पनि क्षति पुग्ने गरेको छ । पोहोरसाल धादिङ र चितवनको सिमानामा रहेको जवाङ पुलकै एक भागबाट सडक नै बगेर त्रिशूलीमा मिसियो । वर्षाको समयमा मात्रै हैन, हिउँदमा पनि सडकमा सुख्खा पहिरो खस्ने गरेका छन् ।

किन खस्छ सडकमा पहिरो ?

सडक डिभिजनको तथ्यांकअनुसार पृथ्वीराजमार्गसँग जोडिएर मात्रै ८३ वटा शाखा सडक खनिएका छन् । मुग्लिन नारायणगढ सडकमा १२ वटा शाखा सडक छन् । पछिल्लो समय राजमार्ग बिग्रिनुको कारण राजमार्गसँग जोडेर खनिएका शाखा सडक नै हुन् । पछिल्ला वर्ष निर्माण भएका ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा राजमार्गमा देखिएको जानकारहरू बताउँछन् ।

बिग्रिएपछि मात्रै बनाउने र निर्माणका क्रममा भविष्यमा समस्या आउँछ भनेर सोच्दै नसोच्ने प्रवृत्तिका कारण सडक सुरक्षित बन्न नसकेको पूर्व डि.ई अर्थात्् भूगर्भविद् नरेशमान शाक्य बताउँछन् । ‘स्थानीय तह लागु भएपछि गाउँ गाउँमा सडक खनिए तर व्यवस्थित बनाउनतिर ध्यान दिएनन्’, शाक्य भन्छन्, त्यही सडक खनेको ढुंगामाटो र त्यही सडकबाट जथाभावी बगेको पानी राजमार्गमा आइपुग्¥यो ।’ जथाभावी बगेको पानीले जमिन कटान गर्ने र त्यही लेदोमाटो राजमार्गमा थुप्रिन आइपुगेको उनले बताए ।

सडकको आडैमा बगिरहेका र पुल बनाएर ‘क्रस हुने नदी, खोला र नालामा पानी नियन्त्रणको काम पनि योजना बनाएर हुने गरेको छैन । जसले गर्दा वर्षामा ठूलो भेल आउँदा त्यसले पुल र कल्भर्टमा सीधै क्षति पु¥याउने गरेको शाक्यको भनाइ छ । पहिरो नै नझरी सडकका दायाँबायाँ नयाँ पर्खाल लगाएको रेकर्ड कमै मात्र छ । त्यसैले पनि राजमार्गमा माथिबाट पहिरो खस्ने, सडक नै भासिनेलगायत समस्या आउने गरेको छ । ‘संवेदनशील भूबनोटबाट सडक लैजानु नेपालको समस्या हो तर पूर्वसावधानी र तयारी गर्ने परिपाटी छैन’ शाक्य भन्छन्, ‘सडक खन्दा र बनाउँदा खल्बलिएका भागलाई स्थिर बनाउन वैज्ञानिक प्रविधि प्रयोग नगर्नु मूल समस्या हो ।’

प्राविधिकको परामर्शबिनै खोलिएका सडकले पछिल्लो समय राजमार्गमा क्षति पुग्ने गरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए । ‘मुग्लिनदेखि नौबिसेसम्म मुख्य राजमार्गका अधिकांश क्षेत्रमा शाखा सडक विस्तार गरिएको छ, जसले गर्दा पानी पर्नासाथ ढुङगा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ’, खनालले भने, ‘पहिरो खस्नुुमा ८० प्रतिशत शाखा सडक विस्तारका कारण हो ।’

भौगोलिक अध्ययनबिनै गरिएको संरचना निर्माण, सडक सञ्जालले राजमार्गलाई नै क्षतविक्षत बनाउने गरेको छ । ‘ग्रामीण सडक बिना डिजाइन खनिएको छ, इञ्जिनियरले नाप नक्सा बनाएकै भए पनि स्थानीय पहुँचवालाको दबाब र प्रभावमा उनीहरूको स्वार्थअनुसार डिजाइन फेरिन्छन्’ वातावरण संरक्षण अभियन्ता उत्तम कँडेलले भने, ‘बर्खामा पु¥याएको क्षतिको हिसाब कहिल्यै हुँदैन तर बर्सेनि यति किलोमिटर बाटो खनियो भनेर प्रगतिको बेलिविस्तार मात्रै गर्छन् ।’

सार्वजनिक सडक ऐन २०३१ मा राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउनुपर्ने व्यवस्था छ ।

०३१ सालमा खुलेको पृथ्वीराजमार्गको आवधिक मर्मत ०४९ सालमा भयो । तर, त्यतिबेला राजमार्गका सुरक्षात्मक पर्खालहरूको भने मर्मत भएनन् । राजमार्गमा खाल्डा टाल्ने काम भयो, खसेका सानातिना पहिरो रोकथाम गरियो । तर, सडकमाथिका भित्ता र तलका कान्ला जीर्ण हुँदै जाँदा पनि त्यसलाई बलियो बनाउने गरी अहिलेसम्म ठोस प्रयास भएका छैनन् ।

बनेका सडक सुरक्षित बनाउनेतिर कसैको ध्यान छैन । यसैकारण वर्षातमा सडकमा हुने क्षतिको दर पनि बर्सेनि बढ्दो छ । सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजन इञ्जिनियर बाबुराम सापकोटाका अनुसार काम नहुनुमा आर्थिक स्रोतको अभाव मुख्य कारण हो । तर, यही काम नगरिँदा हरेक वर्षातमा पृथ्वीराजमार्गले पहिरोको चपेटा भोग्नुपरेको छ । सापकोटा भन्छन्, ‘नेटिङ गरेर साना पहिरो रोकियो, ठूलो रोक्न सकिएन ।’ जोखिम पहिचान गरिएका भन्दा यो वर्ष नयाँ–नयाँ ठाउँमा पनि पहिरो झरिरहेको उनले बताए ।

मर्मतका नाममा सडकमा वर्षौंदेखि हरेक वर्ष पिचमाथि पिच थप्ने काम हुँदै आएको छ । तर, सडकलाई बाढी र पहिरोजस्ता जोखिमबाट जोगाउन भने ठूलो बजेट खर्च गरिएको छैन । सडक डिभिजन भरतपुरअन्तर्गत गजुरी क्याम्पका खड्का भन्छन्, ‘बिग्रिरहने सम्भावित ठाउँमा नदी कटान, वाल निर्माण र रूख बिरुवा लगाउने कामसमेत गर्न सकेको छैन ।’
इञ्जिनियर खड्काका अनुसार सडक पिपलमोडदेखि नारायणगढसम्म पृथ्वीराजमार्ग मर्मतमा हरेक वर्ष कम्तीमा १२ करोड खर्च हुँदै आएको छ ।

पहिरोको जोखिम भएका केही स्थानमा तारका जालीले बारेर ढुंगा राखिए पनि त्यो उपाय पहिरो रोक्न प्रभावकारी भएको छैन । विज्ञहरूका अनुसार सडकसँगै जोडिएका भीरमा सामान्य बायो इञ्जिनियरिङ र फेद पर्खाल निर्माण गरेर मात्र समस्या निराकरण हुँदैन ।

टिप्पणीहरू