गल्ती र गाउँगाउँका कुर्कुरे वैंश

बाँच्नुमात्रै पर्छ यी आँखाले जे पनि देखिन्छ भन्थे । मैले पनि देखँे । कसैलाई माया गर्न फुर्र्सद त के मायाको अर्थ थाहा छैन ! तर कसैलाई भने मायाका नाममा अनेक जात्रा देखाउनुपर्र्ने– कस्तो विचित्र संसार रहेछ यो ?

 धनी भएर के पो हुँदो रहेछ र मायामा गरिब भएपछि । शरीर एकातिर भए पनि मन अर्कैतिर भएपछि ! हो, उनीहरूको पनि शरीर एकातिर मन अर्कैतिर रह्यो । किशोरवयमा एकैचोटि दुई जनासँग माया लगाएर रोगी बने । उपचारका नाममा खाँदबारीदेखि सदरमुकाम तुम्लिङटारसम्म पु¥याइयो तर बिछोडको घाउले लागेको चोटको दबाई कुनै अस्पतालमा पनि नपाइँदो रहेछ ।

भोजपुरको चौकी डाँडामा बालीनाली उत्पादन नहुने भएकाले प्रदीपको परिवार कुलुङगाउँ स¥यो । कुलुङ गाउँमा बस्नेतको खेतबारी ब्याज मरौनीमा जग्गा हडपे । उब्जेको अन्नबाली सबै आफंै राख्ने गर्थे । यसको अलावा रुद्राक्षको व्यापार । आम्दानी राम्रै हुन्थ्यो । त्यसबापत बस्नेत साहुलाई पैसा दिन्थे । प्रदीपको परिवार धनी थियो । वर्षभरि खान पुग्ने । गाउँघरमा भोकमरी चल्दा उनीहरू सुखैले खान्थे र बस्थे । यसरी नै सामान्य जीवन बितिरहेको थियो । अचानक ०७१ पुसमा प्रदीपको हजुरबुबा परलोक भए । जसरी भए पनि उनीहरूले बस्दै आएको खेतबारी किन्नुप¥यो । जसोतसो दाजु कमलले पैसाको जोहो गरेर ८ लाखमा खेतबारी किने । र, हजुरबुबाको कामकाज सकाए ।

घरायसी व्यवहार सम्हाल्दै आएका बुबाको देहावसानपछि जिम्मेवारी सम्हाल्ने काम जेठो नाति कमलको काँधमा आयो । बुबा तिलक वर्षभरि जाँड–रक्सीमा डुबुल्की मारिरहने भएकाले पागलजस्तै देखिन्थे । राई परिवारमा जन्मिएका कमल पनि कुनै वेला बुबाभन्दा कम थिएनन् । रुद्राक्ष व्यापारबाट मनग्गे आम्दानी त हुन्थ्यो तर जाँड–रक्सी र जुवा–तासमा उडाउँथे । हजुरबुबाको निधनपछि होश जाग्यो । बेहोसीको जिन्दगीबाट होशमा आए, त्यसपछि  घरपरिवार सम्हाल्न थाले ।

कमल दाजुभाइमा माइलो छोरो भए पनि परिवारबाट कान्छोसरह माया–ममता पाइरहेका थिए । किशोरवस्थामा हिँड्दै गरेका उनी आठ कक्षादेखि उकालो जान सकेनन् । निष्फिक्री हिँडडुल गर्ने, जाँडरक्सी र चुरोट तान्ने काममा व्यस्त रहे । तर, गाउँघर अर्मपर्ममा भने खटेर लागिपर्ने बानी थियो । सोझो तर खाइलाग्दो जिउडाल । देख्नेले आठ होइन स्नातक गरेको भन्थे । जँड्याहा भए पनि इमानदार थिए । तर, सधँैभरि यस्तो रहन सकेन । आखिरमा प्यारमा परेपछि होशहवास अर्कै भयो । जँड्याहा उपमा पाएका उनी ‘प्यारे’ भनेर चिनिन थाले ।
प्रमिसा पनि कुलुङ गाउँमा धनी बाउकी एक्ली छोरी । भर्खर आठ पढ्दै गरेकी । तामाङ जातकी उनी राई प्रदीपको मायामा परिन् । प्रमिसाका दाजु मोहन र प्रदीप औधी मिल्ने साथी । उमेर, पढाइ र बानी सबै मिल्ने ।

प्रदीपको चिठी पु¥याउने जिम्मा बहिनी पार्वतीको । प्रमिसा र पार्वती मिल्ने साथी । यस्तो क्रम तीन वर्षसम्म चल्यो । कहिले घाँस काट्न त कहिले गोठालोमा नारिएर जान्थे । रात परेपछि डाँडातिर त कहिले कुलुङ गाउँको चौरतिर अँगालोमा बाँधिएका भेटिने । घण्टांैसम्म माया पिरतीको कुरा गर्ने । एक क्षण पनि छुट्टिन नसक्ने चखेवाको जोडीझैं । प्रमिसाको अध्ययन गर्ने थलो प्रदीपको घर । घरपरिवारले पनि उनीहरूको मायामा कर्के नजर लगाएको थिएन । अग्रज नै फितलो भएपछि उनीहरूको मनोबल बढ्ने नै भयो ।

जीवन रंगरौसले चलिरहेको थियो । कहिले प्रमिसा प्रदीपको आँगनमा त कहिले प्रदीप प्रमिसाको बारीमा काम गरिरहेका भेटिन्थे । दुवै पृथ्वी र आकाशजस्ता । एकैछिन प्रमिसा प्रदीपको साथ पाइएन भने पागल बन्थिन् । प्रदीपको पनि हालत उस्तै हुन्थ्यो । तर, समय सधँै कहाँ एकतमासको हँुदोरहेछ र ? आखिर, एकदिनको एक बोतल ठर्राले प्रदीपको जीवनमा उथुलपुथल जगाइदियो ।

त्यो दिन प्रदीपका लागि अनौठो रह्यो । अझै सम्झिँदा पनि होलान् । तर, के गर्ने । बगेको खोला फर्केर आउँदैन । यस्तै भयो । किन हो किन त्यो दिन प्रदीपलाई लोकल रक्सीको चुस्कीमा रम्न मन लाग्यो । नजिकैको भट्टीबाट बोतल लिएर आएका थिए । त्यो बोतल साँच्चिकै उसका लागि निर्दयी सावित हुन पुग्यो । रक्सी खाएको झोंकमा बुबासँग झगडा प¥यो । सबै गाउँले रमिते बनेर हेरिरहेका थिए । बुबा–छोराबीच लाठीसमेत प्रहार हुन पुग्यो ।

छोरालाई तह लगाउन नसकेका बुबा, प्रहरी चौकीमा उजुरी हाल्न पुगे । चार जना बर्दिधारी प्रहरीले प्रदीपलाई दुवै पाखुरामा समातेर थानातिर लगे । भोलिपल्ट बुबाछोराको समझदारीमा प्रहरीले चौकीबाट मुक्त गरायो । त्यसपछि प्रदीपको मनमा कसरी हो कुन्नि सकारात्मक चेतना जगायो । प्यारी प्रमिसासँग माफी पनि मागे । प्रमिसाले आँखा तरेर भए पनि उनको आग्रह स्विकारिन् ।

प्रदीप गाउँघरमा साथीहरू भए पनि एक्लोजस्तो बनेका थिए । न पढ्न सके न त केही गरे । आखिरी भारत गएर पैसा कमाउने निर्णयमा पुगे । प्रमिसा र घरपरिवारबाट टाढिएर पैसा कमाउन मुम्बईतिर हानिए । यता, प्रमिसा पनि एक दिन दुई दिन गर्दै महिना दिनसम्म कुरी बसिन् । तर, वर्षदिनसम्म प्रदीप नफर्किएपछि मन बद्लिन थाल्यो । वर्षांैसम्मको साँचो प्रेमलाई कैद गर्न सकिनन् । बद्लिइन् । प्रदीप मुम्बई शहरमा काममा व्यस्त हुँदा प्रमिसा तल्लो जातको भनिने (दमार्इं) जैरे माइलासँग मोजमस्ती गर्न थालिन् ।

किशोरी अवस्थामा हिँड्दै गरेकी उनले मनलाई थाम्न सकिनन् । सौगातको प्यारमा परिन् । उनीहरूको यस्तै माया–प्रेम चल्दै गर्दा मुम्बईबाट प्रदीपको आगमन भयो । घरपरिवारलाई प्रमिसाबारे सबै कुरा जानकारी थियो । तर, भन्न केही सकेका थिएनन् । दुवै परिवारको दूरी टाढिन पुग्यो । प्रमिसा र जैरेबारे प्रदीपले सबै कुरा थाहा पाए । उनको रवाफ पहिलेको जस्तै बन्न थाल्यो । अन्त्यमा नराम्ररी बिरामी बन्न पुगे, प्रमिसाको धोकाले । मायाको तीरले मुटुमा चोट पाएका प्रदीपलाई उपचारका लागि धामीझाँक्रीदेखि जिल्ला अस्पतालसम्म पु¥याइयो तर रोग पत्ता लागेन । परिवारले आश मारिसकेका थिए । परिवारले अस्पतालबाट घरमै ल्याएर राख्न थाल्यो । विस्तारै प्रदीपको रोग निको हुँदै गयो । र, पहिलेको अवस्थामा फर्किए । साथीभाइसँग हाँसखेल गर्न थाले ।

अब, फसाद प¥यो फेरि । प्रमिसा दिनदिनै बिरामी पर्न थालिन् । कारण, प्रदीप अर्कैसँग प्यारमा परे । प्रदीपकी साथी मनिता । उनकै सम्पर्कबाट कुलुङ गाउँकी शर्मिलासँग हिमचिम बढ्न मात्र थालेन, दुवै एकअर्काविना बाँच्न नसक्ने अवस्थामा पुगे । अहिले घरपरिवारले विवाह गर्ने सुरसार बनाएको छ । यता, प्रमिसाले यी सबै कुरा थाहा पाएपछि सहन नसकी प्रदीपजस्तै रोगको शिकार बनेकी छन् । जैरेसँगको प्यार पनि खहरे खोलाजस्तो सुक्यो । अहिले, जैरे कहाँ छ, थाहा छैन । विदेश छन्, भन्ने यदाकदा सुनेको छु । तनको व्यथा त अस्पताल र औषधिले निको पार्ला तर मनको व्यथा डाक्टरले कसरी निको पार्न सक्थ्यो र ? डाँडापारिको घाम भइसकेका प्रदीपले भने मनितालाई घर भिœयाउने तरखर गरिरहेका छन् ।

– नवीन राई, भोजपुर, हाल :  कलंकी

टिप्पणीहरू