बुटवल पुर्याउने भन्दै बाटोमा ४ दिनसम्म बलात्कार

बुटवल पुर्याउने भन्दै बाटोमा ४ दिनसम्म बलात्कार

रुकुम घर भएकी १९ वर्षीया महिलालाई बुटवल पुर्याइदिने भन्दै ट्रक चालक र सहचालकहरूले पटक पटक जबरजस्ती करणी गरेका छन् ।

असार २७ गते बुटवल जान हिँडेकी महिलालाई कलंकीमा बिहान ना५ख २८७० नम्बरको ट्रकका चालक वीरगञ्ज महानगरपालिका–२१, बस्ने ३० वर्षीय सुनिल महतोले नारायणगढ नपुग्दै रामनगरमा गाडीभित्रै बलात्कार गरेका थिए । त्यहाँ उनले दुई दिनसम्म पटक पटक महिलामाथि बलात्कार गरे ।

त्यसपछि रामनगरमा उनले असार २९ गते दिउँसो बुटवल जाने ट्रक भन्दै ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढाइदिए । उक्त ट्रकका चालक शिवबालक महतोले पनि महिलालाई बुटवल नलगी वीरगञ्जतर्फ लगेका थिए । त्यसबीच महतो,उनका सहचालक र अर्का एक जनाले महिलालाई पालैपालो र पटक पटक बलात्कार गरेका थिए ।

भोलिपल्ट उनीहरूले वीरगञ्जको सुख्खा बन्दरगाह क्षेत्रमा पुर्याएर महिलालाई अलपत्र छाडिदिए । पीडित महिलालाई प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गर्ने क्रममा उक्त कर्तुत खुलेको हो । सोही आधारमा चालकद्वय सुनिल र शिवबालकलाई गाडीसहित पक्राउ गरिएको छ भने बाँकी दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विरूद्ध जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ । महिलाको साथमा २ वर्षको काखे बालकसमेत रहेको बताइन्छ ।

टिप्पणीहरू