भेटघाटमा बिप्लवलाई भ्याइनभ्याइ

भेटघाटमा बिप्लवलाई भ्याइनभ्याइ

झण्डै दुई वर्षे राजनीतिक प्रतिबन्ध झेलेर केही महिना पहिले सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव त्यसयता पनि गुमनामजस्तै थिए । सरकारसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा राष्ट्रिय सभागृहमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको भेटबाहेक उनको अन्य राजनीतिक भेटघाट सार्वजनिक भएको थिएन ।

अस्ति बुधवार अकस्मात विप्लव, धर्मेन्द्र बाँस्तोलासहितको टोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेपछि धेरैलाई चासोको विषय बन्यो । १० वर्षे जनयुध्दमा प्रचण्डको खास सहयोगी भएर काम गरेका विप्लव माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि भने प्रचण्डसँग टाढिएका थिए । उनीहरुबीच झन्डै एक दशकदेखि भेटसमेत भएको थिएन । त्यसैले बुधवारको भेटलाई माओवादी घटकहरुबीचको एकताको प्रसंगसँग पनि जोडेर हेरिएको छ ।भोलिपल्ट लगत्तै विप्लवको टोली एमाले वरिष्ठ नेता माधवकुुमार नेपालको निवास कोटेश्वरमा झुल्कियो । नेपाल निवासमा भएको भेटमा प्रचण्डसमेतको सहभागिता देखेपछि भेटघाटलाई माधव–प्रचण्डले भन्दै आएको बृहत कम्युनिष्ट एकताको अभियानको तयारीका रुपमा पनि अर्थ लगाइयो ।

विप्लव र धर्मेन्द्रले आज बिहान जनता समाजवादी पार्टीका नेता तथा जनयुद्धका सहकर्मी ड़ा बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन् । नेताहरुसँगको लगातारको भेटलाई विप्लव निकट स्रोतले अघिल्लो सरकारसँग गरेको सम्झौता पालना गराउन अनुरोध गर्ने उद्देश्य मात्र भएको प्रष्ट पारेको छ ।

भेटघाटमा समसामयिक राजनीति र बृहत कम्युनिष्ट एकताका विषयमा छलफल भए पनि त्यसबारे अहिले नै सहमति हुने सम्भावना नरहेको स्रोतको भनाई छ । यद्यपि विचार, राजनीति र मुद्दाका आधारमा कार्यगत एकता गर्दै ध्रुवीकरणसम्म जान सकिने विप्लव समूहको बुझाई रहेको छ ।

टिप्पणीहरू